मकवानपुरगढीमा ‘बनाना ह्याण्डमेड पेपर मेकर’ तालिम हुने, आवेदन खुल्ला

मक्राञ्चुली । मकवानपुरगढी गाउँपालिकाले स्थानीय युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले ६५ दिने ‘बनाना ह्याण्डमेड पेपर मेकर’ (केराको थामबाट नेपाली हाते कागज बनाउने) तालिम सञ्चालन गर्ने भएको छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को वार्षिक कार्यक्रम अनुसार यो तालिम सञ्चालन हुन लागेको हो । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै तालिममा सहभागी हुन इच्छुक १८ वर्ष पुरा भएका युवाहरूबाट ७ दिनभित्र आवेदन माग गरेको छ । कुल ३९० घण्टा (६५ दिन) सञ्चालन हुने यस तालिमका लागि चैत १३ गतेदेखि चैत १९ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सकिने प्रमुख प्रशासकीय अधिकृत ई. सुधन लामिछानेले जानकारी दिए ।

तालिममा सहभागी हुन मकवानपुरगढी गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ । आवेदक कम्तीमा सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने र तालिम अवधिभर पूर्ण समय सहभागी हुने प्रतिबद्धता जनाउनुपर्ने सूचनामा उल्लेख छ । निवेदनका साथमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, नेपाली नागरिकताको प्रतिलिपि, विवाहित वा बसाइँसराई गरी आएको हकमा सोको प्रमाण पत्रको प्रतिलिपि र तालिममा पूर्ण समय बस्ने प्रतिबद्धता पत्र बुझाउनुपर्नेछ ।

गाउँपालिकाका अनुसार आवेदन दिनेको संख्या धेरै भएमा अन्तर्वार्ताको माध्यमबाट सहभागी छनौट गरिनेछ । तालिम पश्चात् प्राप्त सीपलाई व्यावसायिक रूपमा सदुपयोग गर्ने सोच भएका र क्षमतावान् युवाहरुलाई विशेष प्राथमिकता दिइने पालिकाले जनाएको छ ।

स्थानीय स्तरमा खेर गइरहेको केराको थामलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी व्यावसायिक उत्पादनमा जोड्न यो तालिम प्रभावकारी हुने विश्वास पालिकाले लिएको छ ।तालिम सञ्चालनको प्राविधिक व्यवस्थापन प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्ले गर्नेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.