मकवानपुरका ४५ जनाले अझै बुझाएनन् हतियार

हेटौंडा । फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रह अनुसार सोमबारसम्म १५ जनाले मात्र इजाजत प्राप्त निजी हतियार प्रहरीलाई बुझाएका छन् ।

जिल्ला प्रहरी मकवानपुरका अनुसार जिल्लाभर ६० जनाले हतियार राख्ने अनुमति लिएका छन् । अनुमति लिएर हतियार राखेकामध्ये अझै ४५ जनाले बुझाउन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए ।

निर्वाचन सकिएपछि चैत २० गते ती हतियार सम्बन्धित धनीलाई नै फिर्ता गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तोकिएको समयमा हतियार नबुझाउनेलाई कारबाही गरिने डीएसपी बोगटीले बताए । जिल्ला प्रशासन कार्यालय मकवानपुरले माघ अन्तिमसम्म आफुसँग भएका हतियार बुझाउन सार्वजनिक सूचना गरेको थियो ।

निर्वाचन सुरक्षाका लागि मकवानपुरमा करिब ४ हजार सुरक्षाकर्मी र २ हजार १ सय २१ जना निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीका आधारमा १६७ मध्ये १९ मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ। विशेषगरी राक्सिराङ, बकैया र बागमती गाउँपालिकाका क्षेत्रका केही मतदानस्थलाई सुरक्षाको दृष्टिकोणले बढी निगरानीमा राखिएको छ।

यस्तै, ६० मतदानस्थल ‘संवेदनशील’ र ८८ वटा सामान्य सूचीमा रहेका छन्। दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र छन् । मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.