भीमफेदी दुर्घटनाका पीडितलाई पाँच लाख क्षतिपूर्ति दिन माग

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले हेटौंडाको भीमफेदीमा भएको सवारी दुर्घटनाका पीडित परिवारलाई दिइने क्षतिपूर्ति रकम बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउन माग गरेका छन् ।

शुक्रबार मधेश प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । तर, उक्त रकम अपुग हुने भन्दै सर्लाही क्षेत्र नम्बर ३ ९ख० बाट निर्वाचित सांसद यादवले प्रदेशसभाको शून्य समयमा बोल्दै राहत रकम बढाउन माग गरेका हुन् ।

गत कात्तिक २६ गते काठमाडौं‌बाट सर्लाहीको चक्रघट्टा नगरपालिका–सुन्दरपुर छठ मनाउन आउने क्रममा हेटौंडाको भीमफेदी गाउँपालिका–६ चिसापानीमा विद्युतीय हाइस दुर्घटना भएको थियो ।

दुर्घटनामा २० जना घाइते भएका थिए भने १४ जनाको मृत्यु भएको थियो । घाइतेमध्ये तीन जनाको अवस्था अझै गम्भीर रहेको छ ।

दुर्घटनाका कारण तीन बालबालिकाले अभिभावक गुमाएको उल्लेख गर्दै सांसद यादवले उनीहरूको सम्पूर्ण अभिभावकीय जिम्मेवारी राज्यले लिनुपर्ने मागसमेत गरेका छन् ।

उनले नेपाल सरकारबाट १० लाख रुपैयाँ र मधेश प्रदेश सरकारबाट थप चार लाख रुपैयाँ गरी पीडित परिवारलाई जनही पाँच लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन् ।

साथै, सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिमाथि कडाइ गर्न र नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.