किसानहरुले महादेवको पूजा गरेर मागे पानी

काभ्रे । लामो समयदेखि वर्षा नभएर बालीनाली सुक्न थालेपछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० र ८ का किसानहरुले महादेवको पूजा गरेर पानी मागेका छन् ।

मण्डनदेउपुर नगरपालिका–१० का किसानले मण्डन क्षेत्रकै सबैभन्दा अग्लो थानडाँडा (थामीडाँडा) स्थित महादेव मन्दिरमा विशेष पूजा गर्दै वर्षाको कामना गरेका छन् भने मण्डनदेउपुर नगरपालिका–८ का किसानले नरसिंगेश्वोर महादेव मन्दिरमा महारुद्री लगाएर महादेवसँग पानी मागेका हुन ।

विगतमा वर्षा नहुँदा यस क्षेत्रमा यस्तो परम्परा प्रचलनमा रहे पनि पछिल्ला केही वर्षदेखि यो चलन कम देखिएको थियो । यसपटक भने जोगिटार र धाईटारका सयौँ किसानले पानी मागेका थिए ।

कृषि उत्पादन घट्ने चिन्ताका बीच किसानहरुले ‘हर हर महादेव, पानी देऊ’ भन्दै महादेवको पूजा–आराधना गरी वर्षाको कामना गरेका हुन् । स्थानीयका अनुसार यसरी पूजा गरी पानी मागेपछि वर्षा हुने जनविश्वास रहिआएको छ ।

पत्रकार ज्ञानमणि नेपालका अनुसार जेठको अन्तिम साता परेको वर्षापछि असारको मध्यसम्म पानी नपर्दा धान रोपाइँ सुरु हुन सकेको छैन । मकैलगायत तरकारी बालीसमेत सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

मण्डन देउपुर नगरपालिका वडा नम्बर ८ धाईटारका पनि स्थानीयले महारुद्री लगाएर महादेवसँग पानीको माग गरेका छन् । आफूहरु जम्मा भएर महारुद्रीसगै ‘हर हर महादेव पानी देऊ’ भनेर पानी मागीएको स्थानीय हरिराम पौडेलले जानकारी दिए ।

मण्डनदेउपुरका अधिकांश क्षेत्र, पाँचखाल, कुन्ताबेँसी तथा सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावतीलगायतका स्थानमा अत्यधिक गर्मी र खडेरीले जनजीवन तथा कृषि उत्पादन दुवै प्रभावित भएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.