बाँदर आतङ्क रोकिदिन सांसदलाई पीडितको पत्र

पोखरा । बागलुङको निसिखोला गाउँपालिकाका किसानले बाँदर आतङ्क रोकिदिन माग गर्दै नवनिर्वाचित सांसदलाई पत्र लेखेका छन् । गाउँमा बाँदरको आतङ्क अत्यधिक बढेपछि किसानहरूले समाधानको माग गर्दै सांसदलाई गुहारेका हुन् ।

बाँदरले खेतबारीमा लगाएको अन्नबाली सखाप पारेर हैरान बनाएपछि निसिखोलाका किसानहरूले बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्मालाई ध्यानाकर्षण पत्र पठाएका छन् । निसिखोला गाउँपालिका–४, सेरासेतका किसान डिलाराम रेग्मीले स्थानीय बाँदर पीडित किसानहरूको तर्फबाट सांसद शर्मालाई निवेदन पठाएको बताए ।

बाँदर आतङ्कका कारण जीविकोपार्जन नै सङ्कटमा परेको उनीहरुको गुनासो छ । वर्षभरि दुःख गरेर लगाएको मकै, आलु, गहुँ, कोदो लगायतका अन्नबाली बाँदरले क्षणभरमै नष्ट गरिदिने गरेको उनीहरुको भनाइ छ ।

‘खेतबारीमा दिनभर पहरा बस्दा पनि बाली जोगाउन गाह्रो भइरहेको छ,’ उनले भने, ‘मेहनत खेर जान थालेपछि कतिपय किसानहरु खेती गर्न नै निरुत्साहित हुन थालेका छन् ।’ ग्रामीण भेगका नागरिकको मुख्य आयस्रोत नै कृषि भएको र बालीनाली सुरक्षित नभएपछि परिवार पाल्न तथा बालबालिकाको पढाइ खर्च जुटाउनसमेत धौ–धौ परेको उनीहरुले सुनाए ।

जनताको दुःख र पीडा बुझेर यस समस्यालाई गम्भीरतापूर्वक लिन उनीहरूको आग्रह छ । बागलुङलगायत पहाडी जिल्लाहरुमा पछिल्लो समय बाँदरको आतङ्क मुख्य समस्याको रूपमा देखा पर्न थालेको छ । कतिपय ठाउँमा यही कारण बसाइसराइ समेत हुन थालेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.