भीमफेदी जिप दुर्घटनामा तीन जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले तीन जनाको मृत्यु भएको बताएको छ । हेटौंडा अस्पतालका चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा, चन्द्रनिगाहपुर नगरपालिका(४ की २२ वर्षीया जेशिका भनिने अस्मिता तिमल्सिना र सोही ठाउँकी २५ वर्षीया अनुसा लामा रहेका छन् ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । अस्पतालमा उपचाररत उनीहरुको अवस्था मध्यम रहेको डीएसपी काफ्लेले बताए ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो आज बिहान साढे ८ बजेको समयमा त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी काफ्लेले बताए ।

यसअघि २६ कात्तिकमा भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.