काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी, चिस्यान केन्द्रका प्रमुख तथा अन्य कर्मचारीको मिलेमतोमा गैरकानुनी आर्थिक लाभ लिने गतिविधि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सीआईबीका सहप्रवक्ता तथा सूचना अधिकारी योगेन्द्रकुमार खड्काले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनीहरुले पूर्वयोजनाअनुसार विभिन्न समूह खडा गरी सङ्गठित सञ्जालमार्फत संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्याएको प्रारम्भिक रुपमा पुष्टि भएको छ । उक्त गतिविधिबाट १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको आरोप छ ।
पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रुपमा कार्यरत सञ्जिव झा रहेका छन् । त्यसैगरी तत्कालीन चिस्यान केन्द्रका इन्चार्ज तथा हाल विभिन्न पदमा कार्यरत विजयकुमार यादव, मनहरी शर्मा र रामकेवल राय पनि पक्राउ परेका छन् ।
यसैगरी डीडीसीका कर्मचारी जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
सीआईबीले उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ‘आपराधिक विश्वासघात गर्न नहुने कसुर’ तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर उनीहरुलाई २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।







