मक्राञ्चुली । मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘बाँझो जग्गा सदुपयोग कार्यक्रम’का लागि लाभग्राहीहरुको अन्तिम सूची सार्वजनिक गरेको छ ।
गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै छनोट भएका कृषक, समूह र सहकारीहरुलाई सम्झौताका लागि ३० दिनको समयसीमा दिएको छ । गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख गोपाल लम्सालका अनुसार कृषि उत्पादन बढाउने र बाँझो जमिनलाई उपयोगमा ल्याउने उद्देश्यले सञ्चालित यस कार्यक्रमका लागि विभिन्न २६ वटा व्यावसायिक फर्म, कृषक समूह, सहकारी र व्यक्तिगत कृषकहरु छनोटमा परेका छन् ।
सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत कृषकहरु १० जना छनोट भएका छन् । छनोट हुनेमा इन्द्र बहादुर गोले, बलराम विश्वकर्मा, सुमन लामा, गोविन्द प्रसाद बजगाईं, अर्जुन प्रसाद घिमिरे, रामशरण सापकोटा, शिव बहादुर पौडेल, मान बहादुर मुक्तान, सुजता मगर र रोनिस तिम्सिन रहेका छन् ।
त्यस्तै कृषि फर्म÷कम्पनी ९ वटा छनोट भएका छन् । जसमा युवा जागरण, निखिता, कलश, म्याङ्गो हिल, मकवानपुरगढी एकीकृत, जनमुखी बाख्रा, नमुना बहुउद्देश्यीय, कर्मशील र एस.एण्ड.एस कृषि फार्म छनोट भएका छन् ।
त्यसैगरी कृषक समूह तथा सहकारी ७ वटा छनोटमा परेको छ । जसमा माथिल्लो छाप कृषक समूह, कुलै कृषि सहकारी, श्रमिक साना कृषि सहकारी, अदालत टोल विकास संस्था, मनकामना कृषक समूह, दलित विपन्न उत्थानशील सहकारी र पौवा डाँडा कृषक समूह रहेको छ ।
छनोट भएका लाभग्राहीहरुले विभिन्न यन्त्र, उपकरण र पूर्वाधार सुधारका लागि अनुदान पाउने भएका छन् । प्राप्त निवेदन र स्वीकृत सूचीका आधारमा व्यक्तिगत तथा समूह गरी सबैभन्दा धेरै माग गह्रा सुधार १० वटा, मिनि टिलर ७ वटा, साना सिँचाइ पाइप/पूर्वाधारः ५ वटा र भाडा शुल्क अनुदान ३ वटा फार्मले जग्गा भाडाका लागि अनुदान पाउने भएका छन् । अन्य यन्त्रतर्फ २ जनालाई यान्त्रिकीकरण, १ सहकारीलाई धान काट्ने रिपर र २ फार्मलाई वन्यजन्तुबाट खेती जोगाउन घेरावारका लागि छनोट गरिएको छ ।
छनोट भएका लाभग्राहीहरुले सूचना प्रकाशित भएको मिति (२०८२ फागुन २७) ले ३० दिनभित्र कृषि विकास शाखामा सम्पर्क गर्नुपर्नेछ । सम्झौताका लागि आवेदन फारम, नागरिकताको प्रतिलिपि, संस्था भए दर्ता र करचुक्ता प्रमाणपत्र, जग्गाधनी प्रमाणपूर्जा (वा ५ वर्षको भाडा सम्झौता) र सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र अनिवार्य गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. सुधन लामिछानेले समयमै सम्झौता नगर्ने लाभग्राहीको हकमा कार्यक्रम कार्यान्वयन नहुने जानकारी दिए । पालिकाले कृषि क्षेत्रलाई समृद्धिको मूल आधारहरु मध्य एक मानेको छ । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले ‘बाँझो जग्गा सदुपयोग कार्यक्रम’ पालिकाको समृद्धिको मुख्य कडी भएको लगानी बढाउँदै लगिएको बताए ।
‘हाम्रो मुख्य उद्देश्य मकवानपुरगढीभित्र एक इन्च जमिन पनि बाँझो रहन नदिने हो । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणमार्फत उत्पादन बढाएर पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने हाम्रो संकल्प छ,’ उनले भने, ‘यस कार्यक्रमले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई आफ्नै गाउँमा कृषि उद्यमी बन्न उत्प्रेरित गर्ने विश्वास लिएका छौं । वास्तविक कृषकको हातमा अनुदान पुगोस् भन्नेमा हामी सचेत छौं ।’