काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ नागरिकलाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार सम्पन्न समितिको ३८ औं बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३२९२ जना स्वदेशी तथा १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी गरी कुल ३९१५ जनालाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको हो ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने प्रावधान छ ।
यसअघि, स्वदेशी व्यक्तिका हकमा सम्बन्धित स्थानीय तहबाट भएको सिफारिसका आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित तथा विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूची उपर दाबी पेस गर्न दुई चरणमा प्राधिकरणले सात दिने सूचना प्रकाशन गरेको थियो ।








