काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मस्यौदा समितिले गोप्य छलफलबाटै प्रतिनिधि सभा नियमावली टुंग्याउन लागेको हो ।
नियमावली मस्यौदा समितिको बैठकमा सुरुमा पत्रकारहरूलाई फोटो र भिडियो लिन दिइन्छ । त्यसपछि पत्रकारलाई बाहिर राखेर मस्यौदा समितिले काम गर्दै आएको छ ।
गोप्य छलफलबाटै समितिले अधिकांश विषय टुंगो लगाएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाभियोग लगायतका केही काम बाँकी रहेपनि अन्य सबै विषय टुंगोमा पुगेको जनाइएको छ ।
मस्यौदा समितिलाई दिएको १४ दिने समयसीमा मंगलवार सकिँदैछ । अधिकांश विषयमा सहमति जुटिसकेकोले सोमबारको बैठकमा सबै विषय टुंगोमा पुर्याएर मस्यौदालाई अन्तिम रुप दिने तयारी छ ।
महाभियोग लगायत केही संवेदनशील विषय अझै बाँकी छन् । ती विषयमा राजनीतिक दलहरूसँग थप परामर्श गरी दलगत धारणा समेट्ने प्रयास भइरहेको छ । सोमबार बिहान ११ बजे बस्ने बैठकले बाँकी विषयहरू अन्तिम रूप दिने समितिले जनाएको छ ।
नियमावलीमा संसदीय इतिहासको गरिमा र अभ्यासलाई ध्यानमा राख्दै २०१६ साल यताका अनुभवलाई समेट्ने र बदलिँदो व्यवस्थाअनुसार नयाँ प्रावधान समावेश गर्ने गरी काम भइरहेको जनाइएको छ ।
नियमावलीले आगामी पाँच वर्ष प्रतिनिधिसभा सञ्चालन, कानुन निर्माण प्रक्रिया प्रभावकारी बनाउने, सांसदहरूको भुमिका सुदृढ गर्ने तथा कार्यपालिकालाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिनेछ ।
साथै व्यवस्थापिकाको गरिमा कायम राख्ने मूल उद्देश्यका साथ मस्यौदा तयार पारिएको छ । समितिले आईतवार सभामुख तथा पूर्वमहासचिवहरूलाई समेत आमन्त्रण गरी सुझाव लिएको छ ।
समितिले सभामुख डोल प्रसाद अर्याललाई समितिले गरेको काम कारबाहीको बारेमा जानकारी गराएको छ । समितिले नियमावली निर्माणका क्रममा सरोकारवालासँग औपचारिक तथा अनौपचारिक छलफल गरेको छ ।
नियमावलीको मस्यौदा प्रचलित कानुन, अदातलका फैसला, यसअघि प्रतिनिधिसभाले निर्माण गरेको कानुनभन्दा बाहिर नजानेगरि तयार पारिएको जनाइएको छ ।







