मकवानपुरमा फाष्टट्रयाकको पिकअप भ्यान दुर्घटना, इन्जिनियर र चालकको मृत्यु

default

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित तराई–मधेश द्रुतमार्ग (फाष्टट्रयाक)को पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप (फास्ट ट्रयाकको गाडी) सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान बस्ने करिब ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए ।

बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा चालक रहेको र यादव फास्टट्रयाक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी तथा नेपाली सेनाको काठमाडौं–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो ।

टोलीले गाडीमा सवार दुई जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाएको थियो । बुधबार राति दुर्घटना भए पनि उनीहरुलाई आज बिहान मात्रै हेटौंडा अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव हेटौंडा अस्पतालमै राखिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.