हेटौंडा । लगातारको वर्षाका कारण काठमाडौं र हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।
कान्तिलोकपथ खण्डको ललितपु बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरव क्षेत्रमा सडक माथिबाट पहिरो खसेर सडक पूर्णरूपमा (दुईतर्फी) अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । कान्तिलोकपथ खण्डअन्तर्गत मकवानपुरतर्फ भने अवरोध नभएको जनाइएको छ ।
यस्तै, हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडकखण्डमा पहिरो नखसेको र यातायात सुचारु रहेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । त्रिभुवन राजपथमा पनि पहिरो नखसेको र सडक सुचारु रहेको जनाइएको छ ।
यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिक र ज्यामिरे क्षेत्रमा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय धादिङले छुट्टाछुट्टै सूचनामार्फत अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन पूर्णरुपमा रोक लगाएको छ । पृथ्वी राजमार्ग अवरुद्ध हुँदा मकवानपुर हुँदै काठमाडौं आवाजजावत गरिरहेका थिए ।







