हेटौंडा । जेन–जी आन्दोलनको क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर ४४० जना कैदीबन्दीहरु भागेको आज एक वर्ष पुगेको छ । कारागार फोडेर भागेकामध्ये मंगलबारसम्मको विवरणअनुसार अझै १२३ जना फरार छन् ।
गत वर्षको भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट भागेकामध्ये ३ सय १९ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बाँकी फरार रहेका १२३ जना मध्ये पनि २६ जना कैदी भारतीय रहेको भीमफेदी कारागारका प्रमुख सुवास पौडेलले बताए ।
पौडेलका अनुसार कारागारको पर्खाल फोडेर ३९ जना भारतीय नागरिक फरार भएका थिए । तीमध्ये १३ जना कारागारको नियन्त्रणमा छन् भने २६ जना अझै फरार छन् ।
भागेकाहरुको खोजी भइरहेको कारागार प्रशासनले जनाएको छ । भीमफेदी कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० गरी ४४० कैदीबन्दी फरार भएका थिए । जेलको पर्खाल फोडेर कैदीवन्दी भाग्न लाग्दा सुरक्षाकर्मीले गोली चलाएको थियो ।
सुरक्षाकर्मीको गोली लागेर तीन जना कैदी घाइते भएका थिए । फरार कैदीबन्दीहरुको खोजीका क्रममा सुरक्षाकर्मीहरुले विभिन्न स्थानबाट कैदीबन्दीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको पौडेलले बताए ।
कारागारबाट भागेका १२३ जना कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एव प्रवक्ता माधव काफ्लेले बताए । फरार भएकामध्ये पनि सबैभन्दा धेरै लागुऔषध र जबरजस्तीकरणी मुद्दाका कैदी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंस्थित केन्द्रीय कारागार, नख्खु कारागार, भरतपुर, कास्की, तनहुँलगायत जेलबाट भागेहरुलाई मकवानपुरको विभिन्न स्थानबाट प्रहरीले ७७ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई पनि भीमफेदी कारागारका राखिएको छ । अहिले भीमफेदी कारगारमा ३५ जना महिलासहित ९ सय ९९ जना कैदीबन्दी छन् । तीमध्ये ४४ जना विदेशी नागरिक छन् । जेल फोडेर भाग्नु भन्दाअघि भीमफेदी कारागारमा १ हजार ६६ जना कैदीबन्दी थिए ।
यस्तै हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा रहेको बालसुधार गृहबाट गत भदौ २५ गते बिहान ७२ जना बालकहरु भागेका थिए । तीमध्ये प्रहरीले ६७ जना नियन्त्रणमा लिएको छ भने ५ जना अझै फरार रहेको सुधारगृहका प्रमुख प्रदीप गौतमले बताए ।







