राज्यविहीनता र समाजको अपहेलनामा परेको वादी समुदाय

केशव वादी (नेपाली) 

वादी समुदाय, नेपालकोे दलित समुदायभित्र पनि अति पिछडिएको दलित, अछुत अपहेलित तथा शोषणमा पारिएको अल्पसङ्ख्यक सीमान्कृत समुदाय हो । सम्मानित तथा गौरवमय इतिहास भएको यस समुदाय कालान्तरमा आएर विभिन्न प्रकारका सामाजिक जातीय विभेद लान्छाना भेदभाव बाध्यात्मक यौन शोषण, राज्य तथा समाजले यस समुदायप्रति हेर्ने नकारात्मक तथा हेयभाव रूपी दृष्टिकोणका कारण वादी समुदाय सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक राजनीतिक रूपमा पछि पारेको छ । साथै विभिन्न अवसरबाट बञ्चितिकरण शोषणमूलक श्रम, उत्पादनका स्रोत साधनको पहुँचबाट टाढा, गरीबी, बेरोजगारी, भूमिहीन, बसाइँसराइ, घुमन्ते फिरन्ते जीवनयापन भएकै कारण राज्य विहिनताको अवस्थामा रहेको छ । विभिन्न समस्याका बावजुद यो समुदाय समाजमा बामे सर्दै अगाडि बढ्दै गरेको देखिन्छ । तापनि केही अविवाहित महिलाहरू (करिब ५ प्रतिशत ) बाध्यात्मक यौन शोषणमा संलग्न भएको कारण पूरै वादी समुदायलाई यौन पेशा अर्थात वेश्यावृत्ति गर्ने समुदाय भनी कलङ्कित र समाजमा भेदभाव पूर्ण हेय लान्छानायुक्त व्यवहार गरी पछाडि पारिएको छ ।

वादी समुदाय भारतको वैशाली क्षेत्रबाट नेपाल आएको अनुमान गरिएको छ (मजगैया २०५६) उनीहरूको तर्कमा शक्तिशाली मगध राज्यको आक्रमणबाट परास्त भएर लिच्छिवीहरू नेपाल पसेका र उनीहरूसँगै १४ औँ शताव्दीमा नेपालको सल्यान जिल्लामा आएर बसेको पाइन्छ । तत्कालीन राजाहरूलाई नाचगानद्वारा मनोरन्जन प्रदान गर्न देशका विभिन्न क्षेत्रमा फैलिएको र बसाँइसराइको माध्यमबाट विभिन्न क्षेत्रमा बसोबास गरेको पाइन्छ । २०६८ को जनगणना अनुसार वादी समुदायको जनसंख्या ३८ हजार ६ सय ३ रहेकोमा २०७८ को जनगणनामा यो संख्या घटेर ११ हजार ४ सय ७० मात्र रहेको देखाइएको छ । यसबाट के देखिन्छ भने यस समुदायलाई खासै महत्व नदिएको र जनगणना लिँदा नै केही त्रुटि भएको वा भेदभाव गरिएको पाइन्छ । यस समुदायको अनुमानित जनसङ्ख्या ७० देखि ८० हजार रहेको र देशको ७३ जिल्लामा फैलिएता पनि लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका जिल्लाहरूमा यसको जनघनत्व बढी भएको पाइन्छ । (कमिट नेपालको सर्वेक्षण २०७६)

वादी समुदायको सम्मानित र गौरवमय इतिहास
भनिन्छ इतिहास जित्नेहरूको मात्र लेखिन्छ । यसले के देखाउँछ भने इतिहास पक्षपाती हुन्छ किन भने यसले सधैँ शक्तिशाली तथा शासकहरूकै क्रियाकलाप, कामको लेखाजोखा गर्ने गर्दछ । वादी समुदाय सधै उत्पीडित, शासित वन्चितिकरण र राज्यविहिन भएकोले यसको सम्मानित र गौरवमय इतिहास हुँदाहुँदै पनि उनीहरूको योगदान इतिहासमा लेखिएन । विभिन्न भनाइ अनुसार वादीको कन्या केटीलाई विवाह चाड पर्व विभिन्न पूजापाठहरूमा नचाएमा शुभ हुने र अगाडि नचाएर जन्ती प्रस्थान गरेमा शुभमुर्हत हुने भन्ने विश्वास रहेको छ । तत्कालीन बाइसे चौबीसे भुरे टाकुरे राजाहरूको दरबारमा वादी महिलालाई नचाएर मनोरन्जन लिने गरिन्थ्यो । जसले वादी समुदायमा भएको नाच गानको सीपले ठूलो सम्मान र गौरव पाएको देखिन्छ ।

वादी समुदायको अर्थ बाध्यवादनसँग सम्बन्धित भएको उल्लेख छ । बाध्यवादनका साधनहरू बनाउने, बजाउने, सुरिलो आवाज निकाल्ने भएकाले नै बाध्यवादनका शब्दबाट ‘वादी’ रहन गएको हो भन्ने भनाइ छ । यस समुदायमा अद्वितीय र अतुलनीय रूपमा रहेका कत्थक, कजरी, कवाली, ठुम्री, मुजरा द्वारीचार गथ र विभिन्न रासलीला (सामूहिक नृत्य, प्रेमपूर्ण नृत्य ) ढोटा मारुनी नृत्य निकै प्रसिद्ध रहेका छन् । यस्ता नाच नाच्ने केही वादी महिला पुरुषले तत्कालीन राजा रजौटाहरूबाट विभिन्न बक्सिस पुस्कार पाएको भए पनि कला संस्कृतिको धनी एवं नाचगान, कला संगीतका आविष्कारक वादी समुदायको इतिहास लखिएन किनकि यो समुदाय समाज र राज्यको अवहेलनामा परेको समुदाय हो ।

बाध्यात्मक यौन र अवहेलनाको शुरुआत
कमिट नेपालले २०७६ सालमा गरेको सर्वेक्षण तथा विभिन्न अध्ययन प्रतिवेदनका अनुसार २००७ साल अघिसम्म यस समुदायका महिलाहरूले राजा रजौटा, भुरे टाकुरे, जिम्मवाल, मुखिया शासकहरूको घरमा नाचगान गरी मनोरञ्जनप्रदान गर्ने र आफ्नो जिविकोपार्जन गर्ने गरेको उल्लेख छ । यो अवधिमा यस समुदायलाई सम्मानपूर्वक हेर्ने गरेको पाइन्छ जसले गर्दा यी युवतीहरूलाई देवी, दुर्गा, मेनका उर्वशी जस्ता नामले सम्बोधन गरी आदर गरेको पाइन्छ । २००७ सालसम्म नगन्य रूपमा केही अविवाहित वादी महिलालाई तत्कालीन शासक,मुखिया, जिम्मवाल र कथित समान्ति शोसकहरूले नचाउने गाउने बहानामा रखेलको रूपमा राखी यौनशोषण गरेको तर, यो रखेलका रूपमा राख्ने प्रक्रिया एकदमै गोप्य रहेको थियो । त्यसयता यस समुदायमा यौन शोषण र अवहेलना, विभेद, लान्छाना र भेदभावको शुरुआत भएको इतिहास पाइन्छ । केही अविवाहित महिला बाध्यात्मक र दवावमा परी यौन क्रियाकलापमा संलग्न भई यौनशोषणको शुरुवात भएको मानिन्छ । यस अध्ययन अनुसार २००७ सालदेखि २०५० सालसम्म यस समुदायमा यौनशोषणको विकृति फैलिएको पाइन्छ । जसको शुरुवात रखेल राख्ने प्रक्रियाबाट शुरु भएको थियो र २०३० देखि २०५० सालको अवधि त यो समुदायको लागि अन्धकारको यूगको रूपमा रहेको मानिन्छ । यस अवधिमा करिब ५ प्रतिशत अविवाहित वादी महिलाहरू बाध्यात्मक रूपमा यौन शोषणमा संलग्न रहेको पाइन्छ । करिब ५ प्रतिशत अविवाहित महिलाहरू संलग्न भएको कारणले नै पूरै वादी समुदायलाई नै यौनशोषण यौन पेशा अझ वेश्यावृत्ति गर्ने समुदाय भनि समाजमा कलङ्कित गरियो । जसको कारण यो समुदाय समाजमा अवहेलित हुन पुग्यो र यस समुदायलाई विभिन्न लान्छाना भेदभावका साथ विभिन्न अवसरबाट बन्चित गरियो । फलस्वरूप यो समुदाय समाजमा पछाडि पर्न गई अपहेलित हुन पुग्यो ।

यसरी देखा परेको यौन शोषण २०५० देखि २०६८ साल सम्म केही हदसम्म नियन्त्रणको अवस्थामा रहेको पाइन्छ । तर, विडम्बना अवशेषको रूपमा रहेको यो यौन शोषण २०६९ सालदेखि पुनः देखा पर्न थाल्यो र विस्तारै बढ्दै जान थाल्यो । यस समुदायका केही परिवारले पुनः आफ्नै र केही नातेदार जवान अविवाहित छोरी बेटीलाई विभिन्न आर्थिक प्रोलोभनमा पारी यौन शोषणमा संलग्न गराएको पाइन्छ । गरीबी, बेरोजगारी लगायत विभिन्न कारणले केही वादी परिवारले बाध्यात्मक रूपमा छोरीहरूलाई दवाव दिएर यौन शोषणमा धकेल्ने अर्थात संलग्न गराउने कार्य विस्तारै बढ्दै गएको छ । यसरी एक अर्काको देखासिकीको कारण यसले गति लिन थालेको छ ।

अवहेलना र वञ्चितिकरण
वादी समुदायका केही महिलाहरूमा देखा परेको बाध्यात्मक यौन शोषणले यस समुदायमा विभिन्न सवाल, उत्पीडन, अपहेलना वञ्चितीकरण र राज्य विहिनताको अवस्था सृजना ग¥यो । यो समुदाय नेपाली समाजभित्र मात्र नभएर दलित भित्र पनि अति पिछडिएको , उत्पीडनमा परेको र यस दलित समुदाय भित्र पनि तल राखेर हेर्ने गरिन्छ । दलित समुदाय भित्र पनि सबै भन्दा तल्लो वर्गको रूपमा हेर्ने गरिन्छ । यसै समुदाय भित्र अछुत बहिष्करण र बन्चितिकरणमा पारिएको अति सीमान्तकृत अल्प संंख्यक समुदाय ÷जातिको रूपमा हेर्ने र व्यवहार गर्ने गरिन्छ । शैक्षिक रूपमा हेर्ने हो भने वादी समुदायका केही व्यक्तिहरूले मात्र उच्च शिक्षा हासिल गरेका छन् । माध्यमिक तह भन्दा माथि ३ प्रतिशत युवाहरू मात्र लेखपढ गरेको पाइन्छ । अहिले पनि यस समुदायमा २५ प्रतिशत साक्षरता प्रतिशत (कमिट नेपाल सर्भेक्षण २०७६ ) मात्र रहेको पाइन्छ । घुमन्ते फिरन्ते जीवनयापन गर्ने भएको र केही व्यक्तिहरूले नागरिकता प्राप्त नगरेको कारण जग्गा जमिन जोड्न् सकेका छैनन् । ४३ प्रतिशत वादी समुदायसँग आफ्नो जग्गाजमिन छैन । भूमि हुनेहरू (५७ प्रतिशतलाई १०० प्रतिशत मान्दा ) करिब ५८ प्रतिशत वादी समुदाय खोला, जंगल,ऐलानी,पर्ती जमिनमा बसोबास गरेको पाइन्छ । आर्थिक रूपमा हेर्ने हो भने चरम गरीबीमा रहेको छ । २५ प्रतिशत वादी समुदाय विभिन्न रोजगारी,व्यवसाय, वैदेशिक रोजगारमा संलग्न छ भने ७५ प्रतिशत वादी समुदाय निम्नस्तरको ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएको छ । यसरी ज्याला मजदुरी गर्न सीपको कमी भएको कारणले साँझ बिहानको छाक टार्नमा नै व्यस्त हुनुपर्ने बाध्यता छ । ज्याला मजदुरीको कारण भारत तर्फ ज्याला मजदुरी गर्न बसाइँसराइ गरेको पाइन्छ ।

यस समुदायका परम्परागत नाच्ने गाउने माछा मार्ने बाध्यवादनका साधन बनाउने सुल्पा बनाउने टरिया बनाउने पेशाहरू लोप हँुदै गएका छन् । परम्परागत नाचगान र बाद्यवादनका साधनहरूले आधुनिक नाचगान साधनहरूको प्रतिस्पर्धा गर्ने आधुनिक सीप नभएको कारण लोप भएका हुन् भने वादी महिला नाच्दा विभिन्न आरोप प्रत्यारोप खेप्नु पर्ने अवस्था छ । उच्च जातका महिला पुरुष नाच्दा गाउँदा उनीहरू देशका सेलीव्रेटी को रूपमा चिनिन्छन् । वादी युवती नाच्दा बदेनी, पातर, भाड, हिजडाजस्ता अपशब्द प्रयोग गरिन्छ ।

सामाजिक रूपमा हेर्ने हो भने पनि करिब ३० प्रतिशत वादी समुदाय कुनै न कुनै किसिमको सामाजिक विभेदमा परेको छ । वादी महिलाहरूलाई विभिन्न अपशब्दहरूको प्रयोग गरेर समाजमा अवहेलना गरी मानव अधिकारको हनन् भएको छ ।

अहिले पनि कयौँ व्यक्ति वैधानिक बाबु नभएको, पत्ता नलागेको कारण जन्म दर्ता पाउनबाट बन्चित छन् । जब जन्म दर्ता हुँदैन ऊ शिक्षाबाट बन्चित हुन्छ र शिक्षा नियामावलीले विद्यालय भर्ना गर्दा जन्म दर्ता प्रमाण पत्र अनिवार्य गरी दिएको कारण यस्ता बालबालिकाहरू विद्यालय शिक्षाबाट बञ्चित हुनु परेको छ । विद्यालय बाहिर भएको कारण विभिन्न कुलतमा लागेको, बाल श्रममा संलग्न, बालविवाह, यौन शोषणमा पर्ने र युवा अवस्थामा वैदेशिक रोजगारी विशेष गरी भारत तर्फ जाने गरेको पाइन्छ । यसैगरी यौन शोषणका कारण केही महिलाले विवाह गरेता पनि विवाह दर्ता नपाउने वर्षौँसम्म पत्नीका रूपमा रहनु पर्ने तर कानुनी वैधानिक हक पाउँदैनन् । जब जन्म दर्ता र विवाह दर्ता हुँदैन अनि नागरिकताबाट बञ्चित हुन्छ । नागरिकता, विवाह दर्ता नभएको कारण वादी महिलाहरू एकल महिलाको परिभाषाभित्र नपरी एकल महिला सामाजिक सुरक्षा भत्ताबाट बञ्चित छन् । यसरी जन्म दर्ता, विवाह दर्ता, नागरिकता, राष्ट्रिय परिचय पत्रबाट बञ्चित भएका वादी समुदायका केही व्यक्तिहरू अहिले पनि राज्यविहिनताको अवस्थामा छन् ।

राजनीतिक प्रशासनिक पहुँच नभएको कारण सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको छ भने अति थोरै व्यक्तिहरूमात्र राजनीतिक दल एवम् स्थानीय गाउँ, नगरपालिकाहरू र प्रदेश सभामा समानुपातिक समावेशी भएको पाइन्छ । २०७९ सालको निर्वाचनमा एक जना महिला लुम्बिनी प्रदेश सभामा समानुपातिक रूपमा मनोनित छन् । एक जना चौरजहारी नगरपालिका पश्चिम रुकुमको मेयरमा निर्वाचित छन् भने एक जनाले वडा अध्यक्षमा निर्वाचन जितेका छन् र अन्य २० जना वादी अगुवाहरू विभिन्न पालिका सदस्य वडा सदस्य र दलित महिला सदस्यको रूपमा निर्वाचित एवंम समावेशी भएको पाइन्छ ।

वादी समुदायले गरेको आन्दोलन तथा सङ्घर्ष
२००३ सालतिर राजा त्रिभुवनले वादी महिलाहरूको नाचगानबाट प्रभावित भएर पुरस्कार दिएका थिए । त्यसै अवसरमा वादीहरूले राजालाई आफ्ना समस्याहरूका बारेमा अवगत गराएका थिए दोस्रो पटकको नेपालगञ्ज आएका राजा महेन्द्रलाई वादीहरूले बिन्ती पत्र दिएका थिए । फलस्वरुप बाँके जिल्लाको खजुरा र सीतापुरमा वादी समुदायलाई केही जग्गा, केही हल राँगा र केही बीउ उपलब्ध गराउन आदेश भएको थियो । २०५२÷२०५३ सालमा नेपालगञ्जको गगनगञ्ज (हाल प्रगतिशील मार्ग) मा वादी आन्दोलन भएको थियो । जसमा ‘कि गास बास देऊ होइन भने यौन पेशा गर्न देऊ’ भनिएको थियो जुन राज्यको लागि चुनौती थियो । २०५५÷०५६ सालमा वादी समुदायले जमिन कब्जाको सङ्घर्ष चलाएका थिए र उक्त सङ्घर्ष दाङ, बाँके, बर्दिया कैलाली र कञ्चनपुरसम्म फैलिएको थियो । २०६० वैशाख नौ गते तीन ओटा गैरसरकारी सङ्घ÷संस्थाहरू र केही वादी अगुवाले श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय समेतलाई विपक्षी बनाई सर्वाेच्चमा रिट निवेदन दायर भएको थियो र वादी समुदायको उत्पीडन र शोषणविरुद्धको रिट निवेदन उपर सर्वाेच्च अदालतले सोही दिन कारण देखाउ आदेश जारी गरको थियो । २०६१ सालमा बाध्यात्मक यौन शोषणमा परेका केही महिलाहरूले ‘कि यौन पेशाको लाइसेन्स दे कि पुनःस्थापना गर्’ भन्ने मूल नाराका साथ आन्दोलन गरेका थिए । यो आन्दोलन दाङ र कैलालीमा भएको थियो । त्यसैगरी २०६३ सालमा कैलाली जिल्लाका वादी समुदाय मिलेर कैलाली जिल्लाको मुडा र लम्कीमा राजमार्गमा चक्काजाम गरेका थिए फलस्वरुप कैलाली जिल्ला लम्की चुहा नगरपालिका वडा नं.२ बल चौरमा १ सय ४४ घरपरिवारले जग्गा प्राप्त गरी स्थायी बसोबास गरेका छन् । २०६४ साल साउन ३२ गते देखि उमादेवी वादीको नेतृत्वमा २३ जिल्लाका वादीहरू काठमाडाँैमा जम्मा भई ४८ दिने वादी आन्दोलन भएको थियो । जसले सिंहदरबार घेराउ गरी ऐतिहासिक आन्दोलनको रूप लिएको थियो । फलस्वरूप सरकारले दुई बुँदे सहमति गरेको थियो जसमा वादी बाल बालिका हरू लाई छात्रवृत्ति प्रदान गर्ने र वादी समुदायलाई प्रयोग गरिने अपशब्दहरू बदेनी पातर भाड शब्दमा रोक लगाउने र बाध्यात्मक यौन शोषणमा परेका महिलाहरूलाई पुनःस्थापना गर्ने सहमति भएको थियो । यी सम्झौताहरू अझै कार्यान्वयन भएका छैनन् । यसैगरी विभिन्न साहित्य लेखन कथा उपन्यास चलचित्र नथिया, ऐलानी र पण्डित बाजेको लौरी चलचित्रले वादी समुदायलाई प्रत्यक्ष रूपमा भेदभाव लान्छाना गरेको र वादी समुदायको गौरवमय इतिहासलाई बङ्ग्याउने कार्य भएको भन्दै २०७५ साल असोज ४ गते वादी समुदाय सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले २०७५ फागुन १५ गते विभेद गर्ने यस्ता कृति सच्याउन र अब उप्रान्त यस किसिमको लान्छाना भेदभाव गरेको पाइएमा दण्डनीय हुने र साहित्य लेखन कार्यमा सम्बन्धित जाति समुदायको सहमति लिएर मात्र लेख्ने प्रकाशन गर्ने आदेश गर्‍यो ।

यसैगरी, २०७७ सालमा कर्णाली प्रदेशमा भूमि,खाना ,छाना, नाना शिक्षा र रोजगारीजस्ता केही अत्यन्त जरुरी माग राखेर १६ दिने वादी आन्दोलन भएको थियो । जसमा वादी महिला पुरुषहरूले सडक आन्दोलन, मुख्यमन्त्रीको कार्यालय घेराउ तथा मुख्यमन्त्री कार्यालय अगाडि चौबीस घण्टा धर्ना दिई आन्दोलन गरिएको थियो र जसमा विभिन्न संघ संस्थाहरू र सरकारी प्रतिनिधिहरूको रोहवरमा सामाजिक विकास मन्त्रालय र आन्दोलन संघर्ष समितिबीच पाँच बुँदे सम्झौता भयो । उक्त पाँच बुदे सहमति कार्यान्वयन गर्न कुनै पहल भएन ।

जातिय उत्पीडन बहिष्करण, राज्यविहिनता र अवहेलनाको अवस्थाबाट मुक्त हुन वादी समुदाय नै जागरुक हुनुपर्ने समय आएको छ ।

देशको सरकार नै प्रमुख सरोकार राख्ने निकाय भएकोले वादी समुदायको सर्वाङ्गीण विकास रूपान्तरणका साथै सामाजिक आर्थिक अधिकार सामाजिक न्याय आत्मसम्मानमा सुनिश्चिता गर्न पूर्ण जिम्मेवार र जवाफदेही हुनुपर्छ । संविधानले प्रदत्त गरेका मौलिक हकहरूको कार्यान्वयन गर्न विभिन्न कानुनहरूको निर्माण विभिन्न नीति नियमहरूको तर्जुमा र बर्तमान जटिल नीतिहरू परिमार्जन गरी वादी समुदाय मैत्री बनाउन आवश्यकता छ ।

वादी समुदाय पनि अन्य समुदाय सरह यस देशको नागरिक हो । विकासको मूल प्रवाहबाट निकै टाढा रहेको यस समुदायलाई विकासको मूल प्रबाहमा ल्याउनु राज्यको दायित्व हो । यस समुदायले पनि राज्य बाट प्रदान गरेका सेवा सुविधा उपयोग गर्न पाउनु उसको जन्मसिद्ध र नैसर्गिक अधिकार हो । विगतमा यो समुदायका केही महिलाहरू यौनशोषणमा परेको कारणबाट जन्म दर्ता, विवाह दर्ता र नागरिकता प्राप्तीबाट बन्चित भई त्यस्ता सेवा सुविधा तथा अवसर पाउन नसकेको कारण यो समुदायलाई निकै पछाडि पार्ने कार्य भयो । हाल आएर यो समुदायमा पनि शिक्षा, जनचेतनाका कारण बाट परिवर्तन हुँदै आएको छ र यस समुदायको समग्र विकासका लागि वादी समुदाय स्वयम्, तीन तहका सरकार जिम्मेवारी र भूमिका रहन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.