मक्राञ्चुली । मकवानपुरगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुलाई अनिवार्य रुपमा बायोमेट्रिक रुजु गराउन आग्रह गरेको छ ।
गाउँपालिकाले सोमबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै बाँकी रहेका लाभग्राहीहरुलाई तोकिएको समयभित्र आफ्नो वडा कार्यालयमा उपस्थित भई रुजु गराउन निर्देशन दिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पत्रानुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा लाभग्राहीहरुको बायोमेट्रिक रुजु नगरी सामान्य तवरले नवीकरण भएको थियो ।
गाउँपालिकाका अनुसार हालसम्म कुल लाभग्राहीमध्ये ७९.२ प्रतिशतले मात्र राष्ट्रिय परिचयपत्र नम्बर मार्फत रुजु गराएका छन् । बाँकी रहेका लाभग्राहीहरुले मिति २०८२ चैत्र १६ गतेदेखि चैत्र ३० गतेभित्र अनिवार्य रुपमा आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा उपस्थित हुनुपर्नेछ । उक्त समयमा सम्बन्धित वडा कार्यालयले प्रणालीमार्फत बायोमेट्रिक रुजु गर्ने व्यवस्था मिलाएको छ ।
रुजु प्रक्रियाका लागि लाभग्राहीले आफैँ सक्कल नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र नम्बर र सामाजिक सुरक्षा भत्ता कार्ड लिएर उपस्थित हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. सुधन लामिछानेले जानकारी दिए । सबैका लागि अनिवार्य भनिए तापनि बालबालिकाहरु, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने पूर्ण अशक्त व्यक्तिहरु र ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुका हकमा बायोमेट्रिक भेरिफिकेसन अनिवार्य गरिएको छैन ।
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन यो कदम चालेको हो । समयमै रुजु नगराएमा आगामी दिनमा भत्ता प्राप्त गर्न कठिनाइ हुन सक्नेतर्फ समेत सरोकारवालाहरुलाई सचेत गराइएको छ ।







