काठमाडौंको टुकुचास्थित खसी बजारमा खसीको मासु भन्दै बाख्रा र पाठीको मासु बिक्री गर्न खोज्ने आठ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो करिब ४ बजे बाख्रा र पाठीको मासु खसीको मासु भन्दै बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले बजारमा छापा मारेको थियो ।
त्यस क्रममा ५६७ किलो बाख्राको मासु दुईवटा गाडीमा लोड गर्दै गरेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले मासुसहित बा ६ ख ६७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप पनि फेला पारेको थियो ।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा, काभ्रेका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेकै २५ वर्षीय दिनेश महत छन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।








