हेटौंडा । ७२ वर्षीया फूलमाया चेपाङले पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । नागरिकता हातमा परेलगत्तै उनको अनुहार उज्यालियो ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नागरिकता थमाएपछि उनले वडाध्यक्ष उदास ब्लोनतर्फ हेर्दै चेपाङ भाषामा भनिन्, ‘ ड्याह् बुढा भत्ता वाङना’ (अब बृद्धभत्ता पाइने भो) । नागरिकता नभएकै कारण उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाएकी थिइनन् ।
कैलाश गाउँपालिका–७ खानीडाँडाकी फूलमाया जीवनम पहिलोपटक हेटौंडा आएकी थिइन् । नाङ्गै खुट्टा प्रशासन कार्यालय पुगेकी उनका पैताला चर्किएका थिए । नेपाली भाषा नबुझ्ने उनी सहायक प्रजिअको कार्यकक्षमा पस्नसमेत डराइन् ।
वडाध्यक्ष ब्लोनले हात समातेर भित्र लगेपछि मात्रै उनी सहज भइन् । नागरिकता पाएपछि भने उनको अनुहारमा मुस्कान फर्किएको थियो । साथमा आएका नातिसँग उनले छिट्टै घर फर्किन चेपाङ भाषामै आग्रह गरिरहेकी थिइन् ।
सात छोराछोरीकी आमा र २३ नातिनातिनाकी हजुरआमा फूलमायाले पाँच वर्षअघि नागरिकताको सिफारिसका लागि वडा कार्यालय पुगेकी थिइन् । तर, आवश्यक कागजात जुटाउन नसक्दा प्रक्रिया अघि बढ्न सकेन ।
एक दशकअघि श्रीमान् ठुले चेपाङको मृत्यु भइसकेको थियो । माइतीतर्फका बाबुआमा र दाजुभाइ पनि नरहेकाले आवश्यक प्रमाण जुटाउन उनले सकेकी थिइनन् ।
फूलमायाले नागरिकता नपाएको विषयमा समाचार प्रकाशित भएपछि वडाध्यक्ष ब्लोन आफैं सक्रिय भए । आवश्यक कागजात जुटाएर सिफारिस गरेपछि शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय ल्याई नागरिकता बनाइदिएका हुन् ।
उनका तीन छोरा र चार छोरीले धेरैअघि नै नागरिकता लिइसकेका थिए । गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा गाउँ पुगेका उम्मेदवारसँग पनि उनले नागरिकता नपाएको पीडा सुनाएकी थिइन् ।
अहिले उनी कान्छा छोराको घरमा बस्छिन् । छोरा रोजगारीका लागि चितवनमा छन् भने बुहारीले दैनिक ज्यालादारी गरेर कमाएको पैसाले मकैको पिठो किनेर घर चलाउने गरेको उनले बताइन् ।
फूलमायासँगै कैलाश गाउँपालिका–७ कै ५३ वर्षीया ठूलीमाया चेपाङले पनि शुक्रबार नागरिकता प्राप्त गरिन् । नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा मात्रै करिब ३५ प्रतिशत चेपाङ समुदाय अझै नागरिकता विहीन छन् ।
विशेषगरी ६० वर्षभन्दा माथिका धेरै चेपाङले नागरिकता नबनाएकाले सामाजिक सुरक्षा भत्तासमेत पाउन सकेका छैनन् । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार चेपाङ समुदायका धेरैजसोले अतिआवश्यक नपरेसम्म नागरिकता बनाउन चासो दिँदैनन् ।
चेपाङ समुदाय नागरिकता मात्र होइन, लालपुर्जाविहीन समस्या पनि भोगिरहेको छ । यो समुदायमा साक्षरता दर करिब ३० प्रतिशत मात्र रहेको छ । २०७८ सालको जनगणना अनुसार नेपालमा ८४ हजार ३६४ चेपाङ छन् । तीमध्ये २३ हजार ६५० मकवानपुर र ३५ हजार ६३७ चितवनमा बसोबास गर्छन् । देशका २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको पाइएको छ ।







