हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तालिम प्राप्त निर्वाचन प्रहरीको भूमिकाको सम्बन्धमा नमुना अभ्यास (डेमो) गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयमार्फत तालिम लिएका निर्वाचन प्रहरीको तालिम समापन, नमुना अभ्यास तथा अन्तरक्रिया कार्यक्रम हेटौंडा–४ हुप्रचौरमा सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्वाचनका समयमा निर्वाचन प्रहरी कसरी परिचालित हुने भन्ने विषयमा भूमिका सहित नमुना मतदान केन्द्र निर्माण गरी अभ्यास गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेश निर्वाचन अधिकारी हरि ढकालले निर्वाचन प्रहरीको व्यवहारले मतदान केन्द्रमा खटिने सबैको प्रतिनिधित्व गर्ने भएकाले विनम्र र जिम्मेवार भएर कर्तव्य पालन गर्न आग्रह गरे ।
समय कम भएपनि उच्च मनोबलका साथ तोकिएको आचारसंहिताभित्र रहेर काम गर्नुपर्ने उनको भनाइ थियो । मतदानमा खटिने कर्मचारी र निर्वाचन प्रहरीको दायित्व समान हुने उल्लेख गर्दै जिम्मेवारी बोधकासाथ कार्य गर्न उनले आग्रह गरे ।
निर्वाचन प्रहरीलाई तलबबाहेक तीनदिनको भत्ता पनि उपलब्ध गराइने उनले जानकारी दिए । ‘एकजना कर्मचारीले गर्ने व्यवहारका कारणले मतदान केन्द्रको सम्पूर्ण निर्वाचन व्यवस्थापनमा असर पर्ने भएकाले आफूले के गर्न हुने र के गर्न नहुने विषयमा ख्याल राख्नुहोला,’ उनले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले ४० दिनको अवधिलाई अवसरकारुपमा लिएर सेवागर्न आग्रह गरेका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्न आग्रह गर्दै उनले निर्वाचन प्रहरीको मुख्य दायित्व मतदातालाई भयमुक्त वातावरणमा मतदान प्रक्रियामा सहभागी गराउनु रहेको उल्लेख गरे ।
निर्वाचन प्रहरीको सुरक्षाको जिम्मेवारी राज्यको भएको भन्दै ढुक्क भएर कर्तव्य पालन गर्न उनले अनुरोध गरे । उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरीलाई सम्मान गरिने पनि उनले बताए । निर्वाचनमा खटिने निर्वाचन प्रहरीले समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था रहेको जानकारी गराउँदै प्रजिअ अधिकारीले दल विशेषको प्रचारप्रसार भने गर्न नपाइने बताएका छन् ।
निर्वाचन प्रहरीलाई पोसाकको दुरुपयोग हुने काम नगर्न आग्रह गर्दै उनले मतदाता शिक्षा बाहेक अन्य प्रकारका भिडियो बनाउन नपाउने बताए । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरीउपरीक्षक श्यामबहादुर खत्रीले निर्वाचन प्रहरीलाई पनि अन्य प्रहरी सरह नै व्यवहार गरिने भएकाले नागरिकमैत्री व्यवहार गर्नुपर्ने स्पष्ट पारेका छन् ।
उनले भने, ‘प्रहरीको पोसाक लगाएर आएपछि तपाईंहरु नागरिक होइन, यो समयमा तपाईंहरु निर्वाचन प्रहरी हो, तपाईंहरुले गर्ने व्यवहार नागरिक र लै·िकमैत्री हुनुपर्छ ।’ निर्वाचन प्रहरीलाई पनि अन्य प्रहरी कर्मचारी सरह नै व्यवहार हुने भएकाले केही गुनासो भए प्रहरी नायवउपरीक्षकलाई सम्पर्क गर्न सकिने उनले जानकारी दिएका छन् ।
मकवानपुरमा निर्वाचनका लागि नेपाल प्रहरीतर्फ १ हजार ९ सय २३ जना र सशस्त्र प्रहरीतर्फ १ सय ७९ जना गरी कुल २ हजार १ सय २ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । उनीहरुलाई जिल्लाका १० स्थानमा १० दिने तालिम दिइएको थियो । तालिममा सुरक्षाकर्मीको भूमिका, आचारसंहिता तथा अनुशासन सम्बन्धी विषयमा प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा तालिम लिनेहरुको तालिम समापन मंगलबार हुप्रचौरमा गरिएको हो भने अन्य इलाकामा तालिम लिनेहरुको तालिम आफ्नै तालिमस्थलमै गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि आवश्यक निर्वाचन प्रहरीलाई हेटौंडा–४ हुप्राचौर, भुटनदेवी मावि चौर, इलाका प्रहरी कार्यालय पालुङ, फापरबारी, मनहरी, ठिङन, मकवानपुरगढी, हेटौंडा सानोपोखरा तथा पशुपतिनगरमा तालिम दिइएको थियो ।
यसैगरी सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौंडाले हेटौंडा औद्योगिक क्षेत्रभित्रै तालिम दिएको थियो । माघ १८ गतेदेखि माघ २७ गतेसम्म आधारभूत तालिम लिएका निर्वाचन प्रहरीलाई घरपायक पर्ने गरी बुधबारदेखि नै कार्यक्षेत्रमा परिचालन गरिने बताइएको छ ।
४० दिनका लागि भर्ना गरिएका उनीहरुले प्रहरी जवानसरह तलब तथा राशन सुविधा पाउनेछन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।







