मक्राञ्चुली । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आफ्ना नागरिकहरुको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थालाई मध्यनजर गर्दै निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै विभिन्न कारणले मानसिक तनाव र समस्यामा परेका व्यक्ति तथा परिवारलाई लक्षित गरी यो सेवा सुरु गरेको जानकारी दिएको हो । विशेषगरी वैदेशिक रोजगारीको सिलसिलामा विदेश गई फर्किएका व्यक्तिहरु र उनीहरुका परिवारमा देखिन सक्ने विभिन्न मनोसामाजिक समस्याहरुलाई सम्बोधन गर्न यो कदम चालिएको गाउँपालिकाले जनाएको छ ।
क–कसले लिन सक्छन् सेवा ?
गाउँपालिकाका अनुसार लैििगंक विभेदमा आधारित हिंसा, नसाजन्य पदार्थको सेवन (दुव्र्यसनी), पारिवारिक तथा सामाजिक द्वन्द्व, र आघातजन्य घटनाबाट प्रभावित व्यक्तिहरूले यो सेवा लिन सक्नेछन् । साथै, सामाजिक विभेद र खिसीट्युरीका कारण समस्यामा परेका बालबालिका, वयस्क तथा जेष्ठ नागरिकहरुलाई समेत यस सेवामा समेटिएको छ ।
कुन कुरामा दिइन्छ परामर्श ?
अत्याधिक तनाव, पीर–चिन्ता, डर, दिक्दारीपना, उदासिनता, र आत्महत्याउन्मुख सोच भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइनेछ । यसका साथै खाना वा निन्द्रामा गडबडी हुने, काम्ने, बर्बने, र दैनिक कामकाज गर्न कठिनाइ हुने जस्ता कडा खालका मानसिक स्वास्थ्य समस्या भोगिरहेकाहरुलाई पनि मनोसामाजिक परामर्श प्रदान गरिनेछ ।
यो सेवा पूर्ण रुपमा निःशुल्क रहेको र समस्या भोगिरहेका जोकोहीले पनि सिधै सम्पर्क गर्न सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. सुधन लामिछानेले जानकारी दिए । परामर्शका लागि गाउँपालिकाकी मनोसामाजिक परामर्शकर्ता स्वस्तीका सापकोटालाई मोबाइल नम्बर ९८६५२०५९१६ मा सिधै सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।







