हेटौंडा । नेपाली कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’को जनताबाट प्रत्यक्ष अनुमोदनको सपना अधुरै बनेको छ ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतमसँग भारी मतान्तरले पराजित भएसँगै जनअनुमोदनको पाँचौ प्रयास उनका लागि प्रतिकुल बन्न पुग्यो । समानुपातिकबाट संविधानसभा सदस्य बन्दा जलश्रोत राज्यमन्त्री भएकी उनी प्रत्यक्ष चुनाव जितेर संसद प्रवेश गर्न चाहान्थिन् ।
रास्वपाका गौतमले ३६ हजार ३३ मत ल्याएर विजयी हुँदा डिनाले १४ हजार ३८ मतमै चित्त बुझाइन् । कम्युनिस्ट गढ मानिने मकवानपुरमा डिनाले २०४८ को आमनिर्वाचन र २०५१ को मध्यावधि हारिन् । त्यसपछि २०६४ र २०७० मा समानुपातिकबाट संविधानसभा प्रवेश गरेकी उनी २०७४ र २०७९ मा जनताबाट प्रत्यक्ष निर्वाचित हुन चाहन्थिन् ।
‘डिना’लाई विगतका चार वटा निर्वाचन पनि प्रतिकूल बने । डिनाले २०४८, २०५१ र २०७४ को निर्वाचनमा मकवानपुर–२ बाट नेकपा एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडासँग पराजित भइन् । २०७९ मा निर्वाचन क्षेत्र फेरेर १ नम्बर पुगेकी उनी नेकपा माओवादीसँगको गठबन्धन हुँदा पनि राप्रपाका दीपक सिंहसँग हार बेहोरिन् ।
‘म दुई पटक नेपालको संविधान निर्माणको लागि संविधानसभा सदस्य भएँ । संविधान लेख्ने प्रक्रियामा सामेल भएर संविधान, कानुन बनाइसकेँ, अब जनताको सेवा गर्छु भनेर म विगतमा आएको थिएँ । त्यतिबेला पराजित भएँ, फेरि जनताबाटै चुनिन आएको छु,’ उनले मनोनयन दर्ता गरेपछि भनेकी थिइन्, ‘सधैं जनताकै लागि काम गर्छु भन्ने एउटा चाहना थियो । त्यो चाहना पूरा गर्न आएकी हुँ ।’ तर उनको प्रत्यक्ष चुनिने सपना अधुरै भएको छ ।
विगतमा गठबन्धन भएकाले यति धेरै भोटले जितिहाल्छु भन्ने ‘ओभर कन्फिडेन्स’ले पराजित हुनु परेको बताउने डिना कांग्रेस एक्लै चुनावमा रहेको र सबैको घरसम्म पुग्ने मिहिनेतले आफू जित्नेमा उनी विश्वस्त देखिन्थिन् । कांग्रेस मकवानपुरका सचिव भिमसेन महत भने दलले विगतमा ल्याएको उपलब्धी र विकासका कुरा नयाँ पुस्तालाई बुझाउन नसक्नु र रास्वपाको लहरले पराजित हुनुपरेको बताउँछन् ।
डिना २०६४ को संविधानसभा निर्वाचनमा सामानुपातिक कोटाबाट पहिलो पटक संसद् प्रवेश गरेकी हुन् । समानुपातिक सांसद भएकै बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी जलस्रोत राज्यमन्त्रीसमेत भइन् ।
२०२१ सालमा चितवनमा जन्मिएकी डिनाको परिवार नै राजनीतिक थियो । २०३९ मा काठमाडौं, बागबजारको पद्मकन्या क्याम्पसमा भर्ना भएपछि डिना खुलेरै नेविसंघको राजनीतिमा लागिन् । २०४२ को सत्याग्रह आन्दोलनका क्रममा शैलजा आचार्यसँगै ७ महिना जेल परिन् । २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी डिना त्यसपछि २०४७ देखि २०५७ सालसम्म नेपाल महिला संघ, मकवानपुर सभापति रहिन् ।
२०५९ सालमा पार्टी विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य भइन् । एकीकृत कांग्रेस पार्टीको चौधौं महाधिवेशनबाट डिना सहमहामन्त्रीमा विजयी भएकी थिइन् ।







