नेपालकै अद्वितीय सम्पदा मकवानपुरगढी

मकवापुरगढी दरबार क्षेत्र । (तस्बिरः मकवानपुरगढी गाउँपालिकाको कार्यालय ।)

शिव चौलागाईं (मकवानपुर)

मकवानपुरगढी । ‘गढी, किल्ला, कोट, दुर्ग वा गौँडा’, यी शब्दहरु सुन्नेबित्तिकै हाम्रो मानसपटलमा तरबारको झन्कार र वीरहरुको शौर्यको चित्र कोरिन्छ । नेपालको इतिहास कोट्याउँदा किराँतकाल अघिदेखि नै पहाडका अगम्य टुप्पाहरुमा यस्ता अजेय किल्लाहरु निर्माण भएको पाइन्छ ।

वि.सं. १८०१ अघि ५० भन्दा बढी स–साना राज्यमा विभाजित नेपालमा यी गढीहरु शासकका सुरक्षित वासस्थान र सैन्य अखडा दुवै थिए । प्राचीन अयोध्यापुरीदेखि मल्लकालीन कान्तिपुर र सिम्रौनगढसम्मले अग्ला पर्खालभित्र आफ्नो सुरक्षा खोजेका थिए । तर, जब नेपाल एकीकरणको शंखघोष भयो र विदेशी शक्तिहरुसँग पौँठेजोरी खेल्नुपर्ने अवस्था आयो, तब यी किल्लाहरु युद्धको मुख्य मोर्चा बने । प्राकृतिक रुपमै सुरक्षित, वेगवान् नदी र भिरपहराले घेरिएका यी गढीहरुलाई एकीकरणपछि झनै विशाल र मजबुत बनाइयो ।

यिनै सयौँ गढी–किल्लाहरुको भिडमा, दक्षिणी सिमानाबाट आउने दुश्मनविरुद्ध ढाल बनेर उभिएको नेपालकै सबैभन्दा विशाल, रणनैतिक र ऐतिहासिक महत्व बोकेको गढीको ‘मकवानपुरगढी’ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ को डाँडाको थुम्कोमा अवस्थित छ, यो सेनकालिन गढी दरबार ।

मकवानपुरगढी दरबारको ऐतिहासिक पृष्ठभूमि

मकवानपुरगढी नेपालको मध्यकालीन इतिहासको एक ज्वलन्त साक्षी हो । पाल्पाली राजा मुकुन्द सेनले आफ्नो विशाल राज्यलाई छोराहरुमा अंशबन्डा गर्दा कान्छा छोरा लोहाङ सेनको भागमा मकवानपुर पर्न गयो । ई.सं. १५५३ (वि.सं. १६१०) तिर लोहाङ सेनले मकवानपुरगढीमा किल्ला र राजदरबार निर्माण गरी यसलाई आफ्नो राजधानी बनाए ।

त्यसपछि राघव सेन, हरिहर सेन, शुभ सेन, माणिक सेन, हेमकर्ण सेन हुँदै दिग्बन्धन सेनको पालासम्म यो गढी सेनवंशीय राजाहरुको शक्ति केन्द्रका रुपमा रह्यो । माणिक सेनको पालामा गढीको पुनर्निर्माण हुनुका साथै यहाँ वास्तुकला र मूर्तिकलाको विकास भयो । गढीभित्र वंशगोपाल (कृष्ण) को मन्दिर र सिद्धेश्वर महादेवको मन्दिर स्थापना गरियो, जुन आज पनि गढीको शोभा बढाएर उभिएका छन् ।

मकवानपुरगढीको इतिहास नेपाल निर्माता पृथ्वीनारायण शाहसँग पनि प्रत्यक्ष जोडिएको छ । वि.सं. १७९४ मा गोर्खाका युवराज पृथ्वीनारायण शाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग यही दरबारमा भएको थियो ।

इतिहास खोजकर्ता केदार प्रसाद न्यौपानेद्वारा लिखित पुस्तक ’ऐतिहासिक मकवानपुरगढी चिनारी’का अनुसार दुलही सानै भएको भन्दै राजा हेमकर्ण सेनले ‘गौना’ गरेर तेस्रो वर्षमा मात्र छोरी पठाउने अड्डी कसेपछि विवादको बिउ रोपिएको थियो । पछि पृथ्वीनारायण शाह दुलही लिन आउँदा गोर्खालीहरुको सामान्य पहिरन (खाडीको कपडा र काँचो छालाको जुत्ता) देखेर जेठान दिग्बन्धन सेन र मन्त्री कनकसिंह बानियाँले अपमान गरे ।

जसले गर्दा दुई पक्षबीच विवाद भयो । त्यसमाथि, दुलही अन्माउने बेला इन्द्रकुमारीले लगाएको ‘गजमोती (नौलाखी) हार’ र उनी चढेको ‘एकदन्ते सेतो हात्ती’ दिन जेठान दिग्बन्धन सेनले अस्वीकार गरेको न्यौपानेले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

ससुरा हेमकर्णले ती सामान गौनाकै दिन पठाउने भनेर थामथुम पार्न खोजे पनि अपमानित महसुस गरेका पृथ्वीनारायण शाह ‘हात्ती र हार दिए डोला लैजान्छु, नदिए तरबारको भरमा लैजान्छु’ भन्दै ससुरालीसँग बिदासमेत नभई रित्तै गोर्खा फर्किए ।

यसै घटनाले गोर्खा र मकवानपुरबीच गहिरो दुस्मनी बढायो र कालान्तरमा गोर्खाली फौजले मकवानपुरमाथि आक्रमण गर्ने आधार खडा ग-यो । वि.सं. १८१९ भदौ ९ गते केहरसिंह बस्न्यात, वंशराज पाण्डे लगायतका गोर्खाली सेनापतिको नेतृत्वमा गएको फौजले मकवानपुरगढीमाथि विजय प्राप्त गरेको देशभरका गढीहरुको अनुसन्धानकर्तासमेत रहेका लेखक न्यौपानेले बताए । गढी गुमाएपछि राजा दिग्बन्धन सेन र मन्त्री कनकसिंह बानियाँ भागेर हरिहरपुरगढी पुगे र पछि बङ्गालका नबाब मीर कासिमसँग सैन्य सहयोग मागे ।

विदेशी फौजमाथिको जित र पहिलो सैन्य संगठनको सुरुवात

नेपालको इतिहासमै विदेशी सेनालाई नेपाली भूमिमा पराजित गरेको पहिलो र सबैभन्दा गौरवपूर्ण घटना मकवानपुरगढीसँग जोडिएको छ । दिग्बन्धन सेनको आग्रहमा मीर कासिमले आफ्ना सेनापति गुर्गीन खाँको नेतृत्वमा करिब २,५०० देखि ३,००० सम्मको अत्याधुनिक हतियारधारी फौज मकवानपुर पठाए ।

वि.सं. १८१९ पुस २७ गते हर्नामाडीमा आक्रमण गर्दै अघि बढेको बङ्गाली फौजलाई माघ १० गते गोर्खाली फौजले मकवानपुरगढीको मुनि गैरीभञ्याङ भन्ने स्थानमा ढुङ्गा, मुढा, अरिङ्गाल र बारुलाको गोलो प्रहार गर्दै भीषण आक्रमण ग-यो । यस लडाइँमा मीर कासिमका १७ सय सेना मारिए भने गोर्खालीतर्फ करिब ३० जनाले वीरगति प्राप्त गरे । यस युद्धबाट गोर्खाली सेनाले ५०० थान बन्दुक र २ वटा तोप (जसलाई पछि ‘दुश्मन मारा’ तोप भनियो) हात पा-यो ।

यही विजयपछि गोर्खाली सेनाको मनोबल उच्च भयो र पृथ्वीनारायण शाहले वि.सं. १८१९ असोज ५ गते ‘श्रीनाथ’ र ‘कालीबक्स’ तथा फागुन १० गते ‘पुरानो गोरख गण’ को स्थापना गरी नेपालमै पहिलो पटक औपचारिक र संस्थागत सैन्य सङ्गठनको सुरुवात मकवानपुरगढीबाटै गरे ।

गढीको वास्तुकला र संरचना

२५६ वर्षअघि हाम्रा पुर्खाले विदेशी सेनालाई घुँडा टेकाएको मकवानपुरगढी दरबार सामरिक दृष्टिकोणले निकै सुरक्षित र अभेद्य मानिन्थ्यो । पहाडको टाकुरामा २५.७ मिटर लम्बाइ र ९.१० मिटर चौडाइ क्षेत्रमा फैलिएको यो किल्लाको वरिपरि २ मिटर चौडा र २ मिटर गहिरो सुरक्षा खाई (खाल्डो) खनिएको थियो । ‘शत्रुबाट बच्न उक्त खाईमा पानी जम्मा गरेर विषालु सर्प, बिच्छी र खजुरो पालिन्थ्यो ।’ न्यौपानेले भने ।

गढीको उत्तरी प्रवेशद्वार गुम्बज शैलीमा निर्माण गरिएको छ । भित्रपट्टि पानी सञ्चय गर्नका लागि ८.९०३ मिटर गोलो आकारको इँटाले चिनेको विशाल इनार (कुवा) छ । जसलाई ‘रुपपाती’ वा ‘चपचा’ भनिन्थ्यो । अहिले त्यो कुवामा भने पानी छैन । दरबारको भित्री भागमा रहेका ढुङ्गाका कलात्मक पर्खाल, बन्दुकको नाल छिराउने प्वालहरु, र सैनिक ब्यारेकका भग्नावशेषहरुले आज पनि तत्कालीन सैन्य रणनीतिको झल्को दिन्छन् ।

मकवानपुरगढी एक्लो किल्ला थिएन । चिसापानी, ढुङ्गेगढी, सानोगढी, अम्बासगढी, टिस्टुङको दरवार किल्ला गढी पनि छन् । यो गढीहरुको एउटा सञ्जाल थियो । काठमाडौँ उपत्यका छिर्ने मुख्य व्यापारिक र सामरिक नाकाका रुपमा ‘चिसापानीगढी’ निर्माण गरिएको थियो, जहाँबाट राहदानी (भिसा) जाँच र भन्सार असुली हुन्थ्यो ।

त्यसैगरी, मुख्य गढीबाट करिब ४ किलोमिटर उत्तर–पूर्वमा चट्टानै चट्टानले बनेको ‘ढुङ्गेगढी’ छ । यो गढीमा सेन कालमा रानी रजस्वला हुँदा बस्ने ‘रानी खोपी’ (गुफा) आज पनि देख्न सकिन्छ । मुख्य गढीलाई चारैतिरबाट सुरक्षा दिन ढुङ्गेगढी र ‘सानोगढी’ जस्ता सहायक किल्लाहरु निर्माण गरिएका थिए । अम्बासगढी र टिस्टुङको दरवार किल्ला गढी त्यति चर्चामा छैन, यसको पुरातात्त्विक उत्खनन र व्यापक प्रचारप्रसार भने हुन बाँकी छ ।

दरबार परिसरको धार्मिक आस्था

मकवानपुरगढी केवल युद्ध र हतियारको मात्र भूमि थिएन । यहाँ तत्कालीन सेन राजाहरुको गहिरो धार्मिक आस्था पनि पाइन्छ । गढी परिसरभित्र प्रवेश गर्नासाथ युद्धको इतिहाससँगै आध्यात्मिक शान्तिको आभास हुन्छ । विशेषगरी राजा माणिक सेनको पालामा गढीभित्र वास्तुकला र मूर्तिकलाले निकै महत्व पायो ।

दरबारको प्राङ्गणमा ‘वंशगोपाल (कृष्ण) मन्दिर’ यसको प्रमुख आकर्षण हो । यहाँ बाँसुरी बजाइरहेको अष्टधातुको कृष्णको मूर्ति राखिएको छ । सुनको उक्त कृष्णको मूर्तिको टाउको भाग भने ६० को दशकमा चोरी भएको थियो ।

यसैगरी, मन्दिरको दक्षिण–पश्चिममा ‘सिद्धेश्वर महादेवको मन्दिर’ छ । कालो पत्थरको शिवलिङ्ग र त्यसमाथि तामाको जलहरी रहेको यहाँ पूजा गरेपछि राजा माणिक सेनले ‘सिद्धि’ प्राप्त गरेको जनविश्वास छ । धार्मिक आस्थाकै कुरा गर्दा गढी वरिपरि रहेका राजदेवी, रत्नदेवी, कमलदेवी र चण्डीनी देवीका मन्दिरहरुको विशेष महत्व छ । सेनकालमा बडादशैंको फूलपातीका दिन यिनै मन्दिरहरुबाट विधिपूर्वक फूलपाती ल्याएर बाजागाजासहित गढी दरबारभित्र भित्र्याइन्थ्यो ।

मकवानपुरगढीको इतिहासलाई नजिकबाट नियाल्दै आएका खोजकर्ता केदार प्रसाद न्यौपाने भन्छन्, ‘प्रमाण जम्मा गरेर इतिहास तयार पार्नु कठिन कार्य हो । तर यहाँ आउँदा र ढुङ्गा खोज्दा देउता मिलेको जस्तो भयो । गढी किल्ला, मन्दिर, आँखिझ्याल आदि कुँदेको चाक्लो पत्थरद्वारा निर्माण भएको रहेछ । सेन राजा माणिक सेनको पालामा राखेको घन्टा, अष्टधातुको वंशीगोपालको मूर्ति र मीर कासिमको सेनालाई हराएको इतिहासले यो गढीलाई नेपालकै अद्वितीय सम्पदा बनाएको छ । यसको ऐतिहासिक वस्तुस्थिति झल्काउन अझै धेरै उत्खनन र अध्ययनको आवश्यकता छ ।’

२०७४ पछि दरबारले पायो पुर्नःजीवन

लामो समयसम्म संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुँदै गएको मकवानपुरगढीलाई मुलुक सङ्घीयतामा गएसँगै पुनर्जीवन दिने प्रयासहरु भएका छन् ।

२०७४ सालपछि साविकका मकवानपुरगढी, आमभञ्ज्याङ, सुकौरा र बुढीचौर गाविस मिलाएर ‘मकवानपुरगढी गाउँपालिका’ नामकरण गरिएपछि यसको संरक्षण र संवर्धनमा स्थानीय र प्रदेश सरकारले चासो देखाएर केही कामहरु गरेका छन् । पुरात्तत्व विभागको निगरानीमा गढीको भत्किएको पर्खाल र दरबारको पुनर्निर्माण कार्य भएको मकवानपुरगढी गाउँपालिका कार्यालयका योजना शाखा प्रमुख प्रकाश न्यौपाने बताउँछन् । दरबार परिसरका बाहिरी क्षेत्रमा निर्माण गरिएको पृथ्वीनारायण शाह र सेतो एकदन्ते हात्तीको प्रतिमा पनि बनेका छन ।

मकवानपुरगढी गाउँपालिकाका पूर्व अध्यक्ष विदुर हुमागाईं स्थानीय सरकार आएपछि दरवार संरक्षणसंगै दरवार पुर्ननिर्माण, पुर्वाधार विकासले गति लिएको बताए । ‘हामीले पुरातात्विक तोप, भाला, ढाल, तरवार, मुगल सेनाबाट खेसिएका बन्दुक, एतिहासिक दस्तावेजहरु ल्याएर राखेर मकवानपुरगढी दरवारलाई संग्राहलय बनाउने लक्ष्य लिएका थियौँ । तीनै तहको सरकारले आवश्यक भौतिकपूर्वाधार निर्माणसंगै व्यवस्थापन पाटोमा ध्यान दिएर संग्राहलय सञ्चालन गर्न आवश्यक छ’, उनले भने, ‘एतिहासिक धरोहर आम्दानी स्रोत बन्ने छ भने भविष्यले इतिहाससंग साक्षत्कार गर्न पाउने थिए ।’

पछिल्लो समय दरबार क्षेत्रको गेट, पिकनिक स्थल, सूचना गोलघर, प्रतीक्षालय र बस्नका लागि कुर्सीहरु लगायतका पूर्वाधार निर्माण भए । त्यहाँ वृक्षारोपण गरिएका सल्लाका रुखहरु र विभिन्न प्रजातिका फूल तथा बोटबिरुवाले दरबार परिसरको सुन्दरता मनमोहक बनाएको छ । पछि परम्परागत ढुङ्गे सिँढीँ बनाईएको छ ।
अहिले त्यही सिढीँ भएर मकवानपुरगढी उक्लने दैनिक ५०० देखि १ हजारसम्म हुने गरेको स्थानीय चन्द्र बहादुर आलेको आकलन छ । सरकार विदा वा विशेष दिनहरुमा छिमेकी जिल्ला, बारा, पर्सा, रौतहट, चितवन, काठमाडौं उपत्यका लगायतका अन्तरिक पर्यटकहरु घुँइचो हुने गरेको उनी बताउँछन् ।

गढी दरवार र यस क्षेत्रको विकास भए, नभएको स्थानीयको भनाईले मात्रै नभई घुम्न आउने पर्यटकहरु संख्या र आर्थिक गतिविधिले पुष्टि गर्छ । बारा जितपुर–सिमरा उपमहानगरपालिका वडा नं.५ की ४० बर्षिया सरदादेवि खनाल शैक्षिक भ्रमणको क्रममा करिब २३ बर्ष अघि पहिलो पटक मकवानपुरगढी आएकी थिइन् । ‘त्यति बेला, चाउचाउ उमालेर खाने ठाउँ समेत थिएन, दरवार वरपर झाडी झाडी थियो’, सारदा भन्छिन्, ‘अहिले न बस्नको चिन्ता, नखानाको । सानो चटपटे पसलदेखि थ्रीस्टार स्तरसम्मको होटल खुलेको छ ।’ अहिले उनी र उनको परिवार गर्मी छल्न कहाँ जाने भन्दा मकवानपुरगढी दरवार भन्ने भएको छ ।

बागमती प्रदेश राजधानीबाट कान्तिलोपथ हुँदै करिब १७ किलोमिटरको दुरमा पर्छ मकवानपुरगढी । समुद्रिसतहबाट करिब १ हजारदेखि ११ सयमिटर उचाईमा रहेकोले यहाँको चिसो हावा पानीले मौषम सन्तुलित छ । एतिहासिक, धार्मिकसंगै यहाँ गर्मी छल्न पर्यटकहरुको बाक्लो उपस्थिती हुने गरेको छ । यसले गर्दा स्थानीयहरुको पसल र होटल व्यवसायको करोबार सन्तोषजन रहेको दरवार रेस्टुरेन्ट एण्ड लजका सञ्चालक अमृत न्यौपाने बताउँछन् ।

यसैगरी, गढी परिसर पर्ने साविक मकवानपुरगढी वडा नं २ का वडाअध्यक्ष बखान सिं पाख्रिन हाम्रो वडामा यति ठूलो ऐतिहासिक धरोहर हुनु गौरवको कुरा भएको बताउँछन् । गढी दरबारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न निरन्तर काम भइरहेका छन् । वडाध्यक्ष पाख्रिन भन्छन्, ‘पहिला यो गढी ओझेलमा थियो, फाट्टफुट्ट मात्र मानिसहरु आउँथे । अहिले पर्यटकको ओइरो लाग्न थालेको छ । बिदाको दिन र चाडपर्वमा त यहाँ धेरै भीड लाग्छ । यसले स्थानीय अर्थतन्त्रमा प्रभाव पारेको छ ।’ (बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा तयार गरिएको)

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.