को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी ?

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको आक्रमणको पहिलो दिनमै मारिएका आयतोल्लाह अली खामेनीका छोरा मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रुपमा चयन गरिएको छ ।

५६ वर्षीय कट्टरपन्थी धर्मगुरु मोजतबाका पितासँगै उनकी आमा, पत्नी र एक बहिनीको पनि सोही आक्रमणमा मृत्यु भएको थियो । तर, उक्त भीषण बमबारीका समयमा मोजतबा त्यहाँ उपस्थित नरहेका कारण उनी सुरक्षित रहेको बताइएको छ ।

आफ्ना पिताको अभ्यासविपरीत ५६ वर्षीय मोजतबाले अहिलेसम्म आफूलाई सार्वजनिक भूमिकाबाट टाढै राख्दै आएका छन् । खामेनीले आफूलाई धेरै हदसम्म ‘लो(प्रोफाइल’ मा राखेका छन् ।

उनले कहिल्यै कुनै सरकारी पद धारण गरेका छैनन्, न त कुनै सार्वजनिक भाषण वा अन्तर्वार्ता नै दिएका छन् । उनका सीमित सङ्ख्यामा मात्र तस्वीर र भिडिओ सार्वजनिक भएका छन् ।

तर, इरानको सत्तामा पर्दा पछाडिबाट उनको निकै ठुलो प्रभाव रहने गरेको चर्चा वर्षौँदेखि चल्दैआएको छ ।

सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा मोजतबा खामेनीलाई ‘पर्दा पछाडिको वास्तविक शक्ति’ का रुपमा व्याख्या गरिएको थियो ।

समाचार संस्था एपीका अनुसार ती दस्ताबेजहरुमा उनलाई इरानी शासन संयन्त्रभित्र एक ‘सक्षम र शक्तिशाली’ व्यक्तित्वका रुपमा चित्रण गरिएको थियो ।

मोजतबा खामेनीको चयन अझै पनि विवादास्पद साबित हुनसक्ने देखिन्छ । सन् १९७९ मा राजतन्त्रको अन्त्य भएपछि स्थापना भएको इस्लामिक गणतन्त्रको विचारधाराअनुसार सर्वोच्च नेताको चयन वंशानुगत उत्तराधिकारका आधारमा नभई धार्मिक निष्ठा र प्रमाणित नेतृत्व क्षमताका आधारमा गरिनुपर्ने प्रावधान छ ।

आफ्नो शासनकालमा आयतुल्लाह अली खामेनीले इस्लामिक गणतन्त्रको भावी नेतृत्वका बारेमा केवल सामान्य रूपमा मात्र चर्चा गर्ने गरेका थिए । सर्वोच्च नेताको चयन गर्ने शक्तिशाली निकाय ‘एसेम्बली अफ एक्सपर्ट्स’ का एक सदस्यले दुई वर्षअघि बताएअनुसार उनले आफ्ना छोरा भावी नेतृत्वको उम्मेदवार बन्ने विचारको विरोध गरेका थिए ।

यद्यपि, उनले यस्ता अड्कलबाजीका बारेमा सार्वजनिक रुपमा कहिल्यै केही उल्लेख गरेका थिएनन् ।

को हुन् मोजतबा खामेनी ?

सन् १९६९ सेप्टेम्बर ८ मा इरानको उत्तर(पूर्वी सहर मसहदमा जन्मिएका मोजतबा आयतुल्लाह अली खामेनीका छ सन्तानमध्ये दोस्रो हुन् ।

उनले आफ्नो माध्यमिक शिक्षा तेहरानको धार्मिक ‘अलावी स्कुल’ बाट प्राप्त गरेका थिए । इरानी सञ्चारमाध्यमका अनुसार मोजतबाले १७ वर्षको उमेरमा इरान(इराक युद्धका क्रममा केही छोटो अवधिको लागि सैन्य सेवा गरेका थिए ।

आठ वर्षसम्म चलेको उक्त रक्तपातपूर्ण सङ्घर्षले इरानी शासनलाई अमेरिका र पश्चिमा देशहरुप्रति थप सशङ्कित बनाएको थियो, किनभने उनीहरुले त्यस युद्धमा इराकलाई समर्थन गरेका थिए ।

सन् १९९९ मा मोजतबा आफ्नो धार्मिक शिक्षालाई निरन्तरता दिन शिया धर्मशास्त्रको महत्त्वपूर्ण केन्द्र मानिने पवित्र सहर कोम गए । यहाँ एउटा उल्लेखनीय कुरा के छ भने, उनले त्यस समयसम्म धार्मिक पोसाक लगाएका थिएनन् ।

सामान्यतया युवावस्थामा नै मदरसा वा धार्मिक विद्यालय जाने चलन भए तापनि उनले ३० वर्षको उमेरमा किन यस्तो निर्णय गरे भन्ने कुरा अझै स्पष्ट छैन । मोजतबा खामेनी अझै पनि मध्यमस्तरका धर्मगुरु मात्र हुन्, जसले गर्दा उनलाई नयाँ सर्वोच्च नेताका रूपमा स्वीकार गरिनुमा बाधा उत्पन्न हुनसक्ने देखिन्छ ।

मोजतबा खामेनीको चयन हुनुअघि नै केही सञ्चारमाध्यम र इरानी सत्ता केन्द्रका निकटवर्ती अधिकारीहरूले उनलाई वरिष्ठ धार्मिक पदवी ‘आयतोल्लाह’ भन्न सुरु गरेका थिए ।

पर्यवेक्षकहरूका अनुसार उनको धार्मिक स्तर उकास्न र उनलाई एक विश्वसनीय नेताका रूपमा प्रस्तुत गर्न यस्तो प्रयास गरिएको हो । धार्मिक विद्यालय ९मदरसा० प्रणालीमा ‘आयतोल्लाह’ को पदवी हुनु र उच्च तहका कक्षाहरूमा अध्यापन गराउनुलाई व्यक्तिको विद्वत्ता र ज्ञानको मापन मानिन्छ ।

साथै, यी कुराहरूलाई भावी सर्वोच्च नेता बन्नका लागि आवश्यक पूर्वशर्त र आधारका रूपमा समेत हेर्ने गरिन्छ । उनका पिता अली खामेनी सन् १९८९ मा इरानको दोस्रो सर्वोच्च नेता बनेलगत्तै उनलाई पनि द्रुत गतिमा ‘आयतोल्लाह’ को पदवीमा पदोन्नति गरिएको थियो । (अनलाइनखबरबाट)

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.