काठमाडौं । मध्यपूर्वको हवाई क्षेत्रमा देखिएको पछिल्लो प्रतिबन्ध र तनावका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।
नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै सुरक्षा र प्राविधिक कारणले उडानहरु ढिलाइ हुने, तालिका परिवर्तन हुने वा रद्द हने उडानको जानकारी दिएको छ ।
खाडी मुलुकहरुबाट नेपाल आउने र यहाँबाट प्रस्थान गर्ने उडानहमा अवरोध देखिएको छ । वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि यात्रा गर्ने यात्रु अन्योलमा परेका छन् ।
प्राधिकरणका अनुसार जजीरा एयरवेज, कुवेत एयरवेज र एयर अरेबियाका निर्धारित उडानहरु पूर्ण रूपमा रद्द गरिएका छन् । फ्लाइ दुबईले आगामी मार्च ७ देखि ११ तारिखसम्मका आफ्ना सबै उडानहरु स्थगित गरेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्ससहित कतार एयरवेज र हिमालय एयरलाइन्सका दोहा तथा दमाम क्षेत्रका उडानहरू समेत रद्द भएको हो । विमानस्थल कार्यालयले यात्रुहरुको व्यवस्थापनलाई सहज बनाउन सम्बन्धित वायुसेवा कम्पनीहरुसँग समन्वय गरिरहेको बताएको छ ।
प्रभावित यात्रुहरुलाई थप जानकारीका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट वा तोकिएको टेलिफोन नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ । हिजो पनि ७ वटा उडान रद्द भएको थियो ।







