हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध बागमती प्रदेशका तीन मन्त्री र चार प्रदेशसभा सदस्यले मानहानी (बेइज्जती) सम्बन्धी मुद्दा दायर गरेका छन् । सोमवार काठमाडौं जिल्ला अदालतमा उनीहरूले अध्यक्ष लिङ्देनविरुद्ध मानहानी (बेइज्जती) सम्बन्धी मुद्दा दायर गरेका हुन् ।
मुद्दा दायर गर्नेमा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री राजु विष्ट रहेका छन्। त्यस्तै प्रदेशसभा सदस्यहरू मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ पनि फिरादी छन् ।
अदालतमा दर्ता गरिएको फिरादपत्रअनुसार बागमती प्रदेश सरकार गठनका क्रममा राप्रपाका सात सांसदले पार्टीको प्रदेश संसदीय दलको बहुमत निर्णयअनुसार एमाले नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएका थिए। त्यसक्रममा तीन जना मन्त्री बनेका थिए भने अन्य सांसदहरूले सरकारलाई समर्थन गरेका थिए ।
फिरादपत्रमा अध्यक्ष लिङ्देनले गत भदौ २८ गते काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा उनीहरूलाई लक्षित गर्दै ‘भेडाबाख्राजस्तै बिके’ तथा ‘अर्काको ओछ्यान तताउन गए’ लगायतका अभिव्यक्ति दिएको उल्लेख छ ।
उक्त अभिव्यक्तिले व्यक्तिगत चरित्र, राजनीतिक निष्ठा, सामाजिक प्रतिष्ठा र जनप्रतिनिधिको मर्यादामाथि गम्भीर आघात पुगेको दाबी फिरादी पक्षको छ ।
सांसदहरूले लिङ्देनले तथ्यहीन, आधारहीन तथा अपमानजनक अभिव्यक्ति सार्वजनिक रूपमा प्रचार–प्रसार गरेर आफूहरूको बेइज्जती गरेको भन्दै मुलुकी अपराध संहिता, २०७४ को बेइज्जती सम्बन्धी व्यवस्था अनुसार कारबाही, क्षतिपूर्ति तथा मुद्दा खर्च भराइदिन अदालतसँग माग गरेका छन् ।
राप्रपाभित्र बागमती प्रदेश सरकारलाई समर्थन गर्ने विषयलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ । पार्टी नेतृत्वले सरकारमा सहभागिता पार्टी नीतिविपरीत भएको बताउँदै आएको छ भने सरकारमा सहभागी सांसदहरू भने प्रदेश संसदीय दलको निर्णयअनुसार अघि बढेको दाबी गर्दै आएका छन् । मुद्दा दर्तासँगै राप्रपाभित्रको विवाद कानुनी तहमा पुगेको छ । (सूचनापथ डटकमबाट साभार गरिएको)







