हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट लामो समयदेखि उठ्न बाँकी रहेको बक्यौता असुलीका लागि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कडा कदम चालेको छ ।
बक्यौता नतिर्ने ५७ वटा उद्योगको विद्युत् लाइन काटिएपछि उद्योगीमा दबाब बढेको छ भने केही उद्योगले बक्यौता बुझाएर पुनः विद्युत् जडान गराइसकेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार हेटौंडा औद्योगिक क्षेत्रका उद्योगबाट करिब ४४ करोड ७० लाख रुपैयाँ बक्यौता उठ्न बाँकी छ ।
यो रकममध्ये मुख्यरुपमा जग्गा तथा भवन बहाल, विद्युत् महसुल र खानेपानी शुल्क समावेश छन् । उद्योग मन्त्रालयले केही समयअघि देशभरका औद्योगिक क्षेत्रका बक्यौता उद्योगको सूची सार्वजनिक गरेपछि हेटौंडा औद्योगिक व्यवस्थापन कार्यालयले पनि क्षेत्रभित्र सञ्चालित तथा क्षेत्र छोडेर गएका उद्योगलाई सात दिनभित्र बक्यौता चुक्ता गर्न पत्राचार गरेको थियो ।
तर, समयमै रकम नबुझाएपछि कार्यालयले विद्युत् लाइन काट्ने प्रक्रिया अघि बढाएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका सूचनाअधिकारी हिमालय भण्डारीकाअनुसार बक्यौता नतिर्ने ५७ वटा उद्योगको विद्युत् लाइन काटिएको थियो ।
त्यसपछि महसुल बुझाउन थालेका उद्योगमध्ये २३–२४ वटा उद्योगको लाइन पुनः जडान गरिसकिएको उनले जानकारी दिए । भण्डारीकाअनुसार कार्यालयले पछिल्लो समय बक्यौता असुलीलाई अभियानकैरुपमा अघि बढाएको छ ।
हेटौंडा औद्योगिक क्षेत्र भित्रका उद्योगबाट मात्रै करिब १२ देखि १३ करोड रुपैयाँ तत्काल उठाउनुपर्ने रहेकामा त्यसको झण्डै ५० प्रतिशत रकम असुल भइसकेको छ । उनले धेरै उद्योगी सम्पर्कमा आएर बिस्तारै बक्यौता बुझाउने क्रम सुरु भएको बताए । ‘पहिला विद्युत् काटेर सचेत गराएका छौँ । अब पनि अटेर गर्ने उद्योगको हकमा थप कडा कदम चालिन्छ,’ उनले भने ।
कार्यालयले विद्युत् काटेर मात्र नरोकिने स्पष्ट पारेको छ । लामो समयसम्म बक्यौता नतिर्ने र कार्यालयको ताकेताप्रति बेवास्ता गर्ने उद्योगको लिज सम्झौता नै खारेज गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ । सूचनाअधिकारी भण्डारीकाअनुसार केही उद्योगीले किस्ताबन्दीमा रकम तिर्ने प्रस्ताव गरेका छन् ।
यस्ता विषयमा केन्द्रीय कार्यालयको निर्देशनअनुसार निर्णय गरिने उनले बताए । ‘धेरै उद्योगी सम्पर्कमा आउनुभएको छ । दुगड अटो क्लिनिकले पनि करिब तीन करोड रुपैयाँ बुझाएको जानकारी आएको छ । तर, सात दिनभित्र पनि कसैले चासो देखाएन भने लिज सम्झौता नै खारेज गर्ने प्रक्रिया सुरु गर्छौं,’ उनले भने ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको विवरण अनुसार सबैभन्दा धेरै बक्यौता दुगड अटो क्लिनिक प्रालिको रहेको छ । यो उद्योगले ३ करोड ३० लाख रुपैयाँभन्दा बढी बुझाउन बाँकी रहेको थियो । यद्यपि कम्पनीले पछिल्लो समय करिब तीन करोड रुपैयाँ बुझाइ सकेको कार्यालयको दाबी छ ।
त्यसपछि बतास ब्रदर्स मोटर्स प्रालिको २ करोड २६ लाख रुपैयाँ, नेपाल वनस्पति घ्यु उद्योगको ६६ लाख ७८ हजार रुपैयाँ, साल्ट ट्रेडिङ कर्पोरेसनको ५३ लाख ३२ हजार रुपैयाँ तथा नेपाल बैंक लिमिटेडको ४३ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ ।
औद्योगिक क्षेत्रको सबैभन्दा पुरानो र हाल बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगको समेत बक्यौता बाँकी रहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाकाअनुसार बन्द अवस्थामा रहेको कपडा उद्योगले ३० लाख १४ हजार रुपैयाँ बुझाउँन बाँकी छ ।
यस्तै हेटौंडा औद्योगिक क्षेत्र छोडेर गएका उद्योगको पनि ठूलो रकम अझै उठ्न सकेको छैन । कार्यालयका अनुसार ३६ वटा उद्योगले क्षेत्र छोडिसके पनि ७१ लाख ३१ हजार रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी छ ।
नेपाल प्लास्टिक, ब्राइट फिड, धनकुटा पोलिथिनलगायतका उद्योग यो क्षेत्र छोडेर गएका उद्योगको सूचीमा छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले अब बक्यौता असुलीलाई थप कडाइका साथ अघि बढाउने जनाएको छ ।







