२५ फागुन, हेटौंडा । बागमती प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका दुई जनाले मात्रै चुनाव जितेका छन् ।
५ माघमा प्रदेशसभा सचिवालयमा राजीनामा बुझाएर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दिएका ६ जनामध्ये नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवराज दुलाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनिल केसी निर्वाचित भएका हुन् । दुलाल सिन्धुपाल्चोक–२ बाट र केसी काठमाडौं–२ बाट विजयी भएका छ्न ।
दुलालले २१ हजार ६९९ मत ल्याएका थिए । उनी २०७४ र २०७९ मा सिन्धुपाल्चोक २ को (१)बाट प्रदेशसभामा निर्वाचित भएका थिए । दुलाल बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्री भइसकेका छ्न । दुलालसँग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका वंशलाल तामाङले १९ हजार १४६, नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ९२६ र रास्वपाका झलककुमार श्रेष्ठले १४ हजार ९९ मत पाए ।
यस्तै, प्रदेशसभाबाट राजीनामा दिए लगत्तै दल बदलेर प्रतिनिधिसभा निर्वाचन लडेका केसीले ३४ हजार २ सय ३८ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उनले २०७९ को प्रदेशसभा निर्वाचनमा काठमाडौं २ को (१)बाट बागमती प्रदेशकै पूर्वसभामुख नेकपा एमालेका सानुकुमार श्रेष्ठलाई पराजित गरेका थिए । यो निर्वाचन लड्न उनले राप्रपा त्यागेर रास्वपा रोजे ।
प्रदेशसभाबाट राजीनामा दिएका अन्य तीन जना पराजित भए भने एकले चुनाव लडेनन् । नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ तथा नेकपाका बसन्तप्रसाद मानन्धर पराजित भएका हुन् । यी तीनै जना बागमती प्रदेश सरकारमा मन्त्री भइसकेका छन् ।
निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका मास्के काडमाडौं–६ बाट रास्वपाका शिशिर खनाल (२७ हजार ९१६)सँग चुनाव हारे । नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याएर दोस्रो हुँदा मास्के ४ हजार ५१८ मतसहित तेस्रो भए ।
एउटै निर्वाचन क्षेत्र काठमाडौं–७ बाट चुनावी प्रतिस्पर्धा गरेका निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठ र पूर्व खानेपानी, उर्जा तथा सिंचाईंमन्त्री मानन्धर रास्वपाकै गणेश पराजुली (२७ हजार ८०५)सँग हार व्यहोरे । कांग्रेसका प्रमोद हरि हुमागाईं (३९८२) दोस्रो हुँदा ३ हजार ६६७ मत ल्याएका मानन्धर तेस्रो र ३ हजार ५४४ मत श्रेष्ठ चौथोमा खुम्चिए ।
यसैगरी, दोलखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्न प्रदेशसभाबाट राजीनामा दिएका कुन्दनराज काफ्ले नेपाली कांग्रेसले टिकट नदिएपछि चुनाव लड्न पाएनन् । ‘मैले अहिलेसम्म टिकट मागेको छैन् । प्रदेशसभाबाट राजीनामा दिएपछि पार्टीले मलाई टिकट दिनेछ भन्ने विश्वास लिएको छु ।’ काफ्लेले राजीनामा दिएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिएका थिए । उनी पनि बागमती सरकारका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री थिए ।
कांग्रेसले दोलखा–१ मा अजयबाबु शिवाकोटीलाई उठाएको थियो । त्याहाँ रास्वपाका जगदिश खरेल ३२ हजार ३७६ मतसहित विजयी भएका छन् । १२ हजार २९८ मत ल्याए पनि शिवाकोटी चौथो हुन पुगे । एमालेका पार्वत गुरुङ (१७४४९) दोस्रो र नेकपाका विशाल खड्का (१३०६५) तेस्रो भएका थिए ।







