के कुनै जीव १९४ वर्षसम्म बाँच्न सक्छ ? सुन्दैमा अचम्म लाग्न सक्छ, पत्याउनै गाह्रो पर्छ । तर संसारमा एउटा यस्तो कछुवा छ जसले करिब दुई शताब्दी देखिसकेको छ ।
यस कछुवाको नाम जोनाथन हो । जोनाथको उमेर १९४ वर्ष पुगिसकेको छ । गिनिज वर्ल्ड रेकर्ड्सले हालै यसलाई आफ्नो सबैभन्दा प्रतिष्ठित सम्मानमध्ये एक गिनिज वर्ल्ड रेकर्डस् आइकनको उपाधि प्रदान गरेको छ ।
जोनाथन कछुवा सेशेल्स जायन्ट टोर्टोइज प्रजातिको कछुवा हो । यो दक्षिणी आन्ध्र महासागरमा रहेको सेन्ट हेलेना द्वीपमा बस्छ । गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार सन् १८८२ मा यसलाई सेसेल्सबाट सेन्ट हेलेना ल्याइएको थियो ।
त्यसबेला यसको उमेर कम्तीमा ५० वर्षको थियो । सोही आधारमा वैज्ञानिकहरुले यो कछुवाको जन्म सन् १८३२ मा भएको आँकलन गरेका छन् ।
दुई शताब्दीको साक्षी
जोनाथन यस संसारमा आउँदा संसारमा न त सवारी साधनहरु सर्वसाधारणका लागि उपलब्ध थिए न त हवाईजहाजको व्यापक प्रयोग भएको थियो । त्यसबेला इन्टरनेटको अस्तित्व नै थिएन ।
यो कछुवाले औद्योगिक क्रान्ति, दुईवटा विश्वयुद्ध, मानवको चन्द्रमामा अवतरण र आधुनिक प्रविधिको विकाससम्मका अनेक ऐतिहासिक परिवर्तनहरुको समय गुजारेको छ ।
त्यसै कारणले जोनाथनलाई केवल एउटा कछुवा मात्र नभई इतिहासको जीवित साक्षीका रुपमा पनि हेरिन्छ ।

१९४ वर्षसम्म बाँच्नु आफैँमा चमत्कार हो । त्यसैले बुढ्यौलीको प्रभाव जोनाथनमा पनि परेको छ । यसको दृष्टिशक्ति लगभग हराइसकेको छ र सुँघ्ने क्षमता पनि निकै कमजोर भएको छ । तर यसको हेरचाह गर्नेहरुका अनुसार यसले अझै नियमित रुपमा खाना खान्छ, घाम ताप्छ र आफ्ना साथी कछुवाहरुसँग सामान्य व्यवहार गर्छ ।
विशेषज्ञहरुका अनुसार विशालकाय कछुवाहरुको सुस्त जीवनशैली, कम ऊर्जा खर्च गर्ने शरीर, बलियो प्रतिरक्षा प्रणाली तथा सुस्त मेटाबोलिज्म नै तिनीहरुको दीर्घायुको मुख्य कारण मानिन्छ ।
सोही कारणले सेसेल्स र गालापागोस टापुजस्ता द्वीपका विशालकाय कछुवाहरु प्रायः १०० वर्षभन्दा बढी बाँच्छन् । यद्यपि १९४ वर्षसम्म जीवित रहनु भने अत्यन्तै दुर्लभ घटना मानिन्छ । (अनलाइनखबरबाट)








