मकवानपुरगढीमा अदुवा प्रवद्र्धन कार्यक्रम, ५० प्रतिशत अनुदानमा बिउ

मक्राञ्चुली । मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘अदुवा प्रवद्र्धन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाले वडा नं. ४ का कृषकहरुलाई लक्षित गर्दै यस कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो । प्रदेश सशर्त अनुदान अन्तर्गत सञ्चालन हुन लागेको यस कार्यक्रमका लागि गाउँपालिकाले कुल ४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८२’ बमोजिम छनोट भएका कृषक वा फार्महरुले अदुवाको बिउमा ५० प्रतिशत अनुदान प्राप्त गर्नेछन् ।

यो कार्यक्रम विशेष गरी मकवानपुरगढी गाउँपालिका वडा नं. ४ भित्रका लागि मात्र लक्षित छ । वडा नं. ४ मा दर्ता भई सञ्चालनमा रहेका व्यक्तिगत कृषक तथा कृषक समूह, कृषि सहकारी तथा बहुउद्देश्यीय सहकारीहरु र निजी कृषि फार्म तथा कम्पनीहरुले यस कार्यक्रममा सहभागी हुन आवेदन दिन सक्नेछन् ।

इच्छुक कृषक वा संस्थाहरुले सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३० दिन भित्र अर्थात् २०८२ चैत्र २७ गतेसम्ममा आफ्नो प्रस्ताव दर्ता गराउनुपर्नेछ । आवेदन गाउँपालिकाको कृषि विकास शाखा वा वडा नं. ४ को वडा कार्यालयमा बुझाउन सकिने कृषि शाखा प्रमुख गोपाल प्रसाद लम्सालले जानकारी दिए ।

निवेदनका साथमा आवेदन फारम र समूह/सहकारीको हकमा बैठकको निर्णय, संस्था÷फार्म दर्ता प्रमाणपत्र, नवीकरण, स्थायी लेखा नम्बर र करचुक्ताको प्रतिलिपि ल्याउनु पर्नेछ । त्यस्तै, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि (जग्गा भाडामा भए कम्तिमा ५ वर्षको सम्झौता पत्र) र प्रतिवद्धता पत्र र स्व–घोषणा पत्र समावेश गर्नु पर्ने सुचनामा उल्लेख छ ।

रीत नपुगेका वा म्याद नाघी आएका आवेदनहरु छनोट प्रक्रियामा समावेश नगरिने गाउँपालिकाले स्पष्ट पारेको छ । कार्यक्रमका बारेमा थप बुझ्न चाहनेले गाउँपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न सक्ने सुचनामा उल्लेख छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.