मकवानपुरगढी । पहिले धान झुल्ने मकवानपुरगढीका पाखो खेतहरुमा अचेल कोदो लहलहाउन थालेको छ । कुनै समय असारको दोस्रो सातापछि मकै भित्र्याएर पाखो खेतमा धान रोप्ने चटारो हुन्थ्यो ।
मकवानपुरगढी गाउँपालिका वडा नं. २ की धनकुमारी खड्का एक कठ्ठामा दुई मुरीका दरले १५ कठ्ठाबाट ३० मुरीसम्म धान भित्र्याउँथिन् । तर, मौसम सधैँ एकनास रहेन । जलवायु परिवर्तनसँगै मनसुनले बाटो बिरायो। समयमा पानी पर्न छाडेपछि धान उत्पादनमा भारी गिरावट आयो र मकै भित्र्याएपछि खेत बाँझै बस्न थाल्यो ।
तर, धनकुमारीले हार खाइनन् । करिब ४/५ वर्षसम्म बाँझो बसेको जग्गालाई हराभरा बनाउन उनले धानको विकल्पमा हिउँदे बालीका रूपमा ‘कोदो’ लगाउने अठोट गरिन् ।
गाउँपालिकाको कृषि विकास शाखाबाट तालिम र उन्नत जातको बीउ पाएपछि उनले मकै काटेर खाली भएको खेतमा कोदो रोपिन् । पहिलो वर्षमै प्रतिकठ्ठा एक मुरीका दरले १६ क्विन्टल कोदो फलाएर उनले सबैलाई चकित पारिन् ।
धानको मूल्य प्रतिकिलो मुल्यभन्दा झण्डै तीनगुना बढीमा मुल्यमा कोदो बिक्री भयो, उनी आफै चकित परिन् । ‘धान प्रतिकिलो ३०/३५ रुपैया मात्रै बिक्थ्यो, तर कोदो घरबाटै प्रतिकिलो ७० देखि ९० रुपैयाँसम्ममा धमाधम बिक्री भयो,’ उनले सुनाईन् ।

धनकुमारीजस्तै मकवानपुरगढी–२ की मानकुमारी बलले पनि पाखो खेतमा कोदो रोपेर मनग्य आम्दानी गरिरहेकी छन् । गत आर्थिक वर्षमा ७ क्विन्टल कोदो फलाएकी उनले यसपटक बाँदरको आतङ्कका बाबजुद १३/१४ कठ्ठाबाट १२ क्विन्टल उत्पादन गरिन् ।
धनकुमारी र मानकुमारी त रैथाने बालीतर्फ फर्किएका प्रतिनिधि पात्र मात्र हुन् । वडा नं. २ कै भालुटार बस्तीमा पूर्वप्रहरी असई तुलबहादुर भुलुन र लालबहादुर सुवेदीदेखि सोमलालसम्म आइपुग्दा ४० मध्ये २८ घरधुरीले रैथाने बालीलाई नै मुख्य खेती बनाएका छन् ।
वडा नं. १ का सूर्यबहादुर स्याङ्तानले पनि बाँझो जग्गा फाँडेर जुनेलो खेती सुरु गरेका छन् । कुनै बेला जुनेलो बिक्री नभएर हैरान भएका उनले पछिल्लो समय बजार पाउन थालेपछि १७ कठ्ठामा फलाएको १० मुरी जुनेलो गाउँपालिकालाई नै बेचे ।
एउटै जमिनमा लगातार जुनेलो लगाउँदा उत्पादन घट्ने भएकाले यसपटक विश्राम लिएका उनी आगामी आर्थिक वर्षमा पुनः खेती गर्ने सोचमा छन् ।
त्यस्तै, धानको सट्टा फापरलाई प्राथमिकतामा राखेका सरोजले यसपटक ६ मुरी फापर गाउँपालिकालाई बेचे। उनी आफ्नो खेतबारीमा फेरि फापर नै लगाउने तयारीमा छन् ।
परिवर्तनको संवाहकः गाउँपालिकाको नीति
किसानको खेतबारीमा आएको यो सुखद बदलावको मुख्य कारण हो,‘मकवानपुरगढी गाउँपालिकाको रैथाने बाली प्रवद्र्धन कार्यक्रम’ ।
तत्कालीन गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको योजनाअनुरूप आर्थिक वर्ष २०७७÷७८ मा पहिलोपटक सहकारीमार्फत ‘रैथाने बाली खरिद–बिक्री अनुदान कार्यक्रम’ सुरु भएको थियो । त्यतिबेला पालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४२, मीठो फापरको ६० र तितो फापरको ७० रुपैयाँ तोकेको थियो ।
कार्यक्रम सञ्चालनको छैटौँ वर्षमा आइपुग्दा यसको दायरा निकै फराकिलो भएको छ । अहिले कोदो र फापर मात्र होइन, जुनेलो, कागुनो, धानकोदो र सेतो सिमीसमेत यसमा समेटिएका छन् ।
पालिकाले कृषि सहकारी र समूहमार्फत न्यूनतम समर्थन मूल्यमा किसानको उत्पादन खरिद गर्दै आएको छ । उत्पादन प्रोत्साहनस्वरूप पालिकाले दिने प्रतिकिलो १० रुपैयाँ अनुदानमध्ये ४ रुपैयाँ सहकारी वा समूहले व्यवस्थापनबापत र ६ रुपैयाँ सिधै किसानले पाउँछन् ।

गाउँपालिकाको कृषि विकास शाखा प्रमुख गोपाल लम्सालका अनुसार पछिल्ला चार वर्षमा रैथाने बाली (कोदो, फापर, जुनेलो, सिमी) को उत्पादन निरन्तर उकालो लागिरहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा ११३ क्विन्टल र गत आवमा १८० क्विन्टल रैथाने बाली अनुदानमा समेटिएकोमा चालु आवमा २६ मेट्रिकटनभन्दा बढी उत्पादनमा आधारित अनुदान प्रदान गरिएको छ ।
अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थामार्फत खरिद भएको ८ हजार ७३५ किलो रैथाने बालीको ८७ हजार ३५० रुपैयाँ पालिकाले भुक्तानी गरिसकेको छ । जसमा कृषकले ५२ हजार ४१० र सहकारीले ३४ हजार ९४० पाएका छन् ।
त्यस्तै, सत्कर्म साना किसान कृषि सहकारी संस्थामार्फत खरिद भएको १७ हजार ५०० किलो सिमीको १ लाख ७१ हजार ६० रुपैयाँ भुक्तानी भएको छ ।
यान्त्रीकरण र बजारीकरणमा जोड
खेती प्रवद्र्धनकै लागि ५० प्रतिशत लागत साझेदारीमा ३२ थान इलेक्ट्रोनिक स्प्रेयर, ५ थान मिनी टिलर (७ एचपी), ४ थान डिजिटल तराजु र अन्नको चिस्यान नाप्ने यन्त्र वितरण गरिएको गाउँपालिकाका कृषि स्नातक सुदीप सुवेदीले बताए ।
उनका अनुसार किसानको क्षमता अभिवृद्धिका लागि ८ वटै वडा समेटिने गरी १५० जनालाई स्थलगत तालिम र आगामी वर्षका लागि १२५० किसानलाई बीउ–किट वितरण गरिएको छ ।
यसैगरी, रैथाने बालीको महत्व झल्काउन रानिवास एग्रो टुरिजम पार्कमा सोनाम ल्होसारको अवसर पारेर करिब २५० जनालाई कोदो र फापरका परिकार (केक, कुकिज, बिस्कुट, निम्की) तथा फर्सीको खिर निःशुल्क वितरण गरिएको थियो ।
सिमीबाहेकका रैथाने बाली प्रवद्र्धन गर्न सङ्घीय ससर्त अनुदानबाट करिब ७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
विस्तार हुँदै क्षेत्र, थपिँदै चुनौती
हाल पालिकाका सबै वडामा रैथाने बाली लगाइन्छ । वडा नं. १, २ र ४ कोदोको पकेट क्षेत्र हुन् भने ६ र ८ फापरका लागि चिनिन्छन् ।
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानका अनुसार सुरुमा २०० हेक्टरमा सीमित रैथाने बाली खेती अहिले ७०० हेक्टरभन्दा बढीमा विस्तार भएको छ र करिब १३ सय किसान यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित छन् ।

‘कोदो, फापर, जुनेलो खेती गर्न सहज छ । अन्य बालीमा जस्तो धेरै पैसा र समय खर्च गर्नु पर्दैन । पालिकाले तालिमदेखि ट्याक्टरसम्म दिएपछि किसानको आकर्षण बढेको छ,’ अपाङ्ग तथा विपन्न सहकारी संस्थाका अध्यक्ष दिलबहादुर योञ्जन भन्छन् ।
यद्यपि, केही चुनौती पनि छन् । पालिकाभित्र ३० देखि ३५ मेट्रिकटन कोदो उत्पादन हुने गरेको बताउँदै उनले भने, ‘उत्पादन भएजति सबै किसानलाई अनुदान दिन संस्थाले ऋण लिनुपर्ने बाध्यता छ । ऋणको ब्याजले सहकारीलाई आर्थिक भार परेको छ, यसमा गाउँपालिकाले सहजीकरण गरिदिए सहज हुन्थ्यो ।’
भविष्यको बाटोः ब्रान्डिङ र विविधीकरण
यी चुनौतीका बाबजुद गाउँपालिका भविष्यप्रति स्पष्ट छ । रैथाने बालीको बिक्री वितरण सहज बनाउन ‘कोसेली घर’ र किसानबीच बीउ साटासाट गर्न ‘बीउ बैंक’ निर्माण अन्तिम चरणमा पुगेको छ ।
अध्यक्ष स्याङ्तानका अनुसार विविधीकरण कार्यक्रमअन्तर्गत कोदोको वाइन उत्पादन गरेर बजारमा ल्याउने, अनुदान बढाउने र यान्त्रीकरणलाई अझ व्यवस्थित गर्ने पालिकाको लक्ष्य छ ।
अहिले मकवानपुरगढीकै सहकारीमार्फत उत्पादित कोदो र फापरको पिठो ‘कालीखोला’ ब्रान्डमा बजारका पसलहरूमा पुगिरहेको छ ।
अझ सुखद पक्ष त के छ भने, पालिकाभित्रै खपत बढाउन विद्यालयको दिवा खाजा कार्यक्रममा हरेक हप्ताको एक दिन रैथाने अन्न (कोदो, फापर, जुनेलो, तरुल, पिँडालु, बोडी, सिमी आदि) अनिवार्य समावेश गर्ने निर्णय कार्यान्वयनमा आइसकेको छ ।
यसरी, बाँझो पल्टिएका पाखो खेतहरूमा फस्टाएको रैथाने बालीले मकवानपुरगढीका किसानको भकारी मात्र भरेको छैन, उनीहरूको जीवनमा नयाँ खुसी र उत्साह पनि फर्काएको छ । (मकवानपुरगढी गाउँपालिकाको सहयोगमा तयार पारिएको फिचर समाचार सामग्री)








