हेटौंडा । मकवानपुरमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले मकवानपुरको हेटौँडाबाट पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
शनिबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलमा गरिएको सवारी जाँचका क्रममा मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्ती निवासी २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङलाई पेस्तोलसहित पक्रा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
पक्राउ गर्ने क्रममा उनीहरु भाग्न खोजेपछि सशस्त्र प्रहरीको टोलीले एक राउन्ड हवाई फायर समेत गरेको थियो ।
सो क्रममा प्रहरीले ७।६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक थान म्यागजिन र एक राउन्ड गोली बरामद गरेको छ ।
नियन्त्रणमा लिइएका दुवै व्यक्ति, अटो तथा बरामद हतियार र गोली आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने क्रममा रहेको सहप्रवक्ता थापाले जानकारी दिए ।







