ऐतिहासिक ढुंगेगढीको ढुंगे धारामा ढुंगे पानी

मक्राञ्चुली । मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय गन्तव्य मकवानपुरगढी गाउँपालिका वडा नं. २ स्थित ढुंगेगढीमा खानेपानीको समस्या समाधानका लागि ‘ढुंगेधारा’ निर्माण गरिएको छ । मध्यपृतना हेडक्वार्टर सुपारेटार ब्यारेक अन्तर्गतको गोरख बहादुर गणले उक्त आकर्षक ढुंगेधारा निर्माण गरेको हो ।

मकवानपुरगढी–२ का वडा अध्यक्ष बखान सिंह पाख्रिनका अनुसार सेनाले तीनवटा ढुंगेधारा निर्माण सम्पन्न गरिसकेको छ । ती धाराहरु हाल परीक्षणका क्रममा रहे पनि विधिवत रुपमा उद्घाटन भएपछि पूर्ण रुपमा सञ्चालनमा आउनेछन् । ‘गोरख बहादुर गणले उद्घाटन गरेपछि पर्यटक र स्थानीयले यसको पूर्ण उपभोग गर्न पाउनेछन्,’ वडा अध्यक्ष पाख्रिनले भने ।

ढुंगेधारा निर्माणमा सेनाले श्रमदान गरे पनि त्यहाँसम्म पानी पु¥याउन मकवानपुरगढी गाउँपालिकाले लगानी गरेको छ । गाउँपालिकाले वडा नं. ७ मा रहेको ‘ढुंगे पानी’ मुहानबाट पाइप विस्तार गरी गढीसम्म पानी ल्याएको हो । समुद्री सतहबाट करिब १२९९ मिटरको उचाइमा रहेको ढुंगेगढीमा पानीको ठूलो समस्या थियो, जुन अब समाधान हुने विश्वास लिइएको छ ।

विशाल ढुंगाको चट्टानमाथि मानव बस्ती रहेकाले यसको नाम ‘ढुंगेगढी’ रहन गएको स्थानीय जनश्रुति छ । यहाँ प्राचीन रानी खोपी (सेनकालीन रानी रजस्वला हुँदा बस्ने ठाउँ) र पुरानो कुवा अझै सुरक्षित छन् । धार्मिक दृष्टिकोणले पनि यहाँ कालिका माई र शिव मन्दिर निर्माण गरिएका छन् ।

पर्यटनको नयाँ गन्तव्यः ढुंगेगढी आनन्द पार्क

हेटौंडा बजारबाट १९ किलोमिटर उत्तर–पूर्वमा रहेको यो स्थान गर्मी छल्नका लागि उपयुक्त मानिन्छ । कान्ति राजपथसँगै जोडिएको यो गढीबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देखिनुका साथै मौसम सफा हुँदा भारतीय भू–भाग बिहारसम्म देख्न सकिन्छ ।

पर्यटकको आकर्षणका लागि यहाँ प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन समेत भइसकेको छ । गाउँपालिकाले यस क्षेत्रलाई ढुंगे गढी आनन्द पार्कका रुपमा विकास गर्न गुरुयोजना बनाएर काम गरिरहेको छ ।

गुराँस र काफलको वनले घेरिएको यो क्षेत्रमा ढुंगे गढीमा भौतिक सरचना (मन्दिर, पिकनिक स्थल, सिडीरेली लगायत) बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयहरु बताउँछन् ।

ढुंगेगढीको ढुंगे धारामा ढुंगे पानीको स्वच्छ पीउने पानी आएपछि ढुंगेगढी क्षेत्रको मौलितामा थपिनुका साथै पर्यटकहरुको आगमनमा बृद्धि हुने र आर्थिक गतिविधि समेत हुने अपेक्षा गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.