काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले २०२५ भित्रै फाइभजी सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। एसिया प्यासिफिक टेलिकम्युनिटी वायरलेस ग्रुपको काठमाडौंमा आयोजित बैठकमा प्राधिकरणका उपनिर्देशक तथा सहप्रवक्ता प्रदीप पौडेलले यस्तो जानकारी दिएका हुन्। उनले सेवा सञ्चालनको वर्ष सन् २०२५ नै तय गरिएको बताए।
फाइभजी सेवा सुरु गर्ने प्राथमिक क्षेत्र राजधानी काठमाडौँ उपत्यका हुनेछ। त्यहाँका लागि आवश्यक पूर्वाधार निर्माणका काम तीव्र रूपमा अगाडि बढाइएको छ। साथै, सेवाप्रदायक कम्पनीहरूसँग आवश्यक समन्वय र छलफल पनि भइरहेको पौडेलले बताए।
हालको फोरजी सेवाबाट सेवाप्रदायकको आम्दानी घटिरहेको अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले फाइभजीका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। आवश्यक परेमा ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत प्रयोग गर्न सकिने प्राधिकरणको भनाइ छ।
यसअघि नेपाल टेलिकमले बबरमहल, सुन्धारा, पोखरा र वीरगंज जस्ता केही स्थानहरूमा २६ सय ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत फाइभजी परीक्षण गरिसकेको छ। ती स्थानहरूमा फाइभजी उपकरण जडान गरी परीक्षण कार्य सम्पन्न भइसकेको छ।
फाइभजी सेवा विश्वका थुप्रै देशहरूमा लागू भइसकेको छ र यसले अत्यन्त तीव्र गतिको इन्टरनेट तथा प्रभावकारी नेटवर्क सुविधा दिन्छ। नेपालमा पनि फाइभजी स्पेक्ट्रम उपलब्ध गराउने तयारी गरिएको र सेवाप्रदायकहरूले माग गरेमा प्राधिकरणले उपलब्ध गराउन तयार रहेको स्पष्ट गरिएको छ।






