आजको आधुनिक युग प्रविधिमय र इन्टरनेटप्रधान बनेको छ । हामीले विश्वभरका घटनाक्रम र जानकारीहरू सहजै हातमुखमा पाउन सक्छौं । इन्टरनेटको माध्यमले अहिले कोठाभित्रै बसेर विश्वका विभिन्न समाचार, अनुसन्धान, अध्ययन र तथ्यांक प्राप्त गर्न सकिन्छ । यसको प्रमुख उपकरणमध्ये गुगल सर्वाधिक प्रख्यात छ । तर पछिल्ला वर्षहरूमा गुगलसँग प्रतिष्पर्धा गर्दै अर्को अत्याधुनिक उपकरण आएको छ, जसको नाम हो- च्याटजीपीटी ।
च्याटजीपीटीको लन्च भएको केही दिनमै यसको प्रयोगकर्ताको संख्या लगातार वृद्धि हुन थालेको थियो । यसले गुगललाई पनि प्रतिष्पर्धा दिन सक्ने अनुमान विशेषज्ञहरूले गरेका थिए । यसको फरक र विशेषता भनेको, यो प्रणालीले प्रयोगकर्ताले सोधेका प्रश्नहरूको जवाफ सरल, संवेदनशील र मानवजस्तै शैलीमा तुरुन्तै तयार पार्न सक्ने क्षमता राख्दछ। यद्यपि, यसको जवाफ सधैं पूर्ण सही नहुने भएकाले प्रयोगकर्ताले परिणामको मूल्याङ्कन आफैं गर्नुपर्ने हुन्छ ।
च्याटजीपीटी के हो भने यो आधुनिक प्रविधिसँगै विकसित भएको एक डिजिटल च्याटबोट हो । सन् २०२२ नोभेम्बरमा सार्वजनिक भएको यस उपकरणको पुरा नाम ‘च्याट जेनेरेटिभ प्रिट्रेंड ट्रान्सफर्मर’ हो । यसको मुख्य कार्य भनेको प्रयोगकर्ताले खोजेका हरेक जानकारीलाई तुरुन्त लेखेर स्क्रिनमा देखाउने हो । उदाहरणका लागि, यदि कसैले पत्र लेख्नु परे वा कुनै अनुसन्धानको रिपोर्ट तयार गर्नुपर्ने भए, च्याटजीपीटीले त्यसलाई व्यवस्थित र सहज भाषामा तयार पारिदिन्छ। यसको प्रयोग सरल छ, यसका लागि प्रयोगकर्ताले आफ्नो इमेल ठेगाना र फोन नम्बर राखेर खाता खोल्नुपर्छ । त्यसपछि भेरिफिकेसन कोड मार्फत खाता सक्रिय भएपछि मात्र यसको प्रयोग गर्न सकिन्छ ।
गुगल र च्याटजीपीटीबीच मुख्य फरक भनेको जवाफ दिने तरिका हो । गुगलले खोजिएका विषयका लिंकमार्फत जानकारी उपलब्ध गराउँछ, जसबाट सही उत्तर सिधै पाउन कहिलेकाहीं कठिन हुन्छ । तर च्याटजीपीटीले प्रयोगकर्ताले सोधेको प्रश्न अनुसार जवाफलाई सिधै, सरल र बुझ्न योग्य शैलीमा प्रस्तुत गर्दछ । यसले समय बचत मात्र गराउँदैन, नयाँ ज्ञान सिक्ने प्रक्रियालाई पनि सहज बनाउँछ ।
च्याटजीपीटीले विश्वभर लोकप्रियता पाउनुको मुख्य कारण यसको सहज प्रयोग र प्रयोगकर्तासँगको संवादात्मक शैली हो । चाहे विद्यार्थीको प्रोजेक्टको तयारी होस्, वा अफिसमा कामका लागि तथ्याङ्क खोज्नुपर्ने होस्, च्याटजीपीटीले सबै विषयमा सहयोग गर्न सक्छ । यसले मानिसको दैनिक जीवनमा डिजिटल सहायकको भूमिका निर्वाह गर्दै आएको छ । तर च्याटजीपीटीका केही नकारात्मक पक्षहरू पनि छन् । यसले दिएको जवाफ सधैं सही नहुने भएकाले यसको दुरुपयोगको सम्भावना बढ्दो छ । विश्वविद्यालयमा गरिएका अध्ययनअनुसार करिब ८९ प्रतिशत विद्यार्थीले गृहकार्य च्याटजीपीटीबाट गराउन थालेका छन् । यो प्रवृत्तिले विद्यार्थीहरूको सोच, सृजनात्मक क्षमता र आत्मनिर्भरता कमजोर बनाउने चिन्ता व्यक्त गरिएको छ । अमेरिकाका विद्यालयहरूमा गरिएका अनुसन्धानमा विद्यार्थीहरूले च्याटजीपीटीबाट तयार पारेका सामग्री कपी गरेर प्रस्तुत गरेको पाइएको छ, जसले प्लेगियारिजम बढाउने खतरा दर्शाउँछ । यसरी हेर्दा च्याटजीपीटी एउटा उपयोगी उपकरण हो जसले जानकारी, अध्ययन, अनुसन्धान, लेखन र सिर्जनात्मक काममा सहयोग गर्छ । यसको सही र जिम्मेवार प्रयोगले मात्र यसले ज्ञानको विकासमा सकारात्मक योगदान पुर्याउन सक्छ। गलत प्रयोग वा पूर्ण भरोसा गर्दा व्यक्तिको सोच, अनुसन्धान क्षमता र सिर्जनात्मकता प्रभावित हुन सक्ने भएकाले यसमा विवेकपूर्ण प्रयोग आवश्यक छ ।
च्याटजीपीटीको प्रयोगले इन्टरनेटमा आधारित शिक्षा र जानकारीको पहुँचलाई सहज बनाएको छ । यसले विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, पत्रकार, लेखक र सामान्य नागरिकलाई जानकारीमा पहुँच पुर्याउँदै छ । भविष्यमा यसले अझै बढी सृजनात्मक, ज्ञानसम्पन्न र शिक्षाप्रद कार्यहरू गर्न सक्ने सम्भावना छ । डिजिटल युगमा च्याटजीपीटी जस्ता उपकरणहरू मानव जीवनलाई सरल, छिटो र प्रभावकारी बनाउने दिशामा ठूलो योगदान पुर्याइरहेका छन् ।
यसले हामीलाई सिकाउँछ कि प्रविधि विकासको सही उपयोगले मात्र समाज, शिक्षा र व्यक्तिगत जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ । हामीले यसलाई दुरुपयोग गर्नु हुँदैन र यसको क्षमता अनुसार जिम्मेवार प्रयोग गर्नु आवश्यक छ । यसरी च्याटजीपीटीले इन्टरनेट आधारित जानकारीको पहुँचलाई मात्र सहज बनाएको छैन, यसले डिजिटल युगमा मानव जीवनलाई अधिक ज्ञानसम्पन्न, प्रभावकारी र प्रविधिमैत्री बनाउने दिशामा पनि योगदान पुर्याइरहेको छ ।
मध्यस्थता साप्ताहिक, असोज १२ गते, अंक १०






