काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा आचारसंहिता विपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेशबाट निर्वाचन सुरक्षामा खलल पुर्याउन खोज्नेहरूलाई पक्राउ गरिएको हो । यसरी पक्राउ पर्नेहरुमा बागमती प्रदेशबाट सबैभन्दा बढी ७ जना रहेका छन् भने मधेश र सुदूरपश्चिमबाट ४–४ जना, कोशी र गण्डकीबाट ३–३ जना तथा काठमाडौँ उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशबाट १–१ जना रहेका छन् ।
निर्वाचनलाई भयरहित बनाउन र सुरक्षा चुनौतीको सामना गर्न प्रहरीले मतदानका दिन कडा निगरानी बढाएको थियो । सुरक्षा व्यवस्थालाई थप कडा बनाउने क्रममा प्रहरीले अनुमति बिना चलाइएका २ हजार ५ सय ९७ वटा सवारी साधनहरुलाई पनि होल्ड गरेको छ । जसमा २ हजार ३ सय ५१ वटा दुई पाङ्ग्रे र २४६ वटा चार पाङ्ग्रे सवारी साधन रहेका छन् ।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ८ सय ८७ र काठमाडौँ उपत्यकामा ८ सय ३० वटा सवारी साधन नियन्त्रणमा लिइएका छन् । यसैगरी, काठमाडौं उपत्यकाका दुई स्थानसहित देशभरका १५ ठाउँमा शंकास्पद वस्तुहरु फेला परेका थिए । ती वस्तुहरुलाई सुरक्षित रुपमा डिस्पोज गर्न नेपाल प्रहरीले नेपाली सेनासँग आवश्यक समन्वय गरी निष्क्रिय पारेको छ ।







