बलिया महेशको बढ्दै शक्ति, एमालेमै फर्किए समाजवादीका नेता

हेटौंडा । नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएका पश्चिम मकवानपुरका नेताहरु नेकपा एमालेमा फर्किएका छन् ।

उनीहरुको आगमनसँगै अघिल्लो पटक नेकपा एसकै उम्मेदवार विरोध खतिवडालाई पारजित गरेका नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाको मतमा अझै शक्ति बढेको छ ।

चार वर्षअघि एमाले छाडेर पश्चिम मकवानपुरमा धेरै मतदाता भएको मनहरी गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नारायण श्रेष्ठ नेकपा एमालेमा फर्किएका छन् । चार वर्षपछि उनी दलबलसहित एमालेमा फर्कँदा नेकपा एकीकृत समाजवादीका त्यतिखेरका सबै नेताहरु फर्किइसकेका छन् ।

मनहरी गाउँपालिका वडा नम्बर ६ भुलचोकस्थित पार्टी कार्यालयमा आयोजित ‘घर फर्क’ कार्यक्रममा श्रेष्ठसहित ७० जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका श्रेष्ठले १ हजार ६ सय १४ मत प्राप्त गरेका थिए ।

लामो समयदेखि विद्यार्थी र युवा राजनीतिमा संलग्न भई पार्टीको मूल नेतृत्वमा पुगेका श्रेष्ठ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष थिए । श्रेष्ठ पार्टी विभाजनसँगै ठूलो संख्यामा नेकपा एकीकृत समाजवादीतर्फ लागेका थिए ।

श्रेष्ठलाई घरफर्क अभियानमार्फत पार्टीमा जोडाउन एमाले केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेशकुमार बर्तौला, बागमती प्रदेश कमिटी सदस्य तथा निर्वाचन परिचालन कमिटीका मनहरी संयोजक एकराज उप्रेती, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटी सचिव हिदम लामालगायतका नेताहरुले प्रयास गरेका थिए ।

पार्टी फर्केपछि श्रेष्ठले भने, ‘फुटले पार्टीको हित नभएको र स्थानीय सरकारमा शून्य उपस्थिति हुँदा जनतासँग पार्टी टाढिने अवस्था बनेको थियो, अब नेकपा एमाले मनहरीमा फेरि बलियो हुनेछ ।’

नेकपा एमाले ६ नं वडा कमिटी अध्यक्ष गोपीलाल मुक्तानको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर क्षेत्र नं २ का उम्मेदवार महेशकुमार बर्तौला, नेताहरु एकराज उप्रेती, हिदम लामालगायतले बोलेका थिए ।

अधिकांश नेताहरु एमालेमा फर्किए

यसअघि नै मनहरी गाउँपालिकाकी उपाध्यक्ष एवम् नेकपा एकीकृत समाजवादीबाट फेरि मनहरी गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेकी मनिला विष्ट एमालेमा फर्किएकी छन् ।

मनहरी गाउँपालिकाका नेकपा एकीकृत समाजवादीका नेताहरु वीरेन्द्र डिसी, शिवकुमार काशीलगायतका अधिकांश नेताहरु एमालेमै फर्केर क्रियाशील छन् ।

संविधानसभा सदस्य नै एमालेमा फर्किए

पश्चिम मकवानपुरको मनहरीकै पूर्वगाविस अध्यक्ष एवम् संविधान सभा सदस्य राजाराम स्याङ्तान पनि नेकपा एमालेमा फर्किएका छन् ।

उनी रामकुमार झाँक्री, कृष्णकुमार श्रेष्ठ किसानसँगै घर फर्क अभियानमा फर्केपछि एमालेको मकवानपुर–२ निर्वाचन क्षेत्र परिचालन कमिटीमा सक्रिय छन् । उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर सहइञ्चार्ज थिए ।

यस्तै, पश्चिम मकवानपुरकै राक्सिराङका पूर्वउपाध्यक्ष एवम् संविधान सभा सदस्य गोविन्दराम चेपाङ पनि नेकपा एमालेमा फर्किएका छन् । उनी पनि उम्मेदवार महेश बर्तौलाको चुनावी प्रचार अभियानमा केन्द्रीय सदस्य भारती पाठकसँगै सरिक छन् । उनीसँगै समाजवादीमा गएका अधिकांश चेपाङ नेताहरु एमालेमा फर्किएका छन् ।

राक्सिराङको घैयाबारीमा भएको मतदाता भेटघाट कार्यक्रममा एमालेका उम्मेदवार बर्तौलाले भनेका थिए, ‘अघिल्लो निर्वाचनमा मलाई हराउन विरोध खतिवडाका चुनावी कमाण्डर भएर हिँडेकाहरु सबै अहिले मसँग हुनुहुन्छ, यसपटक मेरा लागि यो ठूलो उपलब्धी हो ।’

उनले २०७९ को निर्वाचनमा गठबन्धन उम्मेदवार विरोध खतिवडाको चुनावी अभियानका कमाण्डरहरु राजाराम स्याङ्तान, गोविन्दराम चेपाङ, रामकुमार एलन यसपटक नेकपा एमालेमा समाहित भएर मदत गरिरहेकाले पनि मकवानपुर–२ मा एमाले बलियो बनिरहेको बताएका थिए । ‘उहाँहरु सबैले मलाई कमजोर बनाउन सक्दो लाग्नु भएको थियो,’ उनले भने, ‘यसपटक उहाँहरु सबै एमालेमा फर्कनु भएको छ, यो एमालेको पुँजी हो ।’

२०७९ को निर्वाचनमा गठबन्धन उम्मेदवार खतिवडालाई ४ हजार ५ सय २० मतले पछाडि पार्दै विजयी बनेका बर्तौला यसपटक समाजवादीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्केपछि थप मदत पुगेको बताउँछन् ।

एमाले नेता गोविन्दराम चेपाङले भने, ‘कम्तीमा पनि समाजवादीका ५ हजार भन्दा बढी मत अब एमालेका लागि थपिने देखिएको छ ।ु २०७९ को निर्वाचनमा बर्तौला ३४ हजार ९ सय १६ मतले विजयी भइरहँदा गठबन्धन उम्मेदवार खतिवडाले ३० हजार तीनसय ९६ मत पाएका थिए ।

तर समानुपातिकमा भने कांग्रेस र माओवादीले आआफैँलाई मतदान गर्दा समाजवादीलाई मकवानपुर २ मा जम्मा २ हजार ५ सय ८० मत मात्रै आएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.