चाडपर्वमा मात्रै चम्किन्छ माटाका भाँडाको बजार

काठमाडौं । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् ।

बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त भेटिन्छन् । कसैका हात माटो मुछ्नमा जुटेका छन् भने कसैले चक्र घुमाउँदै माटाका डल्लालाई आकार दिइरहेका छन् ।

चाडपर्वको रौनकसँगै सो बस्तीका कुम्हाल समुदायका घरआँगनमा माटाका सामग्री बनाएको हेर्नेहरु पनि भेटिन थालेका छन् । वर्षभरि सुस्त रहने माटाका सामग्रीको कारोबार दीपावली र छठको समयमा केही बढ्ने आशाले उनीहरु अहिले उनीहरु उत्पादनमा केन्द्रित छन् ।

‘कारोबार वर्षभरि सुस्त रहन्छ, चाडपर्वको समयमा मात्र बिक्री हुन्छ,’ खजुरीका पृतम पण्डितले भने, ‘त्यसैले अहिले पाला बनाउन हामी व्यस्त छौं ।’ उनीहरुका लागि यो समय केवल चाडपर्वको तयारी मात्र होइन, वर्षभरि थन्किएको पेसाबाट केही आम्दानी गर्ने अवसर पनि हो ।

चाडपर्वमा माटाका सामग्रीको माग बढे पनि वर्षभरि यसै पेसाबाट परिवारको खर्च धान्न सहज नभएको कुमाल समुदायका अगुवा रामनारायण पण्डितले बताए ।

प्लास्टिक, स्टिल, आल्मुनियम र अन्य आधुनिक सामग्रीले बजारमा स्थान विस्तार गर्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएको छ । यसले गर्दा माटोसँग जीवन बिताएका कुमाल समुदायलाई आफ्नो पेसा जोगाउने र नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्ने चुनौती थपिएको उनी बताउँछन् ।

बजारमा प्लास्टिकका सामग्रीको चमक बढ्दै गर्दा माटोसँग जोडिएको परम्परागत पेसाको उज्यालो निभ्न नदिन राज्य, स्थानीय सरकार र उपभोक्ता सबैको साथ आवश्यक देखिएको कुमाल समुदायको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.