केरामा आत्मनिर्भर उन्मुख नेपाल

काठमाडौं । दसैं–तिहार र छठमा केराको माग र खपत बढ्ने गर्छ । विगतका वर्षमा आयातित केराको पनि भर पर्नुपर्थ्यो । यस पटक भने स्वदेशी उत्पादनले नै मुख्य चाडपर्वको माग धान्ने केरा उत्पादक महासंघको दाबी छ ।

नेपालमा केराको उत्पादन क्षेत्र र जातअनुसार फरक हुने भए पनि असारदेखि काक्तिकसम्म मुख्य सिजन मानिन्छ । पछिल्ला वर्षमा व्यावसायिक केराखेती बढेको र मुख्य सिजनमा नै चाडपर्व हुनाले स्वदेशी उत्पादनले माग धान्ने केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताए ।

नेपालमा वार्षिक करिब ९ लाख टन माग रहेको पन्तको भनाइ छ । गत वर्ष सात लाख टन केरा उत्पादन भएको थियो । अपुग दुई लाख टन उत्पादन बढाउन अग्रसर रहेको उनले जनाए । दसैं–तिहार र छठ जस्ता मुख्य चाडपर्वमा करिब २ लाख टन केरा खपत हुने पन्तले बताए । भदौदेखि मंसिरसम्म आन्तरिक उत्पादनले माग धान्ने उनको भनाइ छ ।

स्वदेशी उत्पादन बढ्नुमा सरकारले अपनाएको जैविक सुरक्षा नीतिले पनि सहयोग गरेको पन्तले बताए । गत असोजदेखि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले केरामा टिआर–४ रोग देखिएपछि ‘बायो–सेक्युरिटी’को हिसाबले केरा आयातमा कडाइ गरेको थियो । आयातमा रोक लगाइएपछि किसानले उत्पादन बढाएका छन् । रोगको समस्या कम देखिएकाले उत्पादन बढेको पन्तले जनाए ।

नेपालमा चिनी चम्पा, जी नाइन र मालभोग जातको केरा खेती हुने गरेको छ । बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा, बारा, रौतहट नवलपरासी (पश्चिम), कञ्चनपुर, कैलाली, चितवन र सर्लाहीमा व्यावसायिक रूपमा केरा उत्पादन हुने गर्छ ।

केराको उत्पादन बढ्दा बजारमा मूल्य घटेको व्यवसायी बताउँछन् । दुई महिनाअघि प्रतिदर्जन ३ सय ५० सम्म रुपैयाँसम्म पुगेको थियो । अहिले घटेर १ सयदेखि १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

आइतबार नेपाली केराको थोक मूल्य १ सय ५० देखि २ सय तोकेको छ । मालभोगको १ सयदेखि २ सय रुपैयाँसम्म रहेको कालिमाटी फलफूल विकास समितिको तथ्यांक छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.