विश्वकै चर्चित छोटा भिडियो प्लेटफर्म टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन कार्यान्वयन प्रतिवेदन सार्वजनिक गरेको छ । यस प्रतिवेदनले कम्पनीले विश्वव्यापी रूपमा सामग्री व्यवस्थापनमा कस्तो पारदर्शिता र जिम्मेवारी देखाएको छ भन्ने स्पष्ट चित्र प्रस्तुत गरेको छ । अप्रिलदेखि जुन महिनासम्मको तीन महिनाको अवधिमा संकलित तथ्यांकका आधारमा टिकटकले आफ्नो प्लेटफर्मलाई सुरक्षित, सभ्य र सकारात्मक डिजिटल समुदाय बनाउने दिशामा निरन्तर अग्रसर प्रयास गरिरहेको प्रमाणित गरेको छ ।
नेपालमा मात्र यस अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन उल्लंघन गर्ने करिब २४ लाख ७६ हजार ३४५ भिडियोहरू हटाएको छ । तीमध्ये ९९.८ प्रतिशत भिडियोहरू स्वचालित प्रणालीबाट पहिचान गरी हटाइएका थिए भने ९८.४ प्रतिशत सामग्रीहरू पोस्ट भएको २४ घण्टाभित्रै प्लेटफर्मबाट मेटाइएका थिए । यसले टिकटकको सामग्री नियन्त्रण प्रणाली कति छिटो र प्रभावकारी छ भन्ने प्रमाण दिन्छ ।
विश्वव्यापी रूपमा टिकटकले यस त्रैमासिकमा जम्मा १८९ मिलियन भन्दा बढी भिडियोहरू हटाएको छ, जुन प्लेटफर्ममा अपलोड भएका कुल भिडियोहरूको करिब ०.७ प्रतिशत हो । तीमध्ये करिब १६ करोड ३९ लाख भिडियोहरू अटोमेटेड प्रविधिबाट पत्ता लगाइएका थिए भने ७ लाख ४५ हजारभन्दा बढी भिडियोहरू पुनरावलोकनपछि पुनःस्थापित गरिएका थिए । यसले देखाउँछ कि टिकटकले प्रविधि र मानव समीक्षा दुवै संयोजन गरी सामग्रीको सत्यता र निष्पक्षता सुनिश्चित गर्न खोजिरहेको छ ।
विश्वभर टिकटकको सक्रिय हटाउने दर ९९.१ प्रतिशत रहेको छ । जसमा ९४.४ प्रतिशत अनियमित सामग्रीहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए । यस अवधिमा टिकटकले ७६ लाखभन्दा बढी नक्कली खाता र १३ वर्षभन्दा कम उमेरका करिब २५ लाख शंकास्पद प्रयोगकर्ता खाता पनि हटाएको छ, जसले बालबालिकाको सुरक्षा र डिजिटल नैतिकताको पक्षमा कम्पनीको कठोर नीति देखाउँछ ।
प्रतिवेदनले हटाइएका भिडियोहरूको प्रकार र कारणसमेत स्पष्ट पारिएको छ । करिब ३०.६ प्रतिशत भिडियोहरू वयस्क वा संवेदनशील विषयवस्तु भएका थिए भने १४ प्रतिशतले सभ्यता र सुरक्षाका मापदण्ड तोडेका थिए । त्यस्तै, ६ प्रतिशतभन्दा बढी सामग्रीले गोपनीयता र सुरक्षासम्बन्धी नीति उल्लंघन गरेका थिए । चकित पार्ने तथ्य यो पनि छ कि ४५ प्रतिशतभन्दा बढी सामग्रीहरू गलत सूचना (भ्रम फैलाउने) का रूपमा पहिचान गरिएका थिए । र, २३.८ प्रतिशत भिडियोहरू कृत्रिम बुद्धिमत्ताद्वारा सिर्जित वा सम्पादित कन्टेन्टका रूपमा फेला परेका थिए ।
डिजिटल दुनियाँमा गलत सूचना, आर्टिफिसियल सामग्री र हानिकारक कन्टेन्ट तीव्र गतिमा फैलिँदै गर्दा टिकटकले समयमै कदम चाल्दै पारदर्शितापूर्ण रिपोर्ट सार्वजनिक गर्नु एक सकारात्मक उदाहरण हो । यसले न केवल प्रयोगकर्ताको विश्वास बढाउँछ, बरु विश्वव्यापी डिजिटल प्लेटफर्महरूले जिम्मेवार व्यवहार कसरी अपनाउने भन्ने दिशामा पनि प्रेरणा दिन्छ ।
टिकटकले यो रिपोर्ट नियमित रूपमा प्रकाशित गर्दै आएको छ । यसबाट प्रयोगकर्ताहरूलाई कम्पनीका नीति, सुरक्षा उपकरण र सामग्री व्यवस्थापनका उपायबारे जानकारी उपलब्ध हुन्छ । विस्तृत जानकारीका लागि प्रयोगकर्ताहरू टिकटकको पारदर्शिता केन्द्रमा जान सक्छन्, जहाँ प्लेटफर्मले प्रयोग गर्ने सामग्री फिल्टरिङ प्रणालीदेखि लिएर प्रयोगकर्ताको गोपनीयता नीति सम्मका विवरणहरू राखिएका छन् ।
लस एन्जलस र सिंगापुरमा मुख्यालय रहेको टिकटकका कार्यालयहरू विश्वका प्रमुख शहरहरू न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोसम्म फैलिएका छन् । छोटा भिडियोहरूको माध्यमबाट विश्वभरका मानिसहरूलाई मनोरञ्जन, सिर्जनात्मकता र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गर्ने यो प्लेटफर्मले अहिले आफ्ना नीतिहरूलाई अझ जिम्मेवार र पारदर्शी बनाउँदै विश्वसनीय डिजिटल भविष्यको आधार तयार गर्दैछ ।






