बागमतीमा विकास र सेवा प्रवाहलाई तीव्रता दिइने

हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३र०८४ मा प्रदेशको विकास निर्माण तथा सेवा प्रवाहका कामलाई तीव्रता दिने भएको छ ।

बागमती प्रदेश सरकारका सचिवहरुको बैठकले चालु आवको बाँकी रहेको समयलाई उपलब्धि हासिल गर्ने गरी सदुपयोग गर्दै वार्षिक विकास तथा सेवा प्रवाहको क्यालेन्डर तयार गरी बाँकी समयको अधिकतम सदुपयोग हुने गरी विकास निर्माण तथा सेवा प्रवाहका कामलाई तीव्रता दिने निर्णय गरेको हो ।

बैठकले प्रदेश सरकारको नीति, बजेट र वार्षिक कार्ययोजना मूल कार्यदिशा भएको भन्दै प्रदेश सरकारका सबै मन्त्रालय तथा निकायले स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेटको प्राथमिकताअनुसार कार्यसम्पादनलाई परिणाममुखी र समयबद्ध बनाउने निर्णय गरेको छ ।

प्रदेश सरकारमा प्रमुख सचिव कमल प्रसाद भट्टराईको अध्यक्षतामा बसेको प्रदेश सरकारमा सचिवहरूको बैठकले विपद् व्यवस्थापनमा पूर्वतयारीलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले सम्भावित विपद्का जोखिमलाई दृष्टिगत गरी उद्धार, राहत, जनशक्ति, स्रोतसाधन, सञ्चार तथा अन्तरनिकाय समन्वयको पूर्वतयारी तत्काल सुनिश्चित गर्ने भएको छ ।

बैठकले चाडपर्वमा नागरिकलाई सहज र सुरक्षित सेवा दिने, दशैं, तिहार, छठ लगायतका प्रमुख पर्वहरूलाई ध्यानमा राखी सार्वजनिक सेवा, यातायात, सुरक्षा, बजार अनुगमन, स्वास्थ्य, सरसफाइ तथा विपद् व्यवस्थापनमा विशेष संवेदनशीलता अपनाउने निर्णय गरेको छ ।

‘सरकारले परिणाम दिइरहेको छ’ भन्ने अनुभूति दिलाउने भन्दै प्रदेशका हरेक मन्त्रालयले आफ्ना प्रमुख प्राथमिकताका काममा स्पष्ट लक्ष्य, जिम्मेवारी र समयसीमा निर्धारण गरी परिणाम देखिने गरी कार्य गर्ने निर्णयमा उल्लेख छ ।

सरसफाइ सप्ताहलाई अभियानकै रूपमा सफल बनाउने गरी प्रदेश सरकारले कार्यसम्पादन गर्ने भएको छ । हाल सञ्चालन भइरहेको सरसफाइ सप्ताहलाई औपचारिक कार्यक्रम रुपमा मात्र सीमित नराखी मन्त्रालय, कार्यालय, सार्वजनिक स्थल तथा समुदायमा स्वच्छता, वातावरण संरक्षण र स्वस्थ जीवनशैलीसम्बन्धी प्रभावकारी अभियान सञ्चालन गर्ने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

यस्तै, प्रगति प्रतिवेदन समयमै अनिवार्य रूपमा पठाउने व्यवस्था मिलाइने भएको छ । प्रदेशको सबै मन्त्रालय तथा सम्बन्धित निकायले मासिक रूपमा हुँदै आएको सचिव बैठकको निर्णय कार्यान्वयनको प्रगति प्रतिवेदन आगामी तीन दिनभित्र पठाउने व्यवस्था सुनिश्चित गर्ने र प्रतिवेदन तथ्यमा आधारित, स्पष्ट र उपलब्धि तथा चुनौती दुवै प्रतिबिम्बित हुने हुनुपर्ने निर्णयमा भनिएको छ ।

प्रदेशस्तरबाट भएका तीनवटा अत्यन्त महत्वपूर्ण–दृश्यात्मक वा उपलब्धिका उत्कृष्ट तस्बिरहरू आवश्यक संक्षिप्त विवरणसहित नेपाल सरकारमा पठाउने व्यवस्था मिलाउने भन्दै यसबाट प्रदेशका महत्वपूर्ण काम र उपलब्धिको राष्ट्रियस्तरमा उचित प्रचार–प्रसार र अभिलेखीकरण हुने जनाइएको छ ।

प्रदेश सरकारले कर्मचारी व्यवस्थापन प्रक्रियालाई औपचारिक अभ्यासमा सीमित नगरी कर्मचारीको मनोबल, स्वामित्व, उत्तरदायित्व, नवप्रवर्तन र कार्यसम्पादन सुधारसँग जोड्ने भएको छ ।

साथै अनावश्यक प्रक्रियागत ढिलाइ घटाउँदै समयमै निर्णय गर्ने र प्रत्येक निर्णयले नागरिक तथा विकासमा के परिणाम दियो भन्ने विषयलाई कार्यसम्पादनको प्रमुख आधार बनाउने बैठकले निर्णय गरेको छ ।

अन्तर–मन्त्रालय तथा तहगत समन्वयलाई प्रभावकारी बनाइने भएको छ । प्रदेशका साझा प्रकृतिका आयोजना, विपद् व्यवस्थापन, चाडपर्व व्यवस्थापन, सरसफाइ तथा सेवा प्रवाहका विषयमा मन्त्रालयहरूबिच र संघ तथा स्थानीय तहसँग निरन्तर समन्वय कायम गर्ने प्रदेशका सचिवहरूको बैठकले निर्णय गरेको छ । (गोरखापत्रबाट)

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.