हेटौंडा । निरन्तरको अविरल वर्षाका कारण हेटौंडा हुँदै काठमाडौं जोड्ने अधिकांश सडकखण्डमा पहिरो, सडक भासिने र विद्युतका पोल ढल्ने समस्या देखिएपछि यातायात प्रभावित भएको छ । हाल त्रिभुवन राजपथ मात्रै सञ्चालनमा रहेको जिल्ला सुरक्षा निकायले जनाएको छ ।
कान्ति राजपथमा ललितपुरतर्फ पहिरो
हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति राजपथको मकवानपुरतर्फको सडकखण्ड हालसम्म सञ्चालनयोग्य रहे पनि ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे र टाँकुरे क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडकखण्डबाट काठमाडौंतर्फको आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फाखेल सडकखण्ड भासियो
हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ किटनीमा वर्षाका कारण सडक भासिएपछि एकतर्फी आवागमनसमेत जोखिमपूर्ण बनेको छ । जोखिमलाई ध्यानमा राख्दै चालकलाई सिस्नेरी वा खानीखेततर्फको वैकल्पिक मार्ग प्रयोग गर्न जानकारी गराइएको छ ।
सिस्नेरी सडकमा तीन ठाउँमा पहिरो
हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–२ ज्यालटार, भीमफेदी–६ जुरीखेत र इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा लेदोसहितको पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको छ । तीनवटै स्थानमा जेसीबी परिचालन गरी पहिरो हटाउने काम सुरु गरिएको छ ।
धरान–चतरा सडकमा विद्युतका पोल ढले
धरान–चतरा सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१६ हटिया बजारदेखि चिसापानीसम्म करिब १० वटा विद्युतका पोल ढलेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक खुलाउन विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको जनाइएको छ ।
पूर्व–पश्चिम राजमार्ग पनि प्रभावित
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी, रजैया नजिकै सडक माथिबाट पहिरो तथा ढुंगा खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । पहिरो हटाउन जेसीबी परिचालन गरिएको छ ।
त्रिभुवन राजपथ भने सुचारु
हेटौंडाबाट काठमाडौं जाने प्रमुख वैकल्पिक मार्ग त्रिभुवन राजपथ भने हाल सुचारु रहेको छ । अन्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएपछि अत्यावश्यक सामग्री बोकेका सवारीसहित काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथ महत्वपूर्ण मार्ग बनेको छ ।
पृथ्वी राजमार्गमा पूर्ण रोक
उता पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर र ज्यामिरे क्षेत्रमा पहिरो खसेपछि सडक दुवैतर्फबाट अवरुद्ध भएको छ । चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको जानकारी प्राप्त भएको छ ।
तर, असोज १० गतेदेखि पोखरातर्फ जाने सवारीसाधनलाई चितवनसम्म जान दिइएको जनाइएको छ । लगातारको वर्षाका कारण विभिन्न सडकखण्डमा थप पहिरो तथा क्षति हुन सक्ने भएकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।







