आजको युग विज्ञान र प्रविधिको युग हो । मानव सभ्यताले परापूर्वकालदेखि नै विज्ञान र प्रविधिको उपयोग गर्दै आएको छ । देशको विकास र समृद्धिको मेरुदण्डका रूपमा मानिने विज्ञान र प्रविधि बिना कुनै राष्ट्रले तीव्र प्रगति गर्न सक्दैन । विज्ञानले प्रविधिको आविष्कार र विकासलाई गति दिन्छ भने उन्नत प्रविधिले विज्ञान शिक्षालाई स्तरीय र प्रयोगमुखी बनाउँछ । विज्ञानलाई रूख र प्रविधिलाई त्यसमा फल्ने फलको रूपमा तुलना गर्न सकिन्छ-विज्ञानको जराबाटै प्रविधि फस्टाउँछ र त्यसले समाजलाई प्रत्यक्ष उपयोगी नतिजा दिन्छ ।
विज्ञान कुनै विषय वा वस्तुको अवलोकन र प्रयोगमा आधारित ज्ञान हो, जसले ब्रह्माण्डका नियम र घटनाका बारेमा परीक्षणयोग्य व्याख्या तथा भविष्यवाणी गर्छ । सत्यको खोजी नै विज्ञानको मूल उद्देश्य हो । भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञान जस्ता शाखा विज्ञानका प्रमुख आधार हुन् । प्रकृति र विज्ञानबीच घनिष्ठ सम्बन्ध छ – जहाँ प्रकृति हुन्छ, त्यहीँ विज्ञानको नियम कार्यरत हुन्छ । वैज्ञानिकहरूले अवलोकन, प्रश्न, परिकल्पना, परीक्षण र प्रमाणका चरणहरू पूरा गरेर सैद्धान्तिक ज्ञानलाई व्यवहारमा ल्याउँछन् । मानव सभ्यताको विकासमा विज्ञानले असम्भव जस्तो लाग्ने कुरालाई सम्भव बनाइदिएको छ ।
प्रविधि भनेको विज्ञानको व्यावहारिक रूप हो । मानिसको अतृप्त जिज्ञासाले नै प्रविधिको जन्म गराएको हो । आदिम युगदेखि नै मानवले आफ्नो जीवन सहज बनाउन प्रविधि सिर्जना गर्दै आएको छ । प्रविधिले औद्योगिक क्रान्ति, संचार, शिक्षा, स्वास्थ्य र प्रशासनमा आमूल परिवर्तन ल्याएको छ । जुन देशहरू प्रविधिक रूपमा सशक्त छन्, तिनले आर्थिक र सामरिक शक्ति दुवैमा अग्रता लिएका छन् । आजको युगमा सूचना तथा प्रविधिको उपयोग बिना कुनै क्षेत्र अघि बढ्न सक्दैन । प्रविधिले विश्वलाई साँघुर्याउँदै एउटा ‘वैश्विक गाउँ’ बनाएको छ, जसले ज्ञान, सूचना र अवसरहरूलाई जोड्ने माध्यमको रूपमा कार्य गरिरहेको छ ।
नेपालमा भने विज्ञान र प्रविधिको विकास अझै चुनौतीपूर्ण छ । देशको आर्थिक समृद्धि र आधुनिकीकरण विज्ञान र प्रविधिको विकासमा निर्भर रहेको भए पनि, यहाँको नीति र व्यवहारबीच ठूलो अन्तर देखिन्छ । विभिन्न सरकारहरूले ‘विज्ञान र प्रविधि दिगो विकासको आधार हो’ भन्ने नारासँग अघि बढे पनि त्यसको कार्यान्वयन सीमित छ । अझ विज्ञान र प्रविधिको परिभाषा र यसको प्रयोगसम्बन्धी स्पष्ट दृष्टिकोण नहुनु देशको दुर्भाग्य हो । यस्ता कमजोरीले नेपालमा वैज्ञानिक अनुसन्धान र प्रविधिक आविष्कारको सम्भावना क्षीण बनाएको छ ।
विकसित राष्ट्रहरूले विज्ञान र प्रविधिलाई शासनको केन्द्रमा राखेर अनुसन्धान, आविष्कार र नवीन प्रयोगलाई प्रोत्साहन गर्छन् । नेपालले पनि अनुसन्धान र विकासलाई प्राथमिकतामा राखी आफ्नै माटो र समाज सुहाउँदो प्रविधिको विकास गर्न सकेमात्र स्वावलम्बन र आर्थिक समृद्धि सम्भव हुनेछ । त्यसका लागि विज्ञान तथा प्रविधिलाई शिक्षा मन्त्रालयभित्र सीमित नराखी स्वतन्त्र मन्त्रालयका रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता स्पष्ट छ । विज्ञान र प्रविधिको अधिकतम उपयोगले मात्र देशलाई समृद्धिको दिशामा अघि बढाउन सकिन्छ ।






