मकवानपुरमा ५९ प्रतिशत मतदान, शुक्रबार बिहानबाट मतगणना
हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा गरेर ५९ प्रतिशत मतदान भएको छ ।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा मकवानपुरमा रहेका कुल ३ लाख १५ हजार ४ सय ३४ मतदातामध्ये ५९ प्रतिशत अर्थात् करिब १ लाख ८६ हजार ५ सय ५१ मत खसेको हो । जसमध्ये ९६ हजार ६ सय ३४ पुरुष, ८९ हजार ९ सय १२ महिला र अन्य ५ जनाले मतदान गरेको श्रेष्ठले जानकारी दिइन् ।
२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा ४७ हजार ६ सय ७० पुरुष, ४७ हजार ६ सय ३६ महिला र अन्य ४ जना गरी कुल ९५ हजार ३ सय १० जनाले मत हालेका थिए । त्यसैगरी क्षेत्र नम्बर २ मा ९१ हजार २ सय ४१ मत खसेको थियो । जसअन्तर्गत ४८ हजार ९ सय ६४ पुरुष, ४२ हजार २ सय ७६ महिला र अन्य १ जनाले मतदान गरेका थिए ।
मतदान जिल्लाभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताईन । मतदान सम्पन्न भएसँगै अहिले जिल्लाभरका मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भइरहेको छ । हेटौंडा उपमहानगरपालिकाभित्रका मतदान केन्द्रका मतपेटिका मतगणना स्थल भुटनदेवी माध्यमिक विद्यालयमा ल्याउने क्रम जारी रहेको छ भने अन्य स्थानका मतपेटिका पनि आजै ल्याइने बताइएको छ ।
भौगोलिक अवस्थाका कारण मकवानपुरको राक्सिराङ, बकैया गाउँपालिका लगायतका केही मतदान केन्द्रका मतपेटिका भने छिमेकी जिल्लाको सडक प्रयोग गरेर ल्याउनुपर्ने अवस्था रहेको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार क्षेत्र नम्बर–१ अन्तर्गत पर्ने बकैया गाउँपालिकाका तीन मतदान केन्द्रका मतपेटिका बारा र रौतहट हुँदै मतगणना स्थल ल्याइनेछ ।
बकैया–१ स्थित सरस्वती माध्यमिक विद्यालय मोरङे र वडा नम्बर–२ को बालविकास निमावि सरस्वती भमरा मतदान केन्द्रका मतपेटिका रौतहटको चपुर हुँदै ल्याइनेछ । त्यस्तै बकैया–६ स्थित राष्ट्रिय कालिका प्राथमिक विद्यालयको मतपेटिका बारा जिल्लाको निजगढ हुँदै ल्याइने निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए ।
यसैगरी, क्षेत्र नम्बर(२ अन्तर्गत पर्ने राक्सिराङ गाउँपालिकाका चार मतदान केन्द्रका मतपेटिका चितवन हुँदै ल्याइदैछ । वडा नम्बर–६ का राष्ट्रिय माध्यमिक विद्यालय सिलिङे र आयुर्वेद औषधालय सिलाधुनी, वडा नम्बर–७ का सातकन्या आधारभूत विद्यालय र दाम्राङ प्राथमिक विद्यालय तथा वडा नम्बर–८ स्थित ठूलो तोड्के मावि मतदान केन्द्रका मतपेटिका चितवनको राप्ती नगरपालिका–भण्डारा हुँदै मतगणना स्थल ल्याइनेछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिका संकलन गरी शुक्रबार बिहान ७ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको अधिकृत श्रेष्ठको जनाएकी छन । उक्त सर्वदलीय बैठक सम्पन्न भएलगतै मतगणना सुरु गरिनेछ ।
मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना स्थल भुटानदेवी माविलाई तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविको दुईवटा ब्लकमा मतगणना गर्ने गरी तयारी गरिएको र सोही अनुसार मतगणना स्थलको सुरक्षा व्यवस्था मिलाइएको उनले बताइन् ।
मतगणना स्थलमा सीसीटीभी क्यामेरा सहित तार जाली लगाइएको छ । मुख्य निर्वाचन अधिकृत श्रेष्ठका अनुसार मकवानपुर–१ को मतगणना भुटनदेवी माध्यमिक विद्यालयको उत्तर तर्फको भवन (ब्लक ए) मा गरिनेछ भने मकवानपुर–२ को मतगणना सोही विद्यालयको (ब्लक बी) मा गरिनेछ । मकवानपुरमा कुल ४४ जनाको उम्मेदवारी परेको थियो ।







