अमेरिकाको राज्यस्तरीय विधायक (स्टेट लेजिस्लेचर) निर्वाचनमा नेपाली मूलका तीन जना निर्वाचित भएका छन् ।
निर्वाचित हुनेमा डा।ह्यारी भण्डारी, सराहना श्रेष्ठ र विश्वबहादुर शाह छन् । उनीहरु तीनैजना डेमोक्रेटिक पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए ।
डा. ह्यारी भण्डारी मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ८ बाट निर्वाचित भएका हुन् । डा. भण्डारीले तेस्रो पटक मेरिल्यान्ड हाउस अफ डेलिगेट्स (राज्यसभा सदस्य) मा जित हासिल गरेका हुन् । उनले कुल मतको २२।३४ प्रतिशत मत प्राप्त गरे ।
पहिलो पटक २०१८ मा उनी मेरिल्यान्डको हाउस अफ डेलिगेट्समा निर्वाचित भएका थिए । उनका अनुसार अमेरिकाभरि कानुन निर्माता अर्थात् सांसदका रुपमा निर्वाचित हुने उनी पहिलो नेपाली मूलका हुन् ।
त्यतिबेला १२ वर्षदेखि रिपब्लिकन पार्टीले जित्दै आएको सिट डेमोक्रेटिक पार्टीका तर्फबाट उनले जितेका थिए ।
त्यसैगरी, सराहना श्रेष्ठले पनि न्युयोर्कको डिस्ट्रिक्ट १०३ बाट तेस्रो पटक जित हासिल गरेकी हुन् । उनले कुल मतको करिब ६९ प्रतिशत मत प्राप्त गरेर जित हासिल गरेकी हुन् ।
उनी पहिलो पटक सन् २०२२ मा न्युयोर्कको राज्यसभा सदस्य निर्वाचित भएकी थिइन् । २०२४ मा दोस्रो जित हासिल गरेकी थिइन् । श्रेष्ठ अमेरिकाको राज्य विधायिकामा निर्वाचित हुने नेपाली मूलकी पहिलो महिला हुन् ।
विश्वबहादुर शाह अमेरिकाको हिल्सबरो काउन्टीको डिस्ट्रिक्ट ४१ बाट चुनावी मैदानमा उत्रिएका उनले कुल मतको २०.३६ प्रतिशत प्राप्त गरेका हुन् । (साभारः सेतोपाटी डटकम)







