सामान्य नारी कसरी सुरक्षित हुन सक्छिन ?

मीनाकुमारी लामा 
महिला भएर जन्मनु जति गर्व छ । नेपाली समाजमा महिला भएर बाच्नु त्यति कठिन पनि छ । अझ जेनजी आन्दोलनपछि मैले नेपाली समाजको वास्तविक अनुहार देखेको अनुभव गरेकी छु । मैले हेटौडा उपमहानगरपालिकाको क्षेत्राधिकारको कुरा गर्दै हरेक नगरले पहिलो प्राथमिकता आफ्ना नगरवासीलाई दिन्छ । यसै कारण सबैले आआफ्नो नगरलाई झकझाकाउनु पर्छ मात्रै के भनेकी थिएं । मलाई मधेश प्रदेशको विरोधी बनाएर अनेक गरियो । अहिलेलाई मै गलत भइदिन्छु भनेर दुई पटक माफी मागे मेरो माफीले के मान्थ्यो ।

‘फेसबुक र ह्वाट्स याप’ का इनबक्समा मलाई बलात्कार गर्ने धम्कीका सूचनाहरू मैले पढि नसक्नुका थिए । अनि राति राति फोन गरेर एक पटक भेटेर बसेर घटनाबारेको विवाद टुङ्याउने प्रस्ताव कतिकति ! हर कुनै वडाले पहिला आफ्नो वडा बनाउने जिम्मा लिन्छ, त्यस्तै नगरले पहिला आफ्नो नगर बनाउछ । त्यसपछि अन्य नगरलाई साथ सहयोग गर्ने हो । मेरो व्यक्तिगत कुरा गर्दा आज पनि दर्जन बढी बालबालिकालाई सहयोग गरेकी छु । पढाएकी छु । ती मधेश, पहाड या हिमाल जहाँका पनि छन् । तर सरकारी निकायको नियम कानूनको वस्तै नगरी बोलेर मात्रै काम गर्न सकिन्न् । मैले हल्लाको पछि नलागी शान्त भएर वास्तविक कुरा गर्दा यसरी लखेटियो कि मलाई बलात्कार गरेपछि हेटौडाका केही युवाहरू शान्त हुनेवाला थिए ।

मेरो नजिक बनेर मबाट जायज–नाजायज फाइदा लिन खोज्दा नसकेर हैरानी खेपेका ( मेरो पर्दा पछाडि बसेर मलाई बलात्कृत बनाउन खाजेका तथाकथित) हरूले कलिला किशोरकिशोरीहरू प्रयोग गरेको देख्दा नेपाली तथाकथित सचेत पुरूषको कुरूप अनुहार छर्लङ्ग देखे । जेनजी आन्दोलनपछि मैले भोगेको पीडाका आधारमा म ठोकेर भन्न सक्छु नेपाली कुनै पनि महिल सुरक्षित छैनन् । असुरक्षाका लागि सबै पुरूषहरू राक्षस बन्नु नपर्ने रहेछ । बहुमत सज्जन पुरूषकै अगाडि नेपाली महिला खुलेयाम बलातकृत हुन सक्ने रहिछन् । एउटा उपमहानगरपालिकाको प्रमुखलाई बलात्कार गर्ने धम्कीका सन्देश निरन्तर आउनु र सार्वजनिक रूपमा समेत सामाजिक सञ्जालमा लेख्नुले यो समाजमा सामान्य नारीहरू सुरक्षित छ्न त ?

यही समयमा हेटौँडा उपमहानगरलाई महिला मैत्री सहर घोषणा गर्नका लागि केही काम हुँदैछन् । मनमा उदासी पन र उमंग दुवै खेलिरहेका छन् ।
महिला मैत्री सहर घोषणा गर्नका लागि यही कात्तिक महिना १८ गते सहयोगी दाता संस्था युएनओपीएससँग सम्झौता गरिरहँदा मलाई बलात्कार गर्ने चाहना राख्दै सन्देश पठाउने ती युवाहरूलाई झलझली सम्झिरहेकी छु । यो उपमहानगरपलिका महिला मैत्री सहर घोषणा भएसँगै एउटी महिला (अझ नगर प्रमुख) ले बलात्कारको धम्की सहनु पर्ला कि नपर्ला ? एउटी महिला (नगर प्रमुख) ले गल्ती गरिछिन् भने उनीमाथिको सजाय बलात्कार ( अझ बजारमा ल्याएर सामुहिक) होला कि अन्य कानुनी सजाय होला ?

मन भारी बनेको छ । तथापि एउटा मह्त्वपूर्ण काम हेटौडा उपमहानगरपालिका भित्रका आमा र दिदीबहिनीका लागि भएको छ । यो महत्वपूर्ण कार्यमा युएनओपीएसका कन्ट्री डाइरेक्टर कोमल कार्की, सरोज दाहाल र सम्पदा थापाप्रति हार्दिक आभार प्रकट गर्दछु । यसैगरी यो कार्यको सम्झौतामा सकृय रहनुभएका वडा नं.८ का अध्यक्ष राम थापा र वडा ४ का अध्यक्ष नवीन सिग्देल लगायत वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, इन्जिनियर बिनित ओझा लगायत नगर कर्मचारी । सरोकारवाला निकायहरू र नगरका प्रबुद्घ व्यक्ति,सञ्चारकर्मी सबैमा हार्दिक आभार धन्यवाद ।

फेरि पनि भन्छु, एउटी नारी बलात्कृत हुन जन्मएकी होइन । एउटी नारीको उपयोगिता यौन होइन । एउटी नारीले गरेको गल्तीको सजाय बलात्कार होइन । एउटी नारीलाई बलात्कार मात्रै सोच्ने पुरूष (युवा)ले आफ्नो आमा,दिदीबहिनी,छोरी पनि सम्झनुस् ।
सहरलाई महिला मैत्री घोषणाा गर्नु ठूलो कुरा भएन नगरात्मक चिन्तनलाई सकारात्मक घोषणा गराउनु चुनौतीको कुरा हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.