हेटौंडा । बागमती प्रदेशको सदरमुकाम हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने सबैभन्दा छोटो दुरीको वैकल्पिक मार्गका रुपमा हेरिएको ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण अझै अधुरो छ ।
प्रदेश सडक गुरुयोजनामा समेटिएको यस सडकको निर्माण कार्य सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन नसकेको हो । यस सडकको ट्रयाक खोल्ने काम तत्कालीन जिल्ला विकास समिति काठमाडौंले २०५५ सालमै सुरु गरेको थियो । झन्डै १२ वर्षमा ट्र्याक खुलेको यस सडकको निर्माण कार्य १७ जेठ २०७६ मा बागमती प्रदेश सरकारमार्फत अघि बढाइएको थियो ।
कुल १४ दशमलव ४ किलोमिटर सडकलाई मकवानपुर र काठमाडौं गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । काठमाडौं खण्डअन्तर्गत मकैबारीदेखि मातातीर्थसम्मको ८ दशमलव १ किलोमिटर सडकको निर्माण कार्य कछुवा गतिमा देखिएको छ । पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत अमर कन्स्ट्रक्सनले २०७६ सालमा भ्याटसहित करिब २८ करोड रुपैयाँमा यसको ठेक्का लिएको थियो ।
पटक–पटक गरी पाँच पटकसम्म म्याद थप्दा पनि काम नसकिएपछि प्रदेश सरकारले निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना लगाएको पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख राजु श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । साढे २ करोड बढी जरिबाना ठेक्काको रकमबाट काटिने उनले बताए ।
यसअघि म्याद थप गर्न नखोज्दा कम्पनीले दाबी विरोध गरेपछि यो वैशाख मसान्तसम्म काम सक्ने गरी समय दिएको उनले बताए । ‘यो वैशाखमा पनि काम सकिएला जस्तो छैन । काम सकिएन भने नियमअनुसार कार्यालय अगाडि बढ्छ,’ उनले भने ।
प्रमुख श्रेष्ठका अनुसार निर्माण कम्पनीले कालोपत्रे गर्नका लागि बेस हालिसकेको छ । यस खण्डको हालसम्म भौतिक प्रगति ६७ प्रतिशत र वित्तीय प्रगति ६६ दशमलव ०२ प्रतिशत मात्रै रहेको छ ।
मकवानपुर खण्डको काम अन्तिम चरणमा
मकवानपुर खण्डअन्तर्गत महालक्ष्मी खोलादेखि चखेल–मकैबारीसम्मको ६ दशमलव ३ किलोमिटर सडकको निर्माण कार्य भने सन्तोषजनक देखिएको छ । सदाशिव हिमाल कन्स्ट्रक्सनले १८ करोड ४६ लाख रुपैयाँमा ठेक्का लिएको यस खण्डको ९० प्रतिशत भौतिक प्रगति भइसकेको छ ।
पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख इन्जिनियर सुजन भण्डारीका अनुसार यस खण्डमा ३ किलोमिटर सडक कालोपत्रे र ढलान भइसकेको छ भने बाँकी ३।३ किलोमिटर सडक आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस खण्डको म्याद आगामी जेठ २५ गतेसम्म रहेको छ ।
सबैभन्दा छोटो र रणनीतिक मार्ग
महालक्ष्मी खोलादेखि काठमाडौंको कलंकीसम्म करिब २० किलोमिटर मात्र दुरी रहने यो सडक हेटौंडा–काठमाडौं जोड्ने अन्य मार्गहरु (सिस्नेरी वा फाखेल (फर्पिङ) भन्दा छोटो मानिन्छ ।
चखेल क्षेत्र तरकारी उत्पादनको पकेट क्षेत्रसमेत रहेकाले यो सडक सम्पन्न भएमा स्थानीय किसानका उत्पादन काठमाडौंको कालीमाटीसम्म सहजै पुर्याउन र यात्रुहरुलाई छिटो छरितो यात्रा गर्न ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । तर, काठमाडौँ खण्डको सुस्त कामका कारण यो लक्ष्य अझै पूर्ण हुन सकेको छैन ।







