मकवानपुरका १०२ वटै वडामा एमालेको जागरण अभियान गरिने

हेटौंडा । नेकपा एमालेले पार्टी पंक्तिमा ऊर्जा भर्न, वैचारिक तथा साङ्गठनिक रूपमा सुदृढ बनाउन र कार्यकर्ताको मनोबल उच्च राख्न असोज महिनाभर विशेष जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

अभियानलाई मकवानपुर जिल्लाका १० वटै स्थानीय तह र १०२ वटै वडा तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । समसामयिक राजनीतिक परिस्थितिमा पार्टी सदस्य तथा कार्यकर्ताको मनोबल उच्च राख्दै उनीहरूलाई साङ्गठनिक गतिविधिमा थप सक्रिय बनाउने अभियानको मुख्य उद्देश्य रहेको एमाले जिल्ला अध्यक्ष हिदम लामाले जानकारी दिए ।

लामाका अनुसार अभियानका क्रममा जिल्लाभर विभिन्न भेला, बैठक तथा अन्तक्र्रियात्मक कार्यक्रम आयोजना गरिनेछ । अभियानलाई सफल र व्यवस्थित बनाउन मकवानपुरमा उपलब्ध एमालेका केन्द्रीय सदस्य तथा नेताहरूलाई विभिन्न पालिकाको जिम्मेवारीसमेत तोकिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको जिम्मेवारी केन्द्रीय सदस्य एकलाल श्रेष्ठ, जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य रामेश्वर राना र केन्द्रीय लेखा समिति सदस्य नवीन सिङ्देललाई संयुक्त रूपमा दिइएको छ ।

थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकाको जिम्मेवारी केन्द्रीय सदस्य महेशकुमार बर्तौलालाई तोकिएको छ । बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको संयोजनको जिम्मेवारी केन्द्रीय सदस्य रामेश्वर रानाले पाएका छन् ।

यस्तै, बागमती गाउँपालिकाको जिम्मेवारी केन्द्रीय सदस्य एकलाल श्रेष्ठलाई दिइएको छ भने कैलाश गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको जिम्मेवारी केन्द्रीय सदस्य भारती पाठकलाई तोकिएको छ । मकवानपुरगढी गाउँपालिकामा अभियान सञ्चालन तथा सहजीकरणको जिम्मेवारी नवीन सिग्देललाई दिइएको एमालेले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.