‘बिउ पुँजी’बाट भविष्य रोप्दै मकवानपुरगढी

मक्राञ्चुली । मकवानपुरगढी गाउँपालिकाले विद्यार्थीलाई श्रम र उत्पादनसँग जोड्ने उद्देश्यका साथ सञ्चालित ‘पढ्दै–कमाउँदै’ कार्यक्रमका लागि नयाँ प्रस्ताव आह्वान गरेको छ । पालिकाले चालु आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गर्दै इच्छुक विद्यालयहरुलाई सहभागी हुन सूचना जारी गरेको हो ।

गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई पालिकाको समृद्धिको आधारका रुपमा प्राथमिकता दिएको बताए । उनले भने, ‘निरन्तर कृषि प्राविधिक शिक्षामा लगानी गर्दै आएका छौँ । हाम्रो लक्ष्य भनेको विद्यार्थीले केवल सर्टिफिकेट मात्र होइन, भोलि समाजमा गएर आफैँ उद्यमी बन्न सक्ने सक्षम जनशक्ति र हातमा सीप र गोजीमा दाम सहितको व्यावहारिक शिक्षा प्राप्त गरुन् भन्ने हो ।’

गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस योजनामा सहभागी हुने विद्यालयहरुले उत्पादन सामग्री, कृषि प्रविधि, सिँचाइ र यान्त्रिकीकरणका लागि कुल लागतको ८० प्रतिशतसम्म अनुदान पाउने कृषि विकास शाखा प्रमुख गोपाल लम्सालले जानकारी दिए । उनका अनुसार प्राविधिक शिक्षा अध्यापन गराउने विद्यालयहरुलाई यस कार्यक्रममा विशेष प्राथमिकता दिइनेछ ।

यस वर्ष विनियोजन गरिएको बजेटलाई बिउ पुँजीको रुपमा नविनतम कृषि योजनामा खर्च गरिने पालिकाले जनाएको छ । इच्छुक विद्यालयले पालिकाले तोकेको मापदण्ड अनुसार आफ्नै जग्गाको व्यवस्था गरी कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सक्नेछन् ।

विगतको लगानीः बंशगोपालको लोभलाग्दो प्रगति

पालिकाले करिब ४ वर्षदेखि यस कार्यक्रम अन्तर्गत वडा नं. २ स्थित बंशगोपाल माध्यमिक विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको छ । वि.सं. २० सालदेखि कृषि प्राविधिक शिक्षा सुरु गरेको यस विद्यालयले अहिले आफूलाई एक नमुना केन्द्रका रुपमा स्थापित गर्ने प्रयासमा लागि परेको छ ।

पालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालयले पूर्वाधार विकासमा ३ वटा आधुनिक टनेल, गँड्यौला उत्पादन प्लान्ट र प्राङ्गारिक मल उत्पादन प्लान्ट स्थापना भएका छन् । चालु आर्थिक वर्षमा विद्यालयले ७ क्विन्टल आलु र १० क्विन्टल धान उत्पादन गर्न सफल भएको छ । टमाटर र गँड्यौला मल बिक्रीबाट भएको आम्दानीले विद्यार्थीकै छात्रावास र छात्रवृत्तिमा सहयोग पुगेको विद्यालयले जनाएको छ ।

‘बाख्रा उपहार’ कार्यक्रमअन्तर्गत कक्षा ९ मा भर्ना हुने विद्यार्थीलाई विद्यालयले एउटा बाख्रा उपहार दिने र त्यसको पहिलो सन्तान (पाठा÷पाठी) विद्यालयलाई फिर्ता गर्ने नवीन अभ्यास सुरु गर्ने लक्ष्य विद्यालयले लिएको छ ।

अन्तर्राष्ट्रिय अवसरः इजरायलमा रोजगारी

बंशगोपाल माविले केवल उत्पादनमा मात्र नभई विद्यार्थीको भविष्य सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समन्वय समेत गरेको छ । आरारावा इन्टरनेशनलसँगको सहकार्यमा कक्षा १२ उत्तीर्ण गरेका ५ जना विद्यार्थीलाई प्रत्येक वर्ष इजरायल पठाउने व्यवस्था मिलाइएको छ । हालसम्म ४ जना विद्यार्थी इजरायल पुगिसकेका छन् भने आगामी भदौमा नयाँ समूह पठाउने तयारी भइरहेको प्रधानाध्यापक अनिल कार्कीले जानकारी दिए ।

प्रभावकारिताका लागि सुझाव

यस कार्यक्रमलाई अझै सफल बनाउन प्रधानाध्यापक कार्कीले केही रचनात्मक सुझाव दिएका छन् । ‘हाम्रा विद्यार्थीलाई वडाका कृषि कार्यक्रम र तथ्यांक संकलनमा खटाइयोस्, विद्यालयमै माटो परीक्षण प्रयोगशाला स्थापना गरी सञ्चालनको जिम्मा दिइयोस् र अध्ययन सकिसकेकाहरुलाई उद्यमी बनाउन पालिकाले बिउ पुँजी वा सहुलियत ऋणको प्रबन्ध गरिदेओस्,’ उनले भने, ‘विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा आर्कषण गर्न पालिकाले सहयोग गरिनु आवश्यक छ ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.