हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
मंगलबारको प्रदेशसभा बैठकमा उपसभामुख अप्सरा चापागाईले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषण गरिन् । बैठकमा रत्न ढकाल, युवराज चौलागाई, सुष्मा भुजेल न्यौपाने र लक्ष्मी घिमिरेले राखेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
त्यसअघि बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ दिए । मुख्यमन्त्री बानियाँले छलफलको क्रममा भएका टिप्पणीहरुलाई प्रदेश सरकारले सकारात्मक रुपमा ग्रहण गर्ने बताए ।
उनले उद्योग, पर्यटन, कृषि, खेलकुद, पूर्वाधार संग सम्बन्धित नीतिलाई प्राथमिकता दिएको उल्लेख गरेका छन् । सिद्धान्त र प्राथमिकताको आधारमा नीति तथा कार्यक्रम आएको दाबी गर्दै मुख्यमन्त्री बानियाँले सोही आधारमा बजेट पनि आउने आश्वासन दिए । नीति तथा कार्यक्रममा छुटेका कार्यक्रमहरुलाई बजेट मार्फत सम्बोधन गरिने उनले उल्लेख गरेका छन् ।
प्रतिपक्षीहरुको विश्वासमाथि कुनै घात नहुने गरी संसद्मा साझा बजेट ल्याउने समेत मुख्यमन्त्री बानियाँले उद्घोष गरे । उनले प्रतिपक्षीहरुको संशोधनलाई बजेटमा समावेश गर्ने आश्वासन दिएका छन् । मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम खरभुजा जस्तो नभई गाँजर जस्तो हुने बताए । विगतमा जस्तो सांसद्हरुलाई बजेटमा विभेद नगर्ने बताउँदै उनले बजेट वितरणमा समानता ल्याउने उल्लेख गरे । मुख्यमन्त्री बानियाँले नीति तथा कार्यक्रमलाई गरि खाने बनाइने बताएका छन् ।
प्रदेश सरकारले जेठ १२ गते सुशासन, उत्पादन, रोजगारी, सामाजिक न्याय र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ८३ बुँदामा आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनेछ ।







