सम्पदाको नगर भक्तपुरः इतिहास र संस्कृतिको संग्रहालय

अशोक बजगाईं

नेपालको सांस्कृतिक सम्पदाबारे चर्चा सुरु हुनेबित्तिकै स्मृतिमा झल्किने दृश्य हो मल्लकालीन कला, इतिहास र जीवन्त परम्पराको अनुपम संगम बनेको भक्तपुर दरबार स्क्वायर । प्राचीन कला, वास्तुकला, संस्कृति झल्किने यो क्षेत्र केवल एउटा ऐतिहासिक स्थल मात्र नभई नेपालको गौरवशाली सभ्यताको जीवित दस्तावेज पनि हो । मध्यकालीन नेपाल मण्डलको महत्वपूर्ण राजधानीका रुपमा विकसित भक्तपुरले सयौं वर्षदेखि आफ्नो मौलिकता, परम्परा र कलात्मक पहिचानलाई जोगाउँदै आएको छ ।

भक्तपुर दरबार क्षेत्रलाई विशेष बनाउने अनेक संरचनामध्ये ५५ झ्याले दरबार, स्वर्णद्वार, तलेजु मन्दिर र परम्परागत नेवारी वास्तुकलाले महत्वपूर्ण स्थान लिन्छन् । यिनै ऐतिहासिक सम्पदाको बीचमा अवस्थित पाँच तले प्यागोडा शैलीको न्यातापोल मन्दिर भक्तपुरको पहिचान, परम्परागत वास्तुकलाको उत्कृष्ट नमुना हो ।

इतिहासको साक्षी भक्तपुर दरबार क्षेत्र

भक्तपुर दरबार क्षेत्र मल्लकालीन नेपालको राजनीतिक, प्रशासनिक र सांस्कृतिक केन्द्रका रुपमा परिचित थियो । १२ औँ देखि १८ औँ शताब्दीसम्म मल्ल राजाहरुले शासन गरेको समयमा यहाँ अनेक भव्य दरबार, मन्दिर, पोखरी र कलात्मक संरचनाहरु निर्माण गरिए । यही कारणले आज पनि भक्तपुर दरबार क्षेत्रमा प्रवेश गर्दा मानिसलाई मानौं केही शताब्दी पछाडिको इतिहासमा पुगेको अनुभूति हुन्छ ।

दरबार क्षेत्रको प्रत्येक इँटा, काठको झ्याल, ढोका र मूर्तिले एउटा कथा बोकेको छ । यहाँका कलाकृतिहरुले तत्कालीन समाजको समृद्धि, धार्मिक विश्वास र कलाप्रतिको लगावलाई उजागर गर्छन् । नेवार समुदायको सिर्जनात्मक क्षमता र सौन्दर्य चेतनाले यस क्षेत्रलाई एउटा खुला संग्रहालयका रुपमा स्थापित गरेको छ । सन् १९७९ मा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भएको भक्तपुर दरबार क्षेत्र विश्वमाझ ठूलो पहिचान दिन सफल भएको छ । विश्वभरबाट हजारौं पर्यटक यहाँ आउने प्रमुख कारण यही अद्वितीय सांस्कृतिक र मौलिक सम्पदा हो ।

काष्ठकलाको गहना ५५ झ्याले दरबार

भक्तपुर नगरपालिका वडा नम्बर ३ मा अवस्थि ५५ झ्याले दरबार भक्तपुर दरबार क्षेत्रको सबैभन्दा चर्चित संरचनामध्ये एक हो । मल्लकालीन राजा भूपतीन्द्र मल्लको शासनकालमा निर्माण गरिएको यो दरबार नेपाली काष्ठकलाको उत्कृष्ट उदाहरण मानिन्छ । दरबारको अगाडिको भागमा रहेका ५५ वटा कलात्मक झ्यालहरु अत्यन्तै सूक्ष्म र आकर्षक काष्ठकलाले सजिएका छन् । प्रत्येक झ्यालमा कुँदिएका आकृति, धार्मिक प्रतीक र कलात्मक बुट्टाले तत्कालीन कलाकारहरुको अद्भुत सीपलाई उजागर गर्ने गरेको छ ।

 

त्यस्तै, भक्तपुर महानगरपालिका वडा नम्बर ३ मै अवस्थित अर्को आर्कषणको केन्द्र हो स्वर्णद्वार । दरबार क्षेत्रभित्र रहेको स्वर्णद्वार सुनौलो धातुले सजाइएको यो प्रवेशद्वार नेपालकै उत्कृष्ट धातुकलात्मक कृतिमध्ये एक मानिन्छ । मल्लकालीन राजा रणजीत मल्लको समयमा निर्माण गरिएको यो द्वारमा देवी–देवताका आकृति, पौराणिक जीव तथा धार्मिक प्रतीकहरु कुँदिएका छन् ।

विशेषगरी देवी तलेजुको प्रतिमाले यसलाई अझ आध्यात्मिक बनाएको छ । यसको पौराणिक आकृतिले पर्यटकहरुलाई यहाँ पुगेर केही समय यसको सूक्ष्म कलात्मक विवरण नियाल्नमै बिताउँछन् । भक्तपुर महानगरपालिका वडा नम्बर ३ का वडा सदस्य विश्वराम सिभाञ्जरका अनुसार यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । साथै, ५५ झ्याले दरबार र स्वर्णद्वारको सौन्दर्य व्यवस्थापन तथा सरसफाइ वडा कार्यालयले निरन्तर रुपमा गरिरहेको उनले जानकारी दिएका छन् ।

तलेजु मन्दिर

भक्तपुर दरबार क्षेत्रको धार्मिक महत्वलाई अझ झल्काउने र स्पष्ट बनाउने संरचना हो तलेजु मन्दिर । तलेजु देवी मल्ल राजाहरूकी कुलदेवी मानिन्थिन् । त्यसैले यो मन्दिर तत्कालीन राज्यको धार्मिक र राजनीतिक केन्द्रका रुपमा पनि स्थापित थियो ।

मन्दिरको वास्तुकला, धातुकला र काष्ठकलाले मल्लकालीन निर्माण परम्पराको उच्च स्तर देखाउँछ । सामान्यतया वर्षभर सर्वसाधारणका लागि बन्द रहने यो मन्दिर बडादशैंको महानवमीका दिन खुल्ने परम्परा छ । त्यस दिन हजारौं भक्तजनले दर्शन गर्न पाउँछन् । तलेजु मन्दिरले भक्तपुरको धार्मिक जीवन र ऐतिहासिक परम्परालाई आजसम्म निरन्तरता दिइरहेको छ ।

मन्दिरको भव्यता, कलात्मक काठका झ्यालढोका र ऐतिहासिक वातावरणले मन मोहित बनाएको नुवाकोटबाट भक्तपुर दरवार क्षेत्र भ्रमण गर्न आएकी पर्यटक आरती आर्चाय बताउँछिन् । यहाँ बिताएको समयले भक्तपुरको सांस्कृतिक सम्पदाप्रति अझ बढी सम्मान जागृत गराएको उनले बताईन् ।

मौलिक नेवारी वास्तुकलाको विशेषता

भक्तपुर दरबार क्षेत्रको सबैभन्दा ठूलो विशेषता यसको मौलिक नेवारी वास्तुकला हो । यहाँका भवनहरुमा रातो इँटा, कलात्मक काठका झ्याल, ढोका तथा परम्परागत निर्माण शैलीको उच्चतम प्रयोग देख्न सकिन्छ । नेवारी वास्तुकलामा सौन्दर्य र उपयोगितालाई समान रुपमा महत्व दिइएको पाइन्छ । घरका झ्यालहरु केवल प्रकाश र हावाका लागि मात्र नभई कलात्मक अभिव्यक्तिका माध्यम पनि हुन् ।

त्यसैले भक्तपुरका गल्ली, चोक र भवनहरु आफैंमा कलाका जीवित नमुना हुन् । यही वास्तुकलागत मौलिकताले भक्तपुरलाई नेपालको अन्य ऐतिहासिक नगरभन्दा फरक पहिचान दिएको छ । यहाँ हिँड्दा आधुनिक सहरभन्दा धेरै सांस्कृतिक नगरको अनुभूति हुने फ्रान्स बाट नेपाल घुम्न आएकी पर्यटक फ्लोरेन्स बताउँछिन ।

न्यातापोल मन्दिर भक्तपुरको गौरव

भक्तपुरको चर्चा न्यातापोल मन्दिरबिना अधुरो रहन्छ । न्यातापोल मन्दिर भक्तपुरको टौमढी चोकमा अवस्थित छ । जुन भक्तपुरको पुरानो नगर क्षेत्रकै भाग हो । यो मन्दिर नेपालको सबैभन्दा प्रसिद्ध प्यागोडा शैलीका मन्दिरहरुमध्ये चर्चामा रहेको मन्दिर हो । पाँच तले संरचनामा निर्माण गरिएको यो मन्दिर ३३ दशमलव २३ मिटर उचाइको छ र नेपालको सबैभन्दा अग्ला परम्परागत मन्दिरहरुमध्ये गनिन्छ ।

मन्दिरको अगाडि उभिँदा इतिहास र संस्कृतिसँग नजिक भएको अनुभूति भएको भक्तपुर दरबार अवलोकन गर्न आएका पर्यटक देव मानन्धरले बताएका छन् । मानन्धरले भक्तपुर भ्रमणको सबैभन्दा स्मरणीय अनुभव यही नै रहेको बताए ।

राजा भूपतीन्द्र मल्लले १८ औँ शताब्दीको प्रारम्भमा यसको निर्माण गराएका थिए । देवी सिद्धिलक्ष्मीलाई समर्पित यो मन्दिर धार्मिक दृष्टिले मात्र होइन, वास्तुकलात्मक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । न्यातापोल मन्दिरको विशेषता यसको विशालता मात्र होइन, यसको संरचनागत सन्तुलन पनि हो । पाँच तहको छाना, बलियो जग र परम्परागत निर्माण प्रविधिले यसलाई अत्यन्त मजबुत बनाएको छ ।

मन्दिरको सिँढीका दुवैतर्फ क्रमशः विभिन्न शक्ति प्रतीकका मूर्तिहरु राखिएका छन् । सबैभन्दा तल जयमल र फत्ते नामका पहलवान, त्यसपछि हात्ती , सिंह, ग्रिफिन र अन्तिममा देवीहरूको मूर्ति राखिएको छ । प्रत्येक तहको मूर्तिलाई अघिल्लोभन्दा बढी शक्तिशाली मानिने धार्मिक विश्वास छ । यी मूर्तिहरूले मन्दिरलाई केवल धार्मिक संरचना मात्र नभई प्रतीकात्मक कलाको उत्कृष्ट नमुना बनाएका छन् ।

भूकम्पमा पनि अडिग रहेको सम्पदा

नेपालले विभिन्न समयमा विनाशकारी भूकम्पको सामना गरेको छ । विं.सं. १९९० को भूकम्पबाट क्षतिग्रस्त बन्न पुगको दरबार क्षेत्रमा त्यसअघि ९९ वटा आँगन र ३ छुट्टाछुट्टै समूहका मन्दिरहरु रहेका थिए । त्यसको ठिक ८२ वर्ष पछी विं.सं. २०७२ को भूकम्पबाट पुनः क्षतिग्रस्त बन्न पुगेको दरबार परिसरमा यसबाट मन्दिरका छानाहरु र वत्सला देवीको मन्दिर ध्वस्त भएको थियो ।

विभिन्न किसिमका अवरोधहरुले समयमै निर्माण सामाग्रीको आपूर्ति हुन नसक्नु र पहिले जस्तै कलात्मक स्वरुपमा काठ तथा मूर्तिमा बुट्टा भर्न सक्ने कुशल कलाकार पर्याप्त उपलब्ध हुन नसक्नुले पुनर्निर्माण छिटो सक्नमा कठिनाई देखिए पनि भूकम्पबाट रुग्ण बन्न पुगेको यहाँका संरचनाहरुलाई पुरानै स्वरुपमा पुनर्निर्माण भइसकेको छ ।

पर्यटन र स्थानीय जीवनको केन्द्र

भक्तपुर दरबार क्षेत्र र न्यातापोल मन्दिर केवल ऐतिहासिक सम्पदा मात्र होइनन्, स्थानीय जनजीवनका अभिन्न हिस्सा पनि हुन् । यहाँ नियमित रुपमा धार्मिक अनुष्ठान, जात्रा, पर्व र सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका हुन्छन् ।

विशेषगरी आठ दिन नौ रातसम्म धुमधामले मनाइने बिस्केट जात्रा भक्तपुरको पर्यायवाची बन्दै आएको छ । हजारौं मानिसहरूको सहभागितामा सम्पन्न हुने यो पर्वले भक्तपुरको सांस्कृतिक पहिचानलाई अझ जीवन्त बनाउँछ । पर्यटकहरुका लागि यहाँको जुँजुधौ, परम्परागत नेवारी परिकार, माटोका भाँडा बनाउने कला, काष्ठकला र हस्तकला पनि उत्तिकै आकर्षणका विषय हुन् । त्यसैले भक्तपुर भ्रमण केवल ऐतिहासिक संरचना हेर्ने अनुभव मात्र नभई सम्पूर्ण नेवारी संस्कृति बुझ्ने अवसर पनि हो ।

भक्तपुर दरबार क्षेत्रमा दैनिक सयौंको संख्यामा पर्यटकहरु आउने गरेका छन् भने वार्षिक रुपमा करिब ११ देखि १२ लाखसम्म आन्तरिक तथा बाह्य पर्यटकहरुले भ्रमण गर्ने गरेको भक्तपुर महानगरपालिका वडा नं। ३ का वडा प्रशासन सहायक गणेशराम सुवालले जानकारी दिए । उनका अनुसार पर्यटकलाई आकर्षित गर्न दरबार क्षेत्रको सौन्दर्यकरणमा स्थानीय सरकारले विशेष ध्यान दिइरहेको छ । दरबार परिसरको सरसफाइ, मर्मतसम्भार तथा विभिन्न कारीगर र श्रमिकहरुलाई वडाले परिचालन गर्दै आएको छ ।

विशेषगरी छिमेकी मुलुक भारत र चीनबाट उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन् । आगन्तुक पर्यटकहरु दरबार परिसरको सांस्कृतिक सम्पदा, नेवारी परिकार, माटोका भाँडा बनाउने कला, काष्ठकला तथा हस्तकलाबाट निकै आकर्षित हुने गरेका उनको भनाई छ । त्यसैगरी, सार्क राष्ट्रका साथै चीन र भारतबाट आउने पर्यटकहरूका लागि प्रतिव्यक्ति ३०० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ भने सार्कबाहेकका विदेशी पर्यटकहरूका लागि १५ अमेरिकी डलर प्रवेश शुल्क निर्धारण गरिएको वडा प्रशासन सहायक सुवाल बताउँछन् ।

भक्तपुर दरबार क्षेत्र र न्यातापोल मन्दिर नेपालको इतिहास, संस्कृति, धर्म र कलात्मक चेतनाको अनुपम धरोहर हुन् । ५५ झ्याले दरबारको काष्ठकला, स्वर्णद्वारको धातुकला, तलेजु मन्दिरको धार्मिक महत्व र नेवारी वास्तुकलाको मौलिकताले भक्तपुरलाई विश्वकै विशिष्ट सांस्कृतिक नगरहरु मध्यमा एकको रुपमा स्थापित गरेको छ । त्यसैगरी पाँच तले न्यातापोल मन्दिरले नेपाली वास्तुकलाको उचाइ, कलात्मक उत्कृष्टता र प्राविधिक दक्षताको परिचय दिएकोछ ।

यी सम्पदाहरु केवल विगतका अवशेष होइनन्, वर्तमान पुस्तालाई आफ्नो इतिहाससँग जोड्ने जीवन्त सेतु हुन् । यिनै कारणले भक्तपुर आज पनि नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरुमध्ये अग्रस्थानमा छ । इतिहास, संस्कृति र कलाको खोजीमा आउने जो–कोहीका लागि भक्तपुर दरबार क्षेत्र र न्यातापोल मन्दिर एउटा अविस्मरणीय अनुभव र सिकाई बनेर रहन्छ ।

नगरकोट सौन्दर्यको गन्तव्य

भक्तपुर जिल्लाको पूर्वी भागमा अवस्थित नगरकोट नेपालकै प्रसिद्ध पर्यटकीय गन्तव्यमध्ये एक हो । समुद्री सतहबाट करिब २ हजार १ सय ७५ मिटर उचाइमा रहेको नगरकोट विशेषगरी सूर्योदय, सूर्यास्त तथा हिमालय श्रृंखलाको मनोरम दृश्यावलोकनका लागि परिचित छ । यहाँबाट मौसम अनुकूल हुँदा सगरमाथासहित लाङटाङ, गणेश, जुगल र रोल्वालिङ हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ ।

काठमाडौंबाट छोटो दूरीमा रहेको नगरकोट आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज पहुँचयुक्त गन्तव्य बनेको छ । प्राकृतिक सौन्दर्य, हरियाली वन, पदयात्रा मार्ग र शान्त वातावरणका कारण यहाँ वर्षभर पर्यटकको आगमन हुने गरेको छ । पछिल्लो समय नगरकोटमा होटल तथा पर्यटन पूर्वाधारको विस्तारसँगै विभिन्न तालिम, गोष्ठी र सम्मेलनसमेत आयोजना हुन थालेका छन् ।

नगरकोट भ्रमणका क्रममा तालिममा सहभागी आन्तरिक पर्यटक शिव चौलागाईंले नगरकोटको प्राकृतिक सौन्दर्यले आफूलाई निकै आकर्षित गरेको बताए । ‘नगरकोटको शान्त वातावरण, स्वच्छ हावा र हिमालको दृश्य अत्यन्त मनमोहक छ । यहाँ आएपछि प्रकृतिसँग नजिक भएको अनुभूति हुन्छ । तालिमसँगै घुमफिर गर्ने अवसर मिल्दा थप उत्साह मिलेको छ,’ उनले भने । (बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा तयार पारिएको )

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.