सरकारी अस्पतालमा व्यक्तिगत क्युआरको प्रयोग

काठमाडौं । चितवनको माडीस्थित सरकारी बघौडा अस्पतालको आर्थिक कारोबारमा संस्थागत खाताको सट्टा व्यक्तिगत बैङ्क खाता तथा क्युआर कोड प्रयोग भएको पाइएपछि अस्पतालको आर्थिक पारदर्शिता र व्यवस्थापकीय जबाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ ।

तिहारको राति भतिजको निधारमा चोट लागेपछि उपचारका लागि अस्पताल पुगेका गीतकार तथा सामाजिक अभियन्ता शङ्कर पाण्डे मुक्तिले आकस्मिक कक्षको टिकट काट्दा र फार्मेसीबाट टाँका लगाउने सामग्री खरिद गर्दा फरक–फरक व्यक्तिका नाममा रहेका व्यक्तिगत क्युआर कोडमार्फत भुक्तानी गर्नुपरेको खुलासा गरेका हुन् ।

सेवाग्राही पाण्डेका अनुसार अस्पतालको आधिकारिक खाता माग्दा सम्बन्धित कर्मचारीले व्यक्तिगत खातामा रकम पठाएपछि बिल काटेर पछि अस्पतालमा दाखिला गर्ने जवाफ दिएका थिए ।

आफूसँग उक्त भुक्तानीका स्क्रिन सट र बिललगायतका सम्पूर्ण प्रमाण सुरक्षित रहेको बताउँदै पाण्डेले सरकारी अस्पतालको आम्दानी व्यक्तिगत खातामा सङ्कलन गर्नुको कानुनी आधार र त्यसको पारदर्शी हिसाबकिताब तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

यस्तो अभ्यासले आर्थिक अनियमितताको शङ्का बढाउनुका साथै सम्बन्धित कर्मचारी स्वयंलाई समेत कानुनी जोखिममा पार्ने उनको भनाइ छ । आर्थिक पारदर्शितासँगै पाण्डेले अस्पताल व्यवस्थापन समिति, प्रशासन र स्थानीय सरकारसमक्ष सेवा सुधारका ६ बुँदे मागसमेत अघि सारेका छन् ।

उनले तत्काल संस्थागत बैङ्क खाता र आधिकारिक क्युआर प्रणाली लागू गर्न, हालसम्म व्यक्तिगत खातामा सङ्कलित रकमको विवरण सार्वजनिक गर्न, स्वास्थ्यकर्मीका लागि अनिवार्य पोसाक तथा परिचयपत्रको व्यवस्था गर्न, आकस्मिक कक्षमा पर्याप्त जनशक्ति खटाउन र फार्मेसीमा अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्न आग्रह गरेका छन् ।

चाडपर्वको समयमा समेत तत्परताका साथ उपचारमा खटिने स्वास्थ्यकर्मीको सेवा भावको प्रशंसा गर्दै पाण्डेले आफ्नो आवाज कसैको व्यक्तिगत विरोध नभई संस्थागत सुशासन र सुधारका लागि भएको स्पष्ट पारे ।

सेवाग्राहीले उठाएको प्रश्न र सार्वजनिक गुनासोबारे प्रतिक्रिया दिँदै बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।राजकुमार पन्तले व्यक्तिगत खातामा रकम जम्मा भएको विषय स्वीकार गरे ।

उनले बेलुकीको समयमा बिरामी उपचारका लागि आउने भएकाले र अस्पतालसँग आफ्नै आधिकारिक क्युआर कोड नरहेको कारण त्यसरी व्यक्तिगत खाता प्रयोग गर्नुपरेको स्पष्टीकरण दिए ।

साथै,व्यक्तिगत खातामा सङ्कलन भएको रकम १५/१५ दिनको अन्तरालमा अस्पतालको आधिकारिक खातामा जम्मा गर्ने गरिएको र क्युआर कोड मागेर भुक्तानी गर्ने बिरामीको सङ्ख्या पनि थोरै मात्र हुने गरेको मेडिकल सुपरिटेन्डेन्ट पन्तको भनाइ छ । (रातोपाटीबाट)

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.